१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

२५औं विश्व आदिवासी दिवस धुमधामकासाथ मनाईदै, गाैरीगंजबाट कार्यक्रममा सहभागी हुन ३ वटा बसकाे व्यवस्था


२२ श्रावण २०७६, बुधबार  

0
Shares

20190807_232742
गाैरीगंज २२, साउन / २५औं विश्व आदिवासी दिवस झापाको पाडाजुङ्गीस्थित आदिवासी रङ्गशालामा साउन २४ गते शुक्रबार धुमधाम साथ मनाइने भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापा सहित जिल्लाका १५ वटै स्थानीय तहका शाखाहरुको आयोजनामा साउन २४ गते ( ९ अगस्ट ) विश्व आदिवासी दिवस मनाउन लागिएकाे महासंघका सचिव तथा प्रचार प्रसार समितिका संयाेजक विरेन मेचेले जानकारी दिए ।

कमल गाउँपालिका वार्ड नं. ५ स्थित आदिवासी रङ्गशालामा खुल्ला सभासहित जिल्लाभरबाट आदिवासी जनजाति सम्वद्ध संघसंस्थाका अगुवा र सरोकारवालाहरुको सहभागितामा कार्यक्रम हुने मेचेले बताए । उनले भने–महासंघ जिल्ला र १५ स्थानीय तहका महासंघको साझा कार्यक्रम गर्न लागेका हौं ।

आदिवासी रङ्गशालामा हुने कार्यक्रमको लागि मन्च निर्माण कार्य भैरहेको छ भने प्रचार–प्रसार लगायत अन्य कार्यहरु अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ ।

देशभर लोकसेवा आयोगले खुलाएको असमावेशी विज्ञापन विरुद्ध आन्दोलनरत नेपाल आदिवासी जनजाति महासंघ सङ्घीय सचिवालयले भने यस वर्षको राष्ट्रिय नारा पहिचान सहितको सङ्घीयता र स्वायत्तताका लागि संविधान संशोधन हाम्रो साझा अभियान, २५औं विश्व आदिवासी दिवसको सन्दर्भमा समानुपातिक समावेशीताका लागि हाम्रो आन्दोलन तय गरेको छ ।

मुख्यमन्त्री शेरधन राई प्रमुख वक्ता

२५औं विश्व आदिवासी दिवसको प्रमुख अतिथि १ नम्बर प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई रहने महासंघ झापाले जनाएको छ ।

आदिवासी रङ्गशालाको नाम परिवर्तन गरेर मदन भन्डारी रङ्गशाला राख्ने स्थानीय र सङ्घीय सरकारको प्रयास विरुद्ध आन्दोलित हुने चेतावनी दिँदै आएको महासंघले साउन २४ को आदिवासी दिवस कार्यक्रमलाई शक्ति प्रदर्शनका रूपमा पनि लिइएको छ ।

आदिवासी रङ्गशालाको नाम परिवर्तन नगराउन दबाव दिँदै विभिन्न जातीय संस्था र पहिचान पक्षधर राजनीतिक शक्तिहरुले पनि पटक पटक आन्दोलनको चेतावनी दिँदै आएका छन् ।
साेही अवसरमा आदिवासी जनजाति महासंघ गाैरीगंजले कार्यक्रममा सहभागी हुन र भव्यसाथ मनाउन ३ वटा बसकाे व्यवस्था गरेकाे छ । आफ्नाे जातिय भेषभुषा तथा पाेशाक लगाएर कार्यक्रममा सहभागी हुन सहभागीलाई अनुराेध गरेकाे महासंघ गाैरीगंजका अध्यक्ष गंगा प्रसाद राजवंशीले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ५ : ४३ बजे