१६ मंसिर २०८१, आइतबार | Mon Dec 2 2024

बाइस मुलुकबाट आएका ५६९ क्वारेन्टाइनमा


१९ चैत्र २०७६, बुधबार  

0
Shares

korona 12

भद्रपुर  , चैत १९ गते   /विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिइरहेका बेला झापामा विभिन्न २२ मुलुकबाट ५६९ जना घर आएको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले स्थानीय तह र टोल विकास संस्थाको सहयोगमा लगत सङ्कलन गर्दा विदेशबाट झापा आएकाको पहिचान भएको हो । कोरोना सङ्क्रमण फैलिएका मुलुकबाट उनीहरु झापा फर्किएका हुन् ।

विगत १५ दिनभित्र नेपाल प्रवेश गरेका ५६९ जनामध्ये ९८ जनालाई मेचीनगर, अर्जुनधारा, भद्रपुर, विर्तामोड र दमक नगरपालिकामा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ । विदेशबाट आएका ४६८ जना होम क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । जसमध्ये ३ जनालाई मेची अञ्चल अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका फोकल पर्सन कुलबहादुर पौडेलले बताउनुभयो ।

उहाँका अनुसार सबैभन्दा बढी भारतबाट ३११, दुवईबाट ११५ र कतारबाट ७८ झापा आएका छन् । साउदी अरब र अस्टे«लियाबाट नौ–नौ जना, मलेसियाबाट सात, बहराईन र हङकङबाट पाँच–पाँच जना झापामा आएका छन् । सङ्क्रमणको जोखिम मोल्दै फ्रान्स, इटाली, कोरिया, रोमानिया, बङ्गलादेश, जापान, अमेरिकालगायत २२ देशबाट नेपालीहरु झापामा आएका हुन् ।

बाल गृहमा खाद्यान्न अभाव – झापाको मेचीनगर–७ पुरानो भन्सारमा रहेको जागृति बाल उद्धार केन्द्रमा अत्यावश्यक खाद्यान्नको अभाव भएको छ । बाल गृहमा १४ जना बालवालिकाले आश्रय लिएका छन् । लकडाउनका कारण दाल, चामल लगायत अत्यावश्यक खाद्यान्न सकिएको सञ्चालक समितिका अध्यक्ष अर्जुन देबकोटाले बताउनुभयो ।

चामलको ‘स्टक’ रित्तिएर आजै बेलुका आश्रित बालवालिकालाई पकाएर खुवाउने अन्न नभएको जनाउँदै उहाँले दाताहरुबाट तत्काल सहयोगको याचना गरिएको बताउनुभयो । सात वर्षदेखि सञ्चालित सो बालगृहमा रहेका ६ वर्षदेखि १८ वर्षसम्मका असहाय बालवालिकाले बालगृहमा बसेर स्थानीय विद्यालयमा पढ्दै आएका छन् ।

बुद्धशान्ति र विर्तामोडमा राहत कोष – झापाको बुद्धशान्ति गाउँपालिकाले कोराना भाइरसविरुद्ध उच्च सतर्कताका लागि रु ३७ लाख ५० हजार र विपन्नलाई राहतका लागि रु १० लाखको बजेट छुट्याएको छ  । विगत १५ दिनमा विदेशबाट आएका ९१ जनालाई होम क्वारेन्टाइनमा छन् । उनीहरुलाई होम क्वारेन्टाइनमा राखेर पिपिईसहित स्वास्थ्यकर्मीले नियमित स्वास्थ्य जाँच गरिरहेको पालिकाका अध्यक्ष रमेश भूजेलले बताउनुभयो ।

विर्तामोड नगरपालिकाले रु ५० लाखको आकस्मिक राहत कोष स्थापना गरेको छ । सो कोषमा नगरप्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतलगायतले एक महिनाको तलब जम्मा गर्ने भएका छन् । कोषबाट क्वारेन्टाइनमा बसेकालाई खाद्यान्न र नगरभित्रका विपन्न समुदायलाई राहतका लागि खर्च गरिने नगरप्रमुख ध्रुव शिवाकोटीले बताउनुभयो ।रासस

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ८ : ४५ बजे