३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

विकासमा फड्को मार्दै गौरीगंंज


१९ माघ २०७६, आइतबार  

0
Shares

20200202_150501

गौरीगंंज१९, माघ /
पूर्वपश्चिम राजमार्गको दमक–पाडाजुँगी खण्डबाट करीब २५ किलोमिटर दक्षिणमा पर्छ झापाको गौरीगञ्ज गाउँपालिका । भारतीय सीमासंग जोडिएको यो शहर पुरानो भइकन पनि विकासमा पछि परेको क्षेत्र भनेर चिनिन्छ अहिले पनि । हुन त विकासका सुचकहरु धेरै छन् । भौतिक तथा पूर्वाधारलाई मात्रै विकासको सूचक मान्ने हो भने कतिपयका लागि त्यो अधुरो विकास हुन्छ ।
भौतिक पूर्वाधार, सामाजिक चेतना, मानिसको जिवनशैली, सूचना प्रविधीमा पहुँच आदि समेतलाई विकासको सूचकका रुपमा हेरिन्छ । विकासको परिभाषा भित्र अनेकौ बिषयहरु समेटिने भएपनि सबैले देख्न र महसुस गर्न सकिने विकास भनेको भौतिक पूर्वाधारनै हो । यसैलाई आधार बनाउने हो भने गौरीगञ्ज गाउँपालिका क्षेत्र यतिबेला विकासको गतिमा लम्किएको महसुस गर्न सकिन्छ ।

एकै वडामा यस्ता यस्ता योजना
यस क्षेत्रमा विकासको पहिलो आधारका रुपमा यहाँको यातायात अर्थात सडक विकासलाई लिने गरिन्छ । दुई बर्ष अघि सम्म स्थानीय तह पुनसंरचना भईसकेपछि पनि यो गाउँपालिकाको ६ नम्बर वडामा पर्ने खजुरगाछी क्षेत्रको राजमार्गसंगको पहुँच सहज थिएन । साविकको खजुरगाछी र गौरीगञ्जलाई जोड्ने बर्षोैदेखि अलपत्र अवस्थामा रहेको गौरीया खोलाको पक्की पूल ढिलै भएपनि निर्माण सम्पन्न भई सञ्चालनमा आएपछिनै यहाँको आवागमनमा सहजता महसुस भईरहेको छ ।
हुलाकी मार्गमा पर्ने सो पूलको निर्माण कार्य सकिए लगत्तै करीब एक किलोमिटर उत्तर तर्फ सोही खोलामा करीब ८ करोडको लागतमा अर्को पक्की पूल निर्माण भईरहेको छ भने उहि दुरीमा निर्माणाधिन पूलबाट करीब ३ सय मिटर दुरीमा सुविधा सम्पन्न सरकारी अस्पताल सञ्चालनको योजनासहित निर्माण शुरु भएको खजुरगाछी अस्पतालको भवन निर्माण सकिएको छ ।
यद्यपी अस्पताल सञ्चालनमा भने चिकित्सक तथा अन्य सुरक्षा आदिको कारण देखाउँदै अझै सम्म तदारुकता देखाइएको छैन । सञ्चालनमा नआएको सो अस्पताल सञ्चालक समिति अध्यक्षको जिम्मेवारी भने निर्वाचित वडाध्यक्ष बद्रीनारायण यादवले पाउनु भएको छ ।
वडाध्यक्ष यादव सो अस्पताल गत आर्थिक बर्षको अन्त्यतिर निर्माण पक्षले स्थानीय सरकारलाई हस्तान्तरण गरेको बताउँदै अब अस्पताल सञ्चालनका लागि चाहिने डाक्टर र अन्य स्रोत साधनको व्यवस्थापनमा जुट्ने बताउनु हुन्छ ।
२५ शैयाको अस्पताल भवन बने पनि घेरावारा लगायतका पूर्वाधार अभावमा सर्न समस्या भएको बारे सम्बन्धित निकायमा जानकारी गराईएको गाउँपालिकाले जनाएको छ । अस्पतालको भवन बने पनि २४ सैं घण्टा सेवा प्रवाह हुने अस्पतालमा घेरावार नहुँदा समस्या हुने भएकाले सेवा शुरु गर्न समस्या भएको बारे सहरी विकास तथा भवन निर्माण बिभागमा जानकारी गराईएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले यही बर्ष भित्र त्यहाँ २५ शैयाको अस्पताल सुचालू हुने बताउनु भयो ।
नयाँ भवनबाट सेवा शुरु गर्न दरवन्दि अभाव समेत समस्या भएकाले स्वास्थ्य सेवा बिभागमा पनि जानकारी गराईएको उहाँले जनाउनु भयो ।
उनले भन्नुभयो–‘भवन निर्माण भएर हस्तान्तरण भई सकेको छ तर हामीले त्यहाँ अस्पताल सारि हाल्ने अवस्था छैन, पूर्वाधार निर्माणका लागि श्रोत पनि छैन । यस्तै दरवन्दि व्यवस्थापनको काम पनि हामीले गर्न सक्दैनौं । त्यसैले यि समस्या समाधानका लागि सम्बन्धित निकायमा जानकारी गराई सकेका छौं ।’
स्थानीयबासीहरुले भने भवन निर्माण पूरा भई सकेकाले नयाँ भवनबाट सेवा शुरु गर्न माग गर्दै आएका छन् । सोही वडामा रहेको आठमौजा छोटी भन्सार कार्यालय स्तरोन्नतीको योजनाले पनि स्थानीयहरुलाई हर्षित बनाएको छ ।
गौरीगञ्ज ३ का वडाध्यक्ष समेत रहनु भएका स्थानीय उद्योग वाणिज्य संघका अध्यक्ष मखना महतो भन्सारको स्तर बृद्धिसंगै यहाँको व्यवसायिक कारोबार बढ्ने भएकाले यो योजना अर्को महत्वपूर्ण फड्को भएको बताउनु हुन्छ ।
गौरीगञ्जमा नै शहरी विकासको नयाँ शहर बनाउने योजना अन्तर्गत ३ किलो मिटर खण्डमा ड्रेनसहितको सडक कालोपत्रे पनि धमाधम भइरहेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

हुलाकी सडकको २६ किमि खण्डमा काम
पूर्वी तराईमा महेन्द्र राजमार्गको विकल्पका रुपमा हेरिएको हुलाकी राजमार्ग अन्तर्गत झापाको रतुवा खोलादेखि पुर्व विरिङ्ग खोलासम्म २६ किलोमिटर सडक खण्डको निर्माण कार्य शुरु भएको छ । सो खण्ड निर्माणको जिम्मेवारी पाएको मोदीदान कन्ट्रक्सन प्रा.लि. काठमाडौं र हुलाकी राजमार्ग आयोजना इटहरीको संयुक्त टोलीले सो खण्डको कालोपत्रेका लागि आवश्यक तयारी गरिरहेको हो ।
मोदीदान कन्ट्रक्सन सेवा प्रालिका राम बहादुर गौतमका अनुसार रतुवा खोलादेखि पुर्व २६ किलोमिटर बाटो निर्माण गर्न १ अरब ५० करोड रूपैयाँमा ठेक्का सम्झौता भएको छ । सम्बन्धित निर्माण कम्पनी र हुलाकी राजमार्ग आयोजनासंगको संयुक्त सर्भे पश्चात सडकको क्षेत्र यकिन गर्ने काम भईरहेको गौतमले जनाउनु भयो ।
साविक बाटोको बिचको विन्दुलाई केन्द्र मानेर बाटोको दायाँबायाँ १५÷१५ मिटर चौडा बनाई ७ मिटर खण्डमा कालोपत्रे हुने उहाँले जनाउनु भयो । सो खण्ड अन्तर्गत बाटोमा पर्ने कल्भर्ट र पाइप कल्भर्ट साथै बजार क्षेत्रमा नालासहितको बाटो निर्माण हुनेछ । ३ वर्ष भित्रमा सो खण्डको कार्य सम्पन्न गर्ने सम्झौता भएको पनि गौतमले जनाउनु भयो ।
त्यसैगरी प्रदेश सरकारको सशर्त अनुदानबाट गौरीगञ्ज गाउँपालिकाको वार्ड नं. ५ मा पिच बाटो निर्माण हुने भएको छ । प्रदेश सरकारको १ करोड रूपैयाँ र गाउँपालिकाको करिब ३० लाख रूपैया लागतमा बाटो निर्माण हुनेछ । यो बाटोनै वार्ड नं. ५ को पहिलो पीच बाटो हुनेछ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ९ : २६ बजे