१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दमकका सामुदायिक विद्यालयमा लिम्बु भाषा पठनपाठनको माग


२६ जेष्ठ २०७७, सोमबार  

0
Shares

received_686477778799535

दमक २६, जेठ / दमकमा दोश्रो ठुलो जनसंख्याका रुपमा रहेको लिम्बु समुदायका अगुवाले विद्यालय तहमा लिम्बु भाषा पठनपाठनका बारेमा नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।
लिम्बु जातिका सामाजिक संस्था किरात याक्थुङ्ग चुम्लुङ दमकका एक टोलीले आज नगरपालिका पुगेर त्यस वारे स्थानीय सरकारको ध्यानाकर्षण गराईएको अध्यक्ष देवेन्द्र चेम्जोङले वताएका छन् ।

चुम्लुङले गत पुस ९ गते दमकमा विद्यालय तहमा लिम्बु भाषा पठनपाठन गर्न भाषिक अगुवा सेसेहाङ फियाकको संयोजकत्वमा ११ सदस्यीय लिम्बु भाषा सहजीकरण उपसमिति गठन गरेको थियो । त्यही उपसमितिको अगुवाईमा भाषा पठनपाठनका बारे स्थानीय सरकारसंग प्रस्तावना पेश गरिएको हो ।
सो व्यवहोराको प्रस्तावना पत्र नगर प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीलाई हस्तान्तरण गरिएको थियो । प्रस्तावना पत्र बुझदै नगर प्रमुख ओलीले संविधानमा उल्लेख भएअनुसार स्थानीय सरकारले भाषिक नीति वनाएर काम थाल्ने आश्वासन दिए ।
चुम्लुङको टोलीमा नगर अध्यक्ष चेम्जोङसहित चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष धिरेन लाओती, भाषिक अगुवा शेसेमी से नाल्वो, सेसेहाङ फियाक, चुम्लुङ दमकका पूर्व अध्यक्ष गुमानसिंह सम्बाहाम्फे लगायत रहेका थिए ।
नगरपालिकाले गत २०७५ सालमा निकालेको नगर प्रोफाइलमा नगरका २३ वटा सामुदायिक विद्यालयहरु मध्ये लिम्बु भाषा पठनपाठन गर्न तथा गराउन संभावना रहेका ८ वटा विद्यालयमा ऐच्छिक पठनपाठनको रुपमा व्यवस्था गरिदिन माग गरिएको प्रस्तावना पत्रमा उल्लेख छ । दमकका १० वटै वडामा लिम्बु जातिको बसोवास रहेको छ । ती मध्ये कुल जनसंख्याको ९ प्रतिशत अर्थात ८ हजार ३ सय ४७ लिम्बु जाति बसोवास रहेको र त्यस मध्ये ३ हजार एक सय ५७ जना अर्थात ३.६३ प्रतिशतले लिम्बु भाषा बोल्ने गरिआएको नगरपालिकाको प्रोफाइलमा जनाईएको छ । नगरपालिकाको जनसंख्या कुल ८६ हजार ८सय ९० छ । दमकमा नेपाली भाषा पछि दोश्रो ठुलो भाषा र जनसंख्या लिम्बुको रहेको छ ।
लिम्बु भाषा पठनपाठन गर्न सकिने विद्यालयहरु
चुम्लुङको लिम्बु भाषा सहजीकरण उपसमितिले दमकका ८ वटा विद्यालयमा लिम्बु जातिको भाषा श्रीजंगा लिपी पठनपाठन गर्न सकिने औल्याएको छ । लिम्बु जाति बाहुल रहेका वडाका विद्यालयमा ऐच्छिक भाषाको रुपमा पठनपाठन गर्न सकिने उपसमितिका संयोजक फियाकले वताए ।
जसअनुसार दमक ७ को पृथ्वी मावि, दमक ८ को जनता आधारभूत विद्यालय, दमक ९ को सरस्वती मावि, दमक ५ को दिपीनी आधारभूत विद्यालय , दमक ५ को कृष्ण आधारभूत विद्यालय,दमक ३ को चुलाचुली आधारभूत विद्यालय, दमक २ को हिमालय मावि र दमक १ को भृकुटी आधारभूत विद्यालयमा लिम्बु भाषा पठनपाठन गर्न सकिने प्रस्तावनामा उल्लेख छ । त्यस मध्ये २०६७ सालदेखि भने पृथ्वी माविमा विद्यालय र स्थानीयको प्रयासवाट ऐच्छिक विषयका रुपमा लिम्बु भाषाको पठनपाठन हुदैआएको छ । उपसमितिले त्यस विद्यालयमा दरवन्दी दिएर भाषा पठनपाठन नियमित हुने वातावरण गरिदिन समेत माग गरिएको जनाईएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  १ : ४३ बजे