१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

तरकारीको मूल्य आकाशियो


११ चैत्र २०७६, मंगलबार  

0
Shares

Exif_JPEG_420

बिर्तामोड ११, चैत / कोरोना भाइरसको संभावित जोखिमका कारण बजार र यातायात बन्द भएपछि दैनिक उपभोग्य तरकारीको मूल्य आकाशिएको छ । बजारमा तरकारीको आपूर्ति हुन छाडेपछि अभावसँगै मूल्य बढेको हो । बिर्तामोडमा १५ देखि २० प्रतिशत तरकारीको मूल्य बृद्धि भएको पाइएको छ ।खासगरी आलु, टमाटर,मुला, फूलकोपी,अदुवाजस्ता तरकारीको मूल्य बढेको हो ।भारतबाट आयात हुँदै आएका तरकारी नाका बन्द भएर आउन छोडेपछि मूल्य बढेको व्यवसायीहरुले बताएका छन् ।आलु प्रतिकेजी ४० बाट बढेर ५०, टमाटर ४० बाट बढेर ६०, मुला ३० बाट बढेर ४०, फूलकोपी ४० बाट बढेर ५० रुपैयाँ प्रतिकेजी पुगेको हो ।

भारतबाट तरकारी आयात नभएर मूल्य बढेको कृषि थोक बजारका तरकारी व्यवसायी भूषण शाहले बताए । उनले स्थानीय क्षेत्रबाट आउने सागसब्जीको मुल्य भने यथावत रहेको जानकारी दिए ।तरकारीको मूल्यबृद्धि र अभावका कारण बिर्तामोडको कृषिथोकमा उपभोक्ताहरुको खासै चहलपहल छैन । अत्याबश्यकबाहेकका सेवा बन्द गर्ने सूचना पाएपछि धेरै उपभोक्ताहरुले पहिला नै खाद्यान्नसँगै तरकारी सञ्चित गरेर राखेका छन् ।भारतबाट तरकारी आयात नभएपनि झापाका ग्रामीण क्षेत्रलगायत इलाम, पाँचथर,धरान, धनकुटाबाट तरकारी आयात भइरहेको कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले जनाएको छ ।

मुख्य तरकारीको रुपमा रहेको आलुको स्टक सकिएको कृषि बजार व्यवस्थापन समितिकी तथ्यांक सहायक मायादेवी राजवंशीले बताइन् । उनले आलुसँगै अन्य तरकारीको स्टक पनि सकिदैँ गएको जानकारी दिइन् । नयाँ सिजनका भिन्डी, करेला,बोडी, परवलजस्ता तरकारी जुन भारतबाट आयात हुने गरेको छ, त्यस्ता तरकारीको मूल्य धेरै बढेको व्यवसायी शाहले बताए । कोरोनाको संक्रमण हुन नदिन खान भनिएका अदुवा, लसुन, कागतीजस्ता तरकारी र फलफूल बजारमा नपाइएको र पाएपनि भाउ बढेको बिर्तामोड ३ का सुवाष महतोले बताए । बिर्तामोडको कृषिथोक बजारलाई प्रदेश नं १ कै ठूलो कृषि बजार मानिन्छ । त्यहाँ दैनिक रुपमा सरदर ३४० मेट्रिक टन तरकारी तथा फलफूल आपूर्ति हुने गरेको छ ।
यसैबीच कोरोनाको सम्भावित जोखिमबाट जोगिन प्रत्येक बुधबार लाग्ने साप्ताहिक बुधबारे हटिया बन्द गरिएको छ । बजार व्यवस्थापन समितिले सोमबार सूचना जारी गरी अनिश्चितकालका लागि बुधबारे हटिया बन्द गरेको जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ९ : ४५ बजे