३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

नेकपा जिल्ला सदस्य किना राजवंशीलाई कारवाही गर्न कार्यदल गठन


८ भाद्र २०७६, आइतबार  

0
Shares

20190825_103738
बिर्तामोड ८, भदाै / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले कृषि अनुदानमा अनियमितता गर्नेलाई कारवाही गर्ने निर्णय गरेको छ ।

नेकपा झापाको शनिवार सम्पन्न दोस्रो पूर्ण बैठकमा अनुदान अनियमितता आरोप लागेका जिल्ला कमिटी सदस्य किना राजवंशीलाई कारवाही गर्ने निर्णय गरेको हो ।

बैठक सम्पन्न भएपछि पत्रकारलाई निर्णय जानकारी गराउँदै अध्यक्ष चिन्तन पाठकले कृषि ज्ञान केन्द्रले किसानका लागि दिएको अनुदानमा जिल्ला कमिटी सदस्य राजवंशीले अनियमितता गरेको आरोप लागेकोले छानविन गरी दोषी देखिए कारवाही गर्ने जानकारी दिए ।

उनका अनुसार सो अनियमितताबारे छानविन गर्न नेकपाका नेता मोहन टुडुको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनेको छ । कार्यदलमा मदन अधिकारी र राधाकृष्ण खनाल सदस्य रहेका छन् । उनीहरुलाई छानविनको लागि १५ दिनको समय उपलब्ध गराइएको अध्यक्ष पाठकले बताए । सो कार्यदलले कृषि अनुदान र यसअघिको प्रधानमन्त्री कृषि पकेट कार्यक्रमको समेत छानविन गर्ने छ ।

पार्टीको दोस्रो बैठकले विभिन्न जिम्मेवारी समेत टुङगाएको छ । झापा जिल्लाको पार्टी एकतापछिको जिम्मेवारी बाँडफाड लगभग सकिएको प्रचार विभाग प्रमुख मणिकुमार साम्पाङले जानकारी दिएका छन् ।

बैठकले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी समेतको जिम्मेवारी बाँडफाँड गरेको छ । क्षेत्र नं. १ मा सो कमिटीको संयोजकमा गोपाल बुढाथोकी र सहसंयोजकमा प्रकाश खड्का रहेका छन् ।

यस्तै क्षेत्र नं. २ को संयोजकमा खड्ग बहादुर तिम्सिना, सहसंयोजकमा प्रेम सिटौलालाई जिम्मेवारी दिइएको छ भने ३ को संयोजक पुजा खनाल, सहसंयोजकमा लक्ष्मण पाठक रहेका छन् ।

क्षेत्र नं. ४ को संयोजकमा राधाकृष्ण खनाल , सहसंयोजकमा राम बहादुर राई, क्षेत्र नं. ५ को संयोजकमा मदन अधिकारी , सहसंयोजकमा दुर्गा चौलागाईलाई जिम्मेवारी प्रदान गरिएको जिल्ला अध्यक्ष चिन्तन पाठकले जानकारी दिए ।

यस्तै बैठकबाट प्रदेश समन्वय कमिटीको जिम्मेवारी समेत बाँडफाड गरिएको छ । ५ वटै निर्वाचन क्षेत्रको क र ख दुवै क्षेत्रमा संयोजक, सहसंयोजक र सदस्य सहित कमिटीमा जिम्मेवारी बाँढिएको पार्टीका सहसंयोजक मणिकुमार साम्पाङले जानकारी दिए ।

यस्तै, संगठन विभागको प्रमुखमा पार्टीका जिल्ला अध्यक्ष चिन्तन पाठकलाई जिम्मेवारी प्रदान गरिएको प्रचार विभागका उपप्रमुख सन्तोष आचार्यले जानकारी दिए । उनका अनुसार विभागको उपप्रमुखमा मणिकुमार साम्पाङ र सदस्यहरुमा पे्रम गिरी, राजेन्द्र दाहाल, चन्द्रा श्रेष्ठ, मोहन टुडु, अरुण श्रेष्ठ र गोपाल बुढाथोकी रहेका छन् ।

त्यसैगरी बैठकले २७ विभागको प्रमुख र उपप्रमुखको नाम टुङ्गो लगाएको छ । त्यसमा ३ वटा विभागको सदस्य समेट टुङ्गो लगाएको आचार्यले जानकारी दिए । स्थानीय तहको प्रमुखमा प्रेम गिरी र उपप्रमुखमा मोहन टुढुलाई चयन गरिएको छ ।

स्कुल विभागमा प्रमुख रमेश गुरागाई र उपप्रमुखमा शिव ढुङ्गेललाई जिम्मेवारी दिइएको छ । प्रचार विभागको प्रमुखमा मणिकुमार साम्पाङ र उपप्रमुखमा सन्तोष आचार्यलाई जिम्मेवारी प्रदान गरिएको छ ।

झापाली केन्द्रीय नेताहरु राम कार्की, विदेश विभाग, उपप्रमुख नरेश खरेल, प्रदेश कमिटी सहइन्चार्ज, रबिन कोइराला जिल्ला इन्चार्ज, जिल्ला सहइन्चार्ज देबेन्द्र दाहाल ,धर्म्शिला चापागाई , हरि राजवंशी , हिक्मत कार्की युवा तथा खेलकुद फाँटको सहइन्चार्ज भएकोमा बधाई ज्ञापन गरिएको जानकारी गराइएको छ ।

बैठकले शिव ढुङ्गेललाई कार्यालय सचिवको र उपसचिवमा पुण्य प्रसाद खरेललाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष पाठकले जानकारी दिए । नेताहरुले बैठकमा प्रधानमन्त्री केपीशर्मा ओलीको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
ईजलास डटकमबाट

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ४ : ५२ बजे