१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रहरीसंगको मिलेमतोमै भित्रिँदै सूर्ति


१८ कार्तिक २०७६, सोमबार  

0
Shares

20191104_184040

दमक १८, कार्तिक / जो सुकैसंग पनि सहजै माग्न सकिने खानेकुरा खैनी अर्थात सूर्ती हो । कसैले नियमित अम्मलकै रुपमा त कसैले बेला मौका समय विताउने माध्यमका रुपमा खैनी च्याप्ने गर्छन । कसैले तल्लो ओठ त कसैले माथिल्लो भागमा पनि सहजै खैनी च्याप्दै आफ्नो नियमित काम भ्याउँछन् ।
खेतबारीमा काम गर्ने कृषि मजदुरदेखि मालिक सम्म , कार्यकर्ताहरुदेखि नेता सम्म, कार्यालयका पियनदेखि हाकिम सम्म अक्सर खैनी सूर्तिका सेवनकर्ता छन् । गोजीमा च्यापेर राखिने र सानो प्याकेट हुनाले खैनी सूर्ति सहजै लुकाएर खान सकिने बस्तु हो खैनी । खैनीका अम्मली को हो भन्दा पनि को होइन भन्ने अवस्था छ पुस्तौंदेखि । यतिधेरै मानिसहरु अम्मली रहेको खैनीको उत्पादन नेपालमा जति भईरहेको छ त्यो भन्दा कैंयौं गुणा धेरै भारतीय बजारबाट भित्रिरहेको छ । यही खैनी अर्थात सूर्ती चुरोट कम्पनीहरुमा समेत खपत हुने गरेका कारण यसको खपत बढ्दो छ ।
करीब १५० किलोमिटर भारतसंगको खुल्ला सीमा भएको झापा जिल्लाको पश्चीम दक्षिण क्षेत्र भारतीय सूर्ति आयात गरेर अन्यत्र पुरयाउने अखडा हो । भारतसंग सीमा जोडिएका झापाका साना ठुला दुवै खाले नाका विशेष गरी हिउँद लागेसंगै सूर्ति आयातका लागि चलायमान हुने गर्छन ।
यहाँका सीमा क्षेत्रबाट खुल्ला सूर्ती र बिँडी आयात गरी नेपाली ब्राण्डका प्याकेटहरुमा भर्ने र काठमाडौं सम्म तस्करी गरेर लैजाने ठुलो गिरोह झापामै छ । गिरोहले साना साना भनिएका नाकाहरुबाट नजानिँदो पारामा साइकल र मोटरसाइकलको प्रयोग गरी दिनदहाडै ठुलो मात्रामा सूर्ति भित्र्याएपछि यहाँँका स्थानीय बजार हुँदै काठमाडौं सम्म पुरयाउने गरेको छ । यस पटकको दशैं तिहारको अवधीमा भारतसंग सीमा जोडिएका झापास्थित नाकाहरुबाट दैनिक जसो मोटरसाइकल र साईकलको प्रयोग गरेर ठुलो मात्रामा सुर्ती भित्रिएको जानकारहरु बताउँछन् ।
सूर्ती प्याकिङ गर्ने अड्डा दमक, लखनपुर, गौरादहमा पनि गुपचुपमा राखिएका छन् । त्यस्ता प्याकेजिङ गरिने अडड प्राय एक हप्तादेखि दुई हप्तामै परिवर्तन गर्ने गर्छन । सर्वसाधारणले त्यस्तो प्याकेजिङका अखडा थाहा पाएपछि प्रहरीलाई दबाब आउने भएका कारण प्रहरीसंगैको सेटिङमा त्यस्ता अखडा बारबार परिवर्तन गर्ने गरेको पनि थाहा भएको छ ।
स्वास्थ्यका लागि उसैपनि हानिकारक र राजश्व संकलनका हिसाबले समेत नकारात्मक असर पुरयाउने गरी भईरहेको सूर्तिको आयातमा सुरक्षा निकाय (सशस्त्र र जनपथ प्रहरी) दुवैको मुख्य हात रहेको सीमा नाकाहरुमा निष्कर्ष न्यूजले गरेको अनुसन्धानबाट थाहा भएको छ ।
झापाका कतिपय सीमा क्षेत्रमा रहेका प्रहरीनै सूर्तिको अबैध आयात वापत मासिक नजराना असुल्ने गर्छन । त्यस्तो नजराना (अबैध असुली)का लागि सीमा क्षेत्रमा खटिने विशेष अर्थात सादा पोशाकका प्रहरी माध्यम बनिरहेका पनि खुलासा भएको छ ।
खैनी सूर्तिका ठूला तस्करहरुले घुमुवा भनिने सादा पोशाकका विशेष प्रहरी मार्फत प्रहरीको उच्च तह सम्म मासिक नजराना बुझाउनाले खैनी सूर्तिको अबैध आयात सुरक्षित बनिरहेको छ भने सीमा क्षेत्रमा दैनिक उपभोग्य बस्तुहरुको आयातमा भने प्रहरीले सास्ती दिने गरेको सीमा क्षेत्रका बासिन्दाहरुले बताएका छन् ।
गौरीगञ्ज, कोरोबारी, माहाभारा, शिवगञ्ज, झापा बजारदेखि कचनकवल नाकाहरुमा खटिएका सादा पोशाकका प्रहरी मार्फतनै स्थानीय प्रहरी इकाईदेखि प्रहरीका उच्च अधिकारीहरु सम्म खैनी सूर्ति आयात वापतको नजराना रकम ( अबैध असुली) पुग्ने गरेको समाचार स्रोतहरुले जनाएका छन् ।
स्रोतहरुले त्यस किसिमको अबैध आयातको गिरोह ठुलो रहेको भन्दै तिनका विरुद्ध आवाज उठाउँदा सीमा नाकामा बस्नै मुश्किल हुने पीडा पनि पोखेका छन् । सीमा क्षेत्रका एक जना बासिन्दाले भने – खैनी सूर्तिका अबैध आयातकर्ताहरुको सेटिङ पुलिसकै ठुला मान्छेहरु सम्म छ भन्ने सुनिन्छ उनीहरुकै विरोध गरे सीमा क्षेत्रमा नबसे पनि हुन्छ ।
यस्तो छ व्यवस्था
नेपालमा चुरोट, बिँडी, खैनी जस्ता सुर्तिजन्य पदार्थको उद्योग खोल्न पाउने व्यवस्था भने छदैंछ । त्यसका लागि औद्योगिक प्रवद्र्धन बोर्डबाट अनुमति लिनु पर्ने हुन्छ । सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने नियमावली २०६८ प्रयोग गरी सरकारले सूर्तिजन्य बस्तु सम्बन्धि विभिन्न नियमहरु बनाएपनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा मानव स्वास्थ्यमा त्यसको गम्भिर असर परिरहेको छ ।
निष्कर्ष न्युजबाट

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  १२ : ५५ बजे