१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

जनआन्दोलन साप्ताहिकका प्रधानसम्पादक केशव आचार्यलाई सम्मान


२८ माघ २०७६, मंगलबार  

0
Shares

keshab

विर्तामोड २८, माघ / विर्तामोडबाट प्रकाशित जनआन्दोलन साप्ताहिकका प्रधानसम्पादक  केशव आचार्यलाई मोफसलकै ठूलो गोपालचन्द्र गोतामे स्मृति प्रतिष्ठानले आफ्नो नवौं पुण्य तिथीमा सम्मान गर्ने भएको छ ।
मोफसलमा रहेर पत्रकारिता क्षेत्रमा निरन्तर सेवारत पत्रकारलाई सम्मान प्रदान गर्ने प्रतिष्ठानको उद्देश्य अनुसार प्रधानसम्पादक आचार्यलाई एकतोला सुनको लकेटद्वारा सम्मान गर्न लागिएको प्रतिष्ठानका चन्द्र किशोर झाले जानकारी दिनुभयो ।
२०११ साल बैशाख ८ गते पिता रंगलाल र माता पुण्यवता आचार्यका ज्येष्ठ सन्तानका रुपमा जन्मिएका आचार्यले २०३५÷३६ सालदेखि साहित्यिक पत्रिकाका माध्यमबाट मिसन पत्रकारिता सुरु गर्नुभएको थियो । ताप्लेजुङको हाङपाङबाट २०२१ सालमा झापा झरेका आचार्यले २०३६ सालमा बैबाहिक जीवन शुरु गर्नुभएको हो ।
विश्वदिप साहित्यिक मासिक पत्रिकाको प्रबन्ध निर्देशकका रुपमा २०३७ सालबाट संचारकर्ममा प्रवेश गरी झापाबाट प्रकाशित हुने शनिबार साप्ताहिक, पूर्वाञ्चल दैनिक, झापा एक्सप्रेस, आरम्भ एफएम, काठमाडौंबाट प्रकाशित हुने देशान्तर साप्ताहिक, सुरुची र स्वतन्त्रता साप्ताहिक तथा स्पेस टाइम दैनिकमा कार्यानुभव सम्हाली सक्नु भएको आचार्य पत्रकारिता संगसंगै साहित्य सिर्जनामा पनि त्यत्तिकै सशक्त रुपमा कलम चलाउने स्रष्टा हुनुहुन्छ । आचार्यका आचार–विचार मुक्तक संग्रह, केशव आचार्यका कविताहरु कविता संग्रह, पागल गजल संग्रह तथा पागल गजल एल्वम समेत सार्वजनिक भइरहेका छन् भने एकदर्जन बढी गीत तथा गजल संगीत भरेर प्रशारण समेत भएका छन् ।
नेपाल पत्रकार महासंघ झापा शाखाबाट २०६३ सालमा पुरस्कृत आचार्य सञ्चार क्लव मोरङ, नेपाल प्रेस युनियन पूर्वाञ्चलसहित नेपाल–भारतका विभिन्न पत्रकारिता, साहित्य र कला क्षेत्रका दुई दर्जनबढी साहित्यक संघसंस्थाबाट सम्मान र पुरस्कृत भइसकेका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षको जिम्मेवारी सम्हालेका उनी नेपाल प्रेस युनियनमा, नेपाली साहित्य विकास समिति मेचीका अध्यक्षको जिम्मेवारीमा छन् भने सासंक प्रतिष्ठान, कृष्णभुषण बल स्मृति साहित्य प्रतिष्ठान मोरङ, साहित्य चौतारी, नेपाली लेखक संघ लगायतका साहित्यिक संघ–संस्थाहरुमा आवद्ध छन् । त्यसो त दर्जनबढी सामाजिक संघसंस्थाबाट पनि सम्मानित र पुरस्कृत भइसकेका छन् । पत्रकारिता, साहित्य र गीत–संगीतका अलावा पत्रकारितालाई निरन्तरता दिने क्रममा शैक्षिक क्षेत्रलाई रोजेका आचार्यले ९ वर्ष नायव सुब्बा र २२ वर्ष शिक्षण सेवापछि स्वेच्छिक अवकाश लिएर वर्तमानमा पत्रकारिता र साहित्य र सामाजिक संघसंस्थामा क्रियाशील हुनुहुन्छ ।
पुरस्कार यही फागुन २ गते विरगञ्जमा एक विशेष समारोहका बीच प्रदान गरिने बताउनु भयो ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ३ : ४३ बजे