१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

तीन स्थानलाई प्रवेशद्वार तोकियो , गौरीगंज घर भएका ३ सय भन्दा बढी भारतमा


५ जेष्ठ २०७७, सोमबार  

0
Shares

123

गौरीगंज ५, जेठ/  भारत तथा अन्य मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई गौरीगंज नाका हँुदै ल्याउन तीन स्थानलाई प्रवेशद्वार तथा होल्डिङ्ग क्षेत्र तोकिएको छ ।
गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षमा गौरीगंज गाउँपालिकासंग जोडिएको कमल गाउँपालिका, शिवसाताक्षि नगरपालिका र गौरादह नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसहित आज विहान बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा गौरीगंज गाउँपालिका वडा नं. ५ को फत्तेपुर नाकाको जनता आधारभुत विद्यालय, गौरीगंज गाउँपालिका वार्ड नं. ४ को अल्तावारी (वैरिया) नाकाको उत्तर पट्टीको क्षेत्र र गौरीगंज गाउँपालिका वार्ड नं. १ कुञ्जिवारी भन्सार दक्षिण शसस्त्र प्रहरीको पोष्ट रहेको डाकुपाडा नाकालाई प्रवेशद्वार कायम गरी सोही स्थानको उत्तर पट्टिको स्थानलाई होल्डिङ्ग क्षेत्रको रुपमा राख्ने निर्णय भएको छ ।
कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गते देखि सीमा सिल नै गरेको थियो । लकडाउनका कारण सीम क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई उद्वार गर्ने जिल्ला समन्वय समिति झापाले निर्णय गरेपछि सोही अनुसार गौरीगंज गाउँपालिकाले निर्णय गरेको हो ।
गौरीगंज गाउँपालिकाको नागरिकको हकमा गौरीगंज गाउँपालिका वार्ड नं. ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको भवन र वार्ड नं. ३ मा रहेको गौरीगंज बहुमुखी क्याम्पसलाई क्वारेन्टाइनको रुपमा व्यवस्थापन गर्ने र अन्य पालिकाको हकमा सम्बन्धित पालिकाले नै निर्माण गरेको क्वारेन्टाइनमा व्यवस्था गर्ने गरी निर्णय भएको गौरीगंज गाउँपालिकाका अध्यक्ष श्रेष्ठले जानकारी गराएका छन् ।

रोजगारी तथा अध्ययनका लागि भारत पुगेका घर फर्कन चाहने र सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकहरुले गौरीगंज नाका हुदै आउँदा तिनका परिवारले गाउँपालिकाको जनप्रतिनिधि वा सम्बन्धित गाउँपालिकाको सुरक्षा निकायलाई सम्पुर्ण विवरण उपलब्ध गराउनु पर्ने छ ।
गौरीगंज गाउँपालिकामा घर भई अध्ययन तथा रोजगारीका क्रममा भारत तथा अन्य मुलुकमा करिब ६ सय जना रहेको प्रहरीको तथ्यांक छ । यो तथ्यांक गौरीगंज गाउँपालिका वार्ड नं. ४,२,३ र ६ को हो । अन्य वडाको विवरण संकलन भईरहेको प्रहरीले जनाएको छ । यी मध्ये करिब ३ सय जनाको हाराहारीमा भारतमा रोजगारीका क्रममा गएको प्रहरीको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  १२ : १६ बजे