४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

समाचार ब्रेकिङ गर्ने नाममा हतारो नगर्न आग्रह


१८ बैशाख २०७७, बिहिबार  

0
Shares

20200430_183851
बिर्तामोड १८, बैशााख /
कोरोना भाइरस महामारीको संवेदनशील घडीमा सञ्चारकर्मीले सूचना प्रवाह गर्दा संवेदनशील हुनुपर्ने र सामाजिक सद्भावलाई ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।
विहीवार भएको भिडियो कन्फ्रेन्समा सरोकारवालाहरुले यस्तो कुरामा जोड दिएका हुन् । उनीहरुले आधिकारिक स्रोतबाट पुष्टि भएका सूचना मात्र सम्प्रेषण गर्न सञ्चारकर्मीहरुलाई आग्रह समेत गरेका छन् ।
त्यस्तै सामाजिक सद्भाव खल्बलिने, जाति, धर्म, लिङ्ग, वर्ग, समुदाय लगायतलाई कोरोना भाइरससँग जोडेर लाञ्छित गर्ने खालका सामग्री सम्प्रेषण नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई अपिल समेत गरिएको छ । संवाद समूहको संयोजनमा भएको भिडियो कन्फ्रेन्समा सरोकारवालाहरुले तीन बुँदे निष्कर्षसहित यस्तो अनुरोध गरेका हुन् । ‘न्यूज ब्रेकिङ’का नाममा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण हुने सूचनाले सम्बन्धित क्षेत्रलाई आघात पुगेको विषयमा सरोकारवालाहरुबीच गम्भीर छलफल भएको थियो ।
छलफलमा पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले हतारो गर्ने नाममा कतिपय कमी–कमजोरी हुने गरेको बताउँदै त्यसलाई सुधार्न सञ्चारकर्मी र सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । अरु समुदायका व्यक्तिलाई कोरोना संक्रमण हुँदा समुदाय नखोल्ने तर मुस्लिम समुदायकालाई संक्रमण हुँदा समुदाय किटान गर्ने प्रबृत्ति गलत भएको सापकोटाले बताए । उनले औपचारिक मिडिया र सामाजिक सञ्जाललाई एउटै दृष्टिकोणले नहेर्न पनि आग्रह गरेका छन् । कतिपय विषयमा साझा बुझाई नहुँदा सञ्चारकर्मी र सञ्चारमाध्यमप्रति मानिसको नकारात्मक धारणा हुने गरेको बताउँदै सापकोटाले त्यस्ता विषयलाई तथ्यसंगत गहिरिएर हेरि दिन आग्रह समेत गरेका छन् । उनले सञ्चारकर्मीलाई सुरक्षित भई संयमित तरिकाले आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न अनुरोध गरेका छन् ।
हल्दिवारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले वर्तमान सन्दर्भमा सञ्चारकर्मी र सञ्चारमाध्यमको ठूलो भूमिका हुने बताउँदै प्रमाणित नभएका सूचना सम्प्रेषण गर्दा सम्बन्धित क्षेत्रमा ठूलो असर पर्ने बताए । हल्दिवारीको एउटा रिपोर्टमा ‘आरडीटी पोजेटिभ’ देखिएको घटना हतारमा सार्वजनिक गर्दा हल्दिवारीवासीले ठूलो मानसिक तनाब झेल्नु परेको उनले बताए । लिङ्देनले कोरोना परास्त गर्न सञ्चारमाध्यमबाट सम्प्रेषण हुने सामग्रीको महत्वपूर्ण भूमिका हुने बताए ।
बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष रत्ना राजवंशीले यो बेला नकारात्मक र ब्रेकिङका नाममा तथ्यहीन समाचार सम्प्रेषण नगर्न आग्रह गरिन् । बाह्रदशी भेटिएका एक संक्रमित मुस्लिम समुदायका हुन् र उनी लुकेर बसेको भन्ने कुरा सञ्चारमाध्यममा आउँदा त्यसले नकारात्मक प्रभाव परेको राजवंशीको भनाइ थियो । संक्रमित व्यक्ति कही पनि लुकेर नबसेको उनले प्रष्ट पारिन् ।
राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका केन्द्रीय सदस्य तथा मानवअधिकार सञ्जाल झापाका महासचिव डा. रुपक खनालले सुरक्षा, स्वास्थ्य र सञ्चार तीन क्षेत्रको सहकार्य र कामले नै कोरोना परास्त गर्न सकिने बताउँदै स्रोत बिनाको सूचना सम्प्रेषण नगर्न आग्रह गरेका छन् । सूचना र स्रोत विश्वसनीय हुनुपर्नेमा उनले जोड दिए ।
नेकपाका नेता सीपी कडरियाले सञ्चारमाध्यम र सञ्चारकर्मी जिम्मेवार र जवाफदेही बन्नुपर्नेमा जोड दिए । पछिल्लो समय डलर खाने ध्याउन्नमा युटुवर र फेसबुक प्रयोगकर्ताले सूचना र सञ्चार क्षेत्रलाई बदनाम गरिरहेको उनले बताए ।
कोरोनाको विषयलाई लिएर समुदाय विशेषलाई लाञ्चित गर्नु नहुनेमा सहभागी सबैको जोड थियो । नेपाल मुस्लिम संघका अध्यक्ष अमिन अली सेखले कोरोनाको विषयलाई लिएर जात, धर्म र समुदाय विशेषलाई लाञ्छित गर्ने कार्यले आफूहरु पीडित भएको उनले बताए । सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममा आएका त्यस्ता कुराले समस्या उत्पन्न गरेको उनको भनाइ थियो । छलफलको सहजीकरण संवाद समूहको तर्फबाट अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  १ : ०० बजे