५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

आदिवासी समुदायमा दशैं (जात्रा पावनी ) मनाउने फरक शैली


१८ आश्विन २०७६, शनिबार  

0
Shares

20191005_170623
आत्माराम राजवंशी /
दशैंकाे उल्लासमा नझुम्ने काे हाेेला र ! बलियाे सांस्कृतिक ईतिहास बाेकेकाे पूर्वी तराईका आदिवासी समुदाय पनि दशैंमा रमेर झुम्ने गर्छन् । अन्य समुदायले मनाउने तरिकाभन्दा उनीहरूकाे शैली केही भिन्न छ ।
झापा, माेरङ्ग र सुनसरी जिल्लामा ठुलाे संख्यामा बसाेबास गर्ने काेच समुदायका राजवंशी, ताजपुरिया, गन्गाई,माझीलगायत समुदायलाई पनि यस पर्वकाे उल्लासले राम्रैसंग छुने गर्छ । दशैंलाई उनीहरूले ‘जात्रा पावनी’का रूपमा रमाइलाेसंग बिताउछन् । धार्मिक मठ-मन्दिरहरूमा जात्रा पावनी बित्ने गर्छ ।
खासगरी दशैंमा मन्दिरमा गई पुजाआजा गर्ने, भाकल अनुसार दुर्गा मन्दिरहरूमा बाेका, हास, परेवा बलि दिने, नरिवल चढाउने, नयाँ लुगा किन्ने र लगाउने, मिठाे मसिनाे खाने र हप्ताै दिनसम्म मेला भर्ने गरेकाे दृष्टान्तले जात्रा पावनीकाे राैनकले यस समुदायलाई पनि छपक्कै छाेपेकाे पुष्टि गर्छ ।
यस क्षेत्रमा बसाेबास गर्ने गैरकाेच समुदाय र अन्य समुदायबीच याे पर्व सांस्कृतिक एकता र सहिष्णुताकाे सेतु बन्न पुगेकाे छ । राजवंशी समाज विकास समितिका पुर्व केन्द्रीय सदस्य फुलवती राजवंशी भन्छन् – ‘ काेच समुदायले दशैं धुमधामसंग मनाउने गरेकाले याे पर्वले अरू समुदायसंग भावनात्मक सम्बन्ध जाेडेकाे छ, मनाउने तरिका फरक छ तर श्रद्वा र आस्था एउटै छ । ‘ महानवमीकाे दिन आफ्नाे नजिककाे दुर्गा मन्दिरमा डाला ( केराका काइयाे ) चढाउने र मन्दिरबाट जमरा, टीका, प्रसाद लगेर ठुलाबडाबाट लगाउने गरेकाे चलन छ ।
यस समुदायमा दुर्गामातालाई शक्तिकाे स्वरूप मानी र त्रिलाेक विजय गरेका दैत्य राजा मैशासुरलाई बध गरि देवता, मानिसहरूकाे कल्याण अनि मुत्ति दिएकाे खुशियालीमा पूजा गर्ने चलन छ ।
उनका अनुसार यस समुदायले घरमा प्रयाेग हुने हातहतियार, ओखल, मुस्ली, काेदालाे, हलाे, खन्ति, बसेला, जङ्गाल धाेईपखाली तिनीहरूकाे पूजा गर्छन् । यसरी पूजा गर्ने विधिलाई यस समुदायले ‘हाल गङ्गाली सेवा भन्छन् । ‘ हाल जङ्गाली सेवा’ गर्दा विहानै घर आगन लिपपाेत गर्छन् । बिहानै सबै सामानहरू धाेई पखाली घरकाे उत्तर दिशामा राख्ने गर्छन् ।
‘हाल जङ्गाली सेवा ‘ गर्ने मानिस (घरमुली) उपवास बस्छन् । अनि पाँच ठाउँमा केराकाे पत्तामा पानसुपारी, चिनी,भाेग, धुप, केराकाे प्रसादी लगाई पूजा गर्छन् । गैरमाटी,खैरमाटी (राताे र खैराे रङ्गकाे माटाेकाे डल्लाे) घाेलेर पाँच पाँच वटा टीका पूजा गरेकाे सबै सामानहरूमा लगाइन्छ । त्यसपछि प्रत्येक घरकाे ढाेकाहरूमा पाँच -पाँच वटा गरि टीका लगाइन्छ । आराेग्यकाे लागि घरमा राेगव्याध प्रवेश गर्न नसकाेस् भनी दुवाे र पैसा ढाेकाहरूमा टासिन्छन् । झापा, माेरङ्ग, सुनसरीलगायत भारतकाे विहार, र पश्चिम राज्यहरूमा बसाेबास गर्ने काेच समुदायका मानिसहरू दशमीकाे दिनदेखि पूर्णिमासम्म मेला भर्न जाने गर्छन् । जात्राले यस समुदायमा नयाँ कुटुम्बहरूकाे लागि विशेष महत्त्व राख्दछ । नयाँ कुटुम्बहरू दशैंमा एकआपसमा लुगा, लत्ताकपडा दिने लिने गर्दछन् । छाेरी ज्वाईहरू ससुरालीतिर गएर चाड मनाउने, मेला भर्ने चलन छ । तर, पर्वकाे नाममा फजुल खर्च गर्नु हुदैन, राजवंशीले भने ‘ यसले समाजमा विकृति भित्र्याउछ ।
यस समुदायमा जसकाे घरमा दुर्गा मन्दिर छ, उनीहरू जमरा उमार्दैनन् । तर, नाै दिनसम्म चण्डी पाठ गर्ने गरेकाे यस समुदायका अगुवाहरू बताउँछन् । गाउँ गाउँमा पिङ टाङ्ने गर्दछन्। केटाकेटी, बालबच्चा,बुढाबुढी मानिसहरू हास्दैखेल्दै पिङ खेलेर आनन्द लिने गर्दछन् । बर्षमा एक पटक पृथ्वी मातालाई अाफ्नाे बाेझबाट मुत्त गर्न र एकचाेटी जमिन छाेड्नु पर्ने मान्यताबाट उनीहरू सबै पिङ खेल्ने गरेकाे उनीहरू बताउँछन् । काेही काेही दशैंकाे समयमा अाकाशतारा टाङ्ने गर्दछन् । याे टाङ्ने काम दशैंदेखि तिहारसम्म गर्ने गरिन्छ ।
उनीहरू दुर्गा देवीसंगै काली, सरस्वतीकाे पनि पूजा गर्छन् । महानवमीकाे दिन लेख्ने, पढ्ने गरे ज्ञान र विधा बढ्छ भन्ने मान्यताा अनुसार अाफ्ना छाेराछाेरीहरूलाई नयाँ कापी र कलमले लेखाउने चलन छ ।
पावनी नाचगान गर्ने चलन पनि छ । विषेशतः राजवंशी ताजपुरिया समुदायका मानिसहरू याे समयमा ढुल्की नाच गरेर हिड्ने गर्दछन् । पावनीकाे अवसरमा प्रत्येक घरमा गई सामुहिक नाचगान गर्ने गर्छन् । उनीहरू यसरी नाचगान गरेर संकलन भएकाे पैसा र जिन्सी समाजलाई फाईदा हुने साझा काममा लगाउछन् । पावनीकाे अवसरमा उनीहरू दुर्गा मन्दिर भएकाे स्थानमा बर्सेनि मेला लगाउने गर्छन् ।
झापामा पावनीकाे अवसरमा गाैरादह नगरपालिकामा दुधाली मेला र ग्वालडुब्बा मेला, दामुना मेला,गाैरीगंज गाउँपालिकामा गाैरीगंज मेला, खजुरगाछी मेला,चन्द्रगढी, माेरङ्गकाे विभिन्न स्थानमा मेला लगाउने गरिएकाे छ ।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  ११ : २० बजे