५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बिर्तामोड नगरपालिकाले नै गर्यो उल्लंघन


१४ चैत्र २०७६, शुक्रबार  

0
Shares

bhawan photo
बिर्तामोड १४,चैत /
। कोरोना भाइरसको जोखिम कम गर्न सरकारले लागू गरेको लकडाउनको बिर्तामोड नगरपालिकाले नै उल्लंघन गरेको छ । घरबाट बाहिर ननिस्किएर सर्वसाधारणले लकडाउनको पालना गरिरहेको अबस्थामा बिर्तामोड नगरपालिकाले घर बनाउने आवास कार्यक्रमलाई तीब्रता दिएको छ । लकडाउनको उल्लंघन गर्दै नगरपालिकाको आवास कार्यक्रमअन्तर्गत मजदुरहरुले घर निर्माण जारी राखेका छन् । बिर्तामोड —४ मा मजदुरहरुले निरन्तर घर बनाइरहेका हुन् । पुरानो बिजुली अफिस पूर्वपट्टि पाँचजना मजदुरहरुले दुईवटा घर निर्माण गरिरहेको एक स्थानीयले बताए । कोरोनाबाट जोगिने कुनै पनि सावधानी नअपनाइकन मजदुरहरुले आज बिहीबार बेलुकासम्म लगातार काम गरिरहेको स्थानीय देशबन्धु राजवंशीले बताए । त्यसतर्फ नगरपालिकाले ध्यान दिन सकेको छैन । न त जनप्रतिनिधिहरुले नै चासो राखेका छन् । वडा कार्यालयमार्फत उपभोक्ता समिति गठन गरी नगरपालिकाको आवास कार्यक्रम संचालन हुँदै आएको छ । नगरपालिकाले लकडाउन पालना गर्न आव्हान गर्दै माइकिङ गर्न आउँदा मजदुरहरु लुक्ने गरेको र गइसकेपछि फेरि काम थाल्ने गरेको जनाइएको छ । बिर्तामोड नगरपालिकाले सहारा नेपालसँगको साझेदारीमा आवास कार्यक्रम संचालन गरेको हो । यस वर्ष प्रत्येक वडामा २० वटाको दरले १० वटा वडामा २०० घर बनाउने योजना रहेको छ । लकडाउनलाई कार्यान्वयन गराउँदै प्रहरी प्रशासनले सबै निर्माण कार्य रोक्न लगाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ९ : १८ बजे