८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026

नयाँ वर्ष र मान्छेको अस्तित्व


१ बैशाख २०७७, सोमबार  

0
Shares

20200413_081643

कविता
नारायणप्रसाद चँदरा

घरको बार्दलीबाट तल्ला घरकी ठूलदिदी बेस्सरी चिच्याउँदै थिइन्–
गोरे र डल्लीले पनि स्कुलको पढाइ छोडे रे
बीचगाउँको हर्के विदेशबाट घर हिँडेको
बाटो नपाएर सीमानामै अलपत्र छ रे
पारिगाउँकी गोरीले पसिनासँग साटेको कमाइ
बजारमा पुर्‍याएर बेच्नसम्म पाइनँ रे
दिनभरि परिश्रम बेचेर साँझमा अवोध बालबच्चाको मुखमा माड पुर्‍याउने
छिमेकी धनेको पनि सपनाको डोरी चुँडियो रे
आशैआश र भरोसामा बाँच्ने मान्छेको
सपना विपनामा बदलिन सकेन रे
उफ् ! कस्तो बेचैनी !

आज बिहान बाटुलीको मुखबाट सुनेको–
मान्छेको बस्तीबस्तीमा वैरीले धावा बोल्दै छ रे
कसलाई के थाहा? मान्छेकै अस्तित्व धरापमै पो पर्ने हो कि ?
चिहानमा नआटेका छरपस्ट लासहरूलाई कुकुर र स्यालले लुछ्न छोड्ने पो हुन् कि ?
एउटा ठाउँबाट अर्को गाउँमा मान्छे आयात गरेर पो लानुपर्ने हो कि, बिउ बचाउन
कसले भन्न सक्छ, हाम्रो बस्तीमा त्यो दिन पनि आउँदैन भनेर?

धने झल्यास्स् भयो निन्दाबाट।
उसको अगाडि भित्तामा झुण्डिएको पात्रो पनि हटाउने समय आइपुगेछ।
छिमेकीले सुन्नेगरी उसले जोडजोडले चिच्यायो–
ए नयाँ वर्ष तिमीले गरिबका मुखमा माड लिएर आऊ
मजदूर र किसानको लागि राहत लिएर आऊ
व्यापारी र उद्योगीको लागि बजार लिएर आऊ
विद्यार्थीको लागि छात्रवृत्ति बोकेर आऊ
प्रेमी र प्रेमिकाको लागि हल्लाखल्ला र कोलाहल भगाएर आऊ
सबै नेपालीकोे लागि शान्ति र अमनचयन लिएर आऊ
अनि मानव जातिको लागि अस्तित्व फिर्ता गरेको तमसुक लिएर आऊ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  २ : ३५ बजे