१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आठमौजा छोटी भन्सारमा दरबन्दी भएपनि कर्मचारी छैन, भन्सार नाकाको लागि जग्गाको समस्या


१९ श्रावण २०७६, आइतबार  

0
Shares

gauriganj-vansar
गौरीगंज १९, साउन / झापाको गौरीगंज गाउँपालीकामा रहेको आठमौजा छोटी भन्सार कार्यालयमा कर्मचारीहरुको दरबन्दी रहेपनि कार्यालय सहयोगीको भरमा चलेको छ ।
नेपाल सरकारले अवैध सामाग्रीहरु नेपाल भारत सीमानामा आयात निर्यात नियन्त्रण गरी राजस्व संकलन गर्ने उद्देश्यले भन्सार कार्यालय स्थापना गरेपनि माथिल्लो तहका कर्मचारी बस्तैनन् । भन्सारमा कार्यालय खोल्ने र बन्द गर्ने कार्यालय सहयोगीहरु मात्र बस्दा सोचे अनुसारको राजश्व संकलन हुन सकेको छैन ।
भारतसगै“ सीमा जोडिएको गौरीगंज गाउँपालिकाको साथै आसपासका क्षेत्रमा रहेका बजार क्षेत्रको व्यापार व्यवसायलाइ बढाउन छोटी भन्सार कार्यालयको स्तरोन्नती गर्न स्थानीयबासीहरुले माग गरिरहेका छन् । गौरीगंजको खजुरगाछीमा छोटी भन्सार कार्यालय रहेपनि गौरीगंजको वैरीया क्षेत्रमा हालसम्म भन्सार कार्यालय छैन । गौरीगंज उद्योग वाणीज्य संघको अगुवाइमा संघका अध्यक्ष मखना महतो गैदारको नेतृत्वमा हालै मेची भन्सार कार्यालय काँकडभिट्टा पुगी छोटी भन्सार कार्यालयको अवस्थाको बारेमा जानकारी गराएका थिए।
टोलीले गौरीगंज वैरीया क्षेत्रमा भन्सार घुम्ती टोली राखीनु पर्ने, ५०हजार सम्मको भन्सार काटिनुपर्ने, भारतीय नम्बर प्लेटका गाडीहरु नेपाल प्रवेश गर्दा पटके पुर्जी काट्न इजाजत दिनुपर्ने माग राखेका थिए ।
त्यसअवसरमा तत्कालीन मेची भन्सार कार्यालय काँकड्भिट्टाका प्रमुख भिम अधिकारीले त्यसका लागि भन्सार कार्यालय सकारात्मक रहेको जानकारी गराएका थिए । छोटी भन्सार कार्यालयको पुरानो भवन जीर्ण अवस्थामा छ । सोही भवनमा एकजना नासु सहित दुइजना कार्यालय सहयोगीको दरबन्दी रहेको छ ।
केही वर्ष पहिले दरबन्दी अनुसारका कर्मचारीहरु बसेर भन्सार काट्ने गरेका थिए । पछिल्लो समयमा पालै पालो कार्यालय सहयोगीहरु मात्र बस्ने गरेका छन् ।
भन्सार पुर्जी समेत काट्न नसक्ने केही कार्यालय सहयोगीहरु बस्दा राजस्व समेत घट्ने गरेको स्थानीयबासीहरु बताउँछन् ।
गौरीगंजमा छोटी भन्सार कार्यालय रहेपनि भारततर्फ भन्सार कार्यालय नरहेकाले कार्यालय सहयोगी मात्र पठाएको र आवश्यक परेमा माथिल्लो तहको कर्मचारी तुरुन्त पठाइने मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेक बहादुर अर्यालले बताए ।
भन्सारमा नियमित रुपमा कर्मचारीहरु बसेर भारतबाट नेपाल तर्फ भित्रने सामानहरुको भन्सार काट्दा व्यापार व्यवसाय समेत बढ्नुका साथै राजश्व समेत सोचे भन्दा बढि संकलनहुने स्थानीयबासीहरु बताउँछन् ।
गौरीगंज क्षेत्रमा भारतीय नम्बर प्लेटका २ चक्के र ४ चक्के सवारीका साधनहरु प्रशस्त मात्रामा आउने तर पटके पुर्जी काट्न इजाजत नहुँदा राजश्व समेत घटेको गौरीगंज उद्योग वाणीज्य संघका अध्यक्ष महतो बताउँछन् ।
गौरीगंज क्षेत्रमा भारत सँग सीमाना जोडिएका दुइवटा नाका रहेकाले दुवै नाकामा भन्सार कार्यालय राख्न आवश्यक छ । दुवै नाकामा भन्सार कार्यालय राखेमा कर छली को सम्भावना घट्नुको साथै राजश्व वृद्धि हुने अनुमान गर्न सकिन्छ ।

भन्सार नाका स्थापनाको लागि जग्गाको समस्या
आठमौजा छोटी भन्सार कार्यालयलाई स्तरोन्नति गरी नाकारुपमा स्थापित गर्न नेपाल सरकारले मन्त्रीस्तरिय बैठकबाट निर्णय भइसकेको गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ बताउँछन् । नाका बनाउन कम्तिमा १० विघा जग्गाको आवश्यकता रहेकोले जग्गाको व्यवस्थापन गर्न बस्ती नै अन्यत्रै सार्नु पर्ने देखिएकोले त्यसका लागि सबैले सहयोग गर्न अध्यक्ष श्रेष्ठले आग्रह गरे । नेपाल तर्फको भन्सार नाका खोल्न नेपाल सरकार तयार रहेकोले त्यस विषयमा भारत सरकारसंग वार्ता भइरहेको उनले बताए ।
मेची भन्सार कार्यालयका प्रमुख टेक बहादुर अर्यालले भन्सार नाकाका लागि सबै प्रक्रिया अघि बढिसकेको बताए । भन्सार नाकाका लागि आवश्यक जग्गाको व्यवस्थापनका लागि नेपाल सरकारले स्थानियहरुलाई मुआब्जा दिएर भएपनि नाका स्थापना गर्न लागि परेको बताए । स्थानिय सरकार, सरोकारवाला, संघसंस्था र स्थानियले चासो लिए भने चाडो भन्दा चाडो नाका स्थापना हुने भन्सार प्रमुख अर्यालले बताए ।
स्थानियबासीहरुले सरकारले जग्गा माग गरे मुब्जा लिएर आफुहरु जग्गा दिन तयार रहेको बताउँछन् । उनीहरुले नाका स्थापना भए गौरीगंजको मुहार फेर्ने र आर्थिक गतिविधि बढेर सरकारको राजस्व पनि संकलन हुने बताउँछन् । उनीहरुका अनुसार छोटी भन्सार भएकोले हालमा अवैधानिक तरिकाबाट लाखौंको लत्ता कपडा, तेल, लसुन, चिनीलगायतका खाद्यान्न वस्तुहरु नेपाल तर्फ भित्रिरहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ११ : ५६ बजे