८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

घरमै सिरुवा मनाउदैँ


१ बैशाख २०७७, सोमबार  

0
Shares

20200412_171157
बिर्तामोड १, बैशाख / विश्वब्यापी कोरोना भाइरसको महामारीका कारण बिर्तामोड—९ की स्मीता राजवंशीले यस वर्ष सामुहिक रुपमा सिरुवा खेलिनन् । उनले आफ्नै दिदी बहिनीसँग पानी छ्यापाछाप गरेर आज पानी सिरुवा मनाइन् । कोरोना भाइरसको उच्च जोखिम भएकाले घरमै सिरुवा खेलेर संस्कृति मनाएको उनले बताइन् ।

उनीजस्तै अरुले पनि यस वर्ष सामुहिक रुपमा सिरुवा खेलेनन् । कोरोना भाइरसको जोखिमका कारण यस बर्षको सिरुवा पर्व विगत बर्षहरुमा जस्तोगरी नमनाउने निर्णय गरिएको राजवंशी विकास प्रतिष्ठान झापाका अध्यक्ष सुरेन राजवंशीले बताए । पूर्वी नेपालका राजवंशी, ताजपुरिया, गनगाई, धिमाल, चौधरी ,माझीलगायतका आदिवासी समुदायका जातिले मनाउने महान पर्व सिरुवा आजदेखि शुरु भएको हो । आज सोमबार नयाँ बर्ष २०७७ प्रारम्भ भएसंगै सिरुवा पर्व सुरु भएको छ । बैशाख १ देखि ३ गतेसम्म तीन दिन उनीहरुले यो पर्व मनाउने गर्दछन् । पहिलो दिन पानीको होली पानी सिरुवा, दोस्रो दिन हिलोको होली काद सिरुवा र अन्तिम दिन रंगको होली रंग सिरुवा मनाउने चलन छ ।

यस अवसरमा झापा, मोरङलगायत जिल्लाका विभिन्न स्थानमा सिरुवा साँस्कृतिक कार्यक्रमहरु समेत आयोजना हुने गरेका छन् । कोरोना भाइरसको संक्रमणका कारण यस वर्ष आदिवासी समुदायले हर्षोल्लासपूर्वक सिरुवा नमनाउने भएका हुन् । कोरोनाकै कारण झापा र मोरङका विभिन्न स्थानमा लाग्दै आएका ऐतिहासिक सिरुवा मेलाहरु यस बर्ष स्थगित गरिएका छन् । आज बैशाख १ गते मोरङको रतुवामाई नगरपालिकाको सुनवर्षीमा ऐतिहासिक मेला लाग्ने गरेको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १० : ५० बजे