६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

युवायुवतीको मोबाइलबाट गोप्य तस्विर सहितका जानकारी बटुल्दै फेसबुक


१८ माघ २०७५, शुक्रबार  

0
Shares

20190201_114636

गाैरीगंज १८, माघ /
फेसबुकले पैसा तिरेर किशोरकिशोरीको गोप्य व्यक्तिगत जानकारी सङ्कलन गरेको एउटा प्रतिवेदनले देखाएको छ। प्रविधिसम्बन्धी वेबसाइट टेकक्रन्चका अनुसार फेसबुकले गरिरहेको एउटा अध्ययनका लागि विशेषतस् १३ देखि १७ वर्ष उमेरका सहभागीहरूलाई तिनीहरूको मोबाइल फोनमार्फत् व्यक्तिगत जानकारी सङ्कलन गर्न मिल्ने बनाएबापत मासिक २० अमेरिकी डलर (लगभग २,३०० नेपाली रुपैयाँ ) तिरिएको हो।

फेसबुकले यसका लागि आईफोनमा राख्न मिल्ने एप बनाएको र त्यसले एपलको गोपनीयता संरक्षण नीतिलाई उल्लङ्घन गर्ने पाइएको छ। टेकक्रन्चले फेसबुकले युवायुवतीलाई लक्ष्य गरेर यो कार्यक्रममा सहभागी हुन सामाजिक सञ्जालमा विज्ञापन गरेको बताएको छ। फेसबुकले भने त्यस्तो आरोप अस्वीकार गरेको छ। सो एपले सहभागीहरूको मोबाइल फोनमा रहेका लगभग सबै जानकारी र डेटामा फेसबुकलाई पहुँच दिन्छ।

एप राखिएका मोबाइलमा फेसबुकले हेर्न सक्ने केही कुराहरू यस्ता छन् :

–कुराकानी गर्ने एपहरूमा भएका गोप्य सन्देश, तस्बिर र भिडिओ
– इमेलहरू
– विभिन्न वेबसाइटहरू हेरेको जानकारी
– कुन एप राखियो र कुन बेला चलाइयो भन्ने जानकारी
– मोबाइल प्रयोगकर्ताहरू पुगेका स्थान
– इन्टर्नेट प्रयोग
यसबाहेक ती युवायुवतीहरूसँग अमेजन अन्लाइनमा किनिएका सामानहरूका बारेको जानकारी समेत फेसबुकले मागेको थियो। बीबीसीले अध्ययनमा सहभागी हुनका निम्ति नाम लेखाउने वेब्पेजमा जाँदा त्यसमा सङ्कलन गरिने जानकारी फेसबुकको सुविधाहरू सुधार गर्न प्रयोग गरिने जनाइएको थियो। त्यसमा लेखिएको छ, कुनैकुनै अवस्थामा हामी गोप्य इन्टर्नेट प्रयोग र इन्क्रिप्शन गरिएका एपहरूबाट समेत जानकारी सङ्कलन गर्छौँ।

गोप्य इन्टर्नेट प्रयोग भनेको कुनै जानकारी नरहनेगरी गरिने प्रयोग हो भने इन्क्रिप्शन गरिएका भाइबर वा ह्वाट्सएप कुराकानीहरू अरूले हेर्दा पढ्न मिल्दैन। त्यसमा सहभागीले तेस्रो पक्षलाई सो अध्ययनका बारेमा जानकारी दिन नपाउनेु नियम मान्नुपर्ने बताइएको छ।

सामाजिक सञ्जाल फेसबुकले भने अध्ययनमा सहभागी सबैको सहमति लिइएको र बजार अध्ययन मात्रै गरिएको बताएको छ। यद्यपि टेकक्रन्चले समाचार लेखेको केही घण्टापछि फेसबुकले एपलका प्रयोगकर्ताहरूलागि अध्ययन कार्यक्रम अन्त्य गर्‍यो। तर एन्ड्रोइड भएका मोबाइल फोनहरूमा यो यथावत‍ छ।

सो अध्ययन १३ देखि ३५ वर्षको उमेर समूहका लागि लक्षित गरिएको थियो र १८ वर्षभन्दा कम उमेरका सहभागीका लागि अभिभावकको लिखित सहमति मागिएको फेसबुकले बताएको छ। तर बीबीसीले १४ वर्षीय बालकका रूपमा परिचय दिएर सहभागी हुन खोज्दा अभिभावकको सहमति लिनु पर्ने प्रावधान पालना नगरीकनै नै एप डाउनलोड भएको थियो। एउटा पानामा भने प्रयोगकर्ता १८ वर्षभन्दा माथि उमेरको हुनुपर्ने उल्लेख थियो।

एक वक्तव्यमा फेसबुकले टेकक्रन्चले त्यस्तो सर्वेक्षण कार्यक्रमलाई गरको व्याख्या सही नभएको बताएको छ। बजार अध्ययनका मूल तथ्यहरू छोडिएका छन्, एक प्रवक्ताले इमेलमा बताए। यसको सम्बन्धमा केही पनि गोप्य छैन, यसलाई फेसबुक अध्ययन एप भनिएको छ। यो जासुसी होइन किनभने सहभागीहरूलाई पारदर्शी प्रक्रियाबाट सहभागी गराइएको थियो र उनीहरूलाई यसमा सहभागी भएबापत पैसा दिइएको थियो ।

कुल सहभागी मध्ये पाँच प्रतिशत १३ देखि १८ वर्षका थिए र उनीहरू सबैले अभिभावकको सहमति पत्र दिएका थिए । बीबीसीले अभिभावकको सहमतिपत्र कसरी लिइयो भन्ने प्रश्न गर्दा फेसबुकले तेस्रो पक्षमार्फत् लिइएको मात्रै बतायो। यो समाचार बीबीसी नेपाली सेवामा छ ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार  ६ : ०२ बजे