काठमाडौं २३, मंसिर / महेन्द्र राजमार्गभन्दा पहिले प्रचलनमा रहेको मार्ग हो, हुलाकी सडक । तराईमा हुलाकीहरुले चिठ्ठी ओसरपसार गर्न प्रयोग गर्ने यो सडकलाई राजमार्गको रुपमा विकास गर्न २८ वर्षअघिबाट बनाउन सुरु गरिएको हुलाकी सडक अझै अन्योलको भुमरीमा छ ।
तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणका क्रममा सो यो राजामर्ग निर्माण गर्ने घोषणा गरेका थिए । त्यसको १४ वर्षपछि ०६१ सालमा दुई देशबीच निर्माणको लागि औपचारिक सम्झौता भयो । तर, राजमार्ग निर्माणले अझैसम्म गति लिन सकेको छैन ।
‘भारतले बनाइदिन्छ’ भनेर बस्दा बस्दै वर्षाैं बितेपछि सरकार आफैंले काम थालेको यो राजमार्गमा अझै पनि कामको गति पुरानै अवस्थामा छ । २८ वर्षमा यो राजमार्गको १ सय २८ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ । यो राजमार्ग १७९२.२५ किलोमिटर हो ।
पूर्वपश्चिम खण्ड ९७५ किलोमिटरको छ भने महेन्द्र राजमार्गसाग जोड्ने सहायक खण्ड र सडकहरु ८१७ किलोमिटरका छन् ।
यो राजमार्गको प्रथम चरण अन्तरगतका १७ सडकमध्ये १० वटा खण्डमा भारत सरकारले काम गरिरहेको छ । जसको लम्बाइ २१८ किलोािटर छ । १७ मध्ये ७ खण्डमा नेपाल सरकारले काम गरिरहेको छ । नेपाल सरकारले २१८ किलोमिटर खण्डमा काम गर्दैछ ।
दोस्रो चरणमा ४३७ किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको छ । ५ सय४४ किलोमिटर खण्डमा काम नै सुरु भएको छैन ।
अहिलेसम्म बसन्ता जंगलको सेक्न बाहेक लम्की-टिकाकपुर-धनगढी, लमही-कोइलाबास, चारआली-केचना, भद्रपुर-राजगढ, जितपुर-तौलिहवा, नवलपुर-मलंगवा, कदमचोक-कपतौल र गितानगर-घान्द्रुक गरी १२८ कलिोमिटरको मात्रै कालोपत्रे भएको कुलाकी राजमार्ग आयोजनाका प्रमुख अशोक तिवारीले जानकारी दिए ।
अन्य खण्डहरु वर्षमा हिलाम्ये र वर्षमा धुलाम्य हुने गरेका छन् । जसका कारण अलपत्र सडक आसपासका जनतालाई सास्ती त भएको छ नै, राजमार्ग भएर आवातजावत गर्दा ज्यानकै जोखिम मोल्नुपर्ने बाध्यता उत्पन्न भएको छ ।
भारत सरकारले जिम्मा लिएका खण्डमा अझै पनि काम सुस्त नै छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ अबाको ४ वर्षमा यो राजमार्ग निर्माणको काम जसरी पनि सक्ने बताउँछन् ।
‘विगतमा के भयो भन्ने हामी जान्दैनौं , तर अब आयोजनाले गति लिन्छ,’ महासेठको दावी छ,’प्रधानमन्त्रीज्युको पनि त्यही निर्देशन छ, हामी आगामी आम चुनावअघि यो राजमार्गलाई निर्माण गरिसक्छौं ।’
उनले वर्षौंअघि गरिएको स्टिमेट अनुसार आयोजनाको निर्माण सक्न ४७ अर्ब अनुमान थियो । अब त्यति लागतमा आयोजना बन्ने अवस्था नरहेको उनले दावी गरे ।
‘अब त ५५-६० अर्ब नै लाग्छ होला,’ उनले भने,’अर्थ मन्त्रालयले काम गर्नुस्, स्रोत हामी जुटाउँछौं भनेको छ । त्यसैले यो आयोजनामा पैसाको अभाव हुँदैन ।’
हुलाकी सडकका लागि भारतले ८ अर्ब रुपैयाँ खर्चँदैछ । बाँकी रकम नेपाल सरकारले आन्तरिक श्रोतबाटै खर्चिने योजना बनाएको छ ।
हुलाकी सडकमा २१९ वटा पुल पनि निर्माण गर्नुपर्नेछ । तर, जम्मा ७५ वटा पुल बनेका छन् । ८४ वटा पुल निर्माणधीन छन् भने ६० वटा पुल निर्माणको काम नै सुरु भएको छैन ।
भारतीय अनुदानमा बनिरहेको हुलाकी राजमार्गका अधिकांश सडकको निर्माणमा खासै प्रगति छैन । वीगञ्ज-ठोरी जस्तो महत्वपूर्ण खण्डमा पनि जम्मा ८ प्रतिशत काम भएको छ । तामागढी-सिम्रौनगढ सडकको प्रगति ११ प्रतिशत मात्रै छ ।
जलेश्वर-हर्दी नदी सडक १५ प्रतिशत मात्रै काम भएको छ । नेपाल सरकारले निर्माण गरिरहेका खण्ड र सडकहरु कुनैको प्रगति सन्तोषजनक छ भने कुनै खण्डमा काम नै हुन सकेको छैन ।
फुलजोर-बलयबास-त्रिभुवननगर सडकमा १० प्रतिशत मात्रै काम भएको छ । गढीमाई बरियारपुर-कोहल्वी सडकमा १० प्रतिशत मात्रै प्रगति भएको छ ।
हुलाकी सडक आयोजना अन्तरगतका ४०७ किलोमिटर खण्डमा ठेक्का लगाउनै बाँकी छ । यो खण्डमा ठेक्का लगाएर काम सम्पन्न गर्न २८ अर्ब ६१ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।
तराई-मधेसमा हाल सुचारु रहेको पूर्वपश्चिम राजमार्गभन्दा दक्षिणतर्फ भारतीय सीमाना आसपास हुँदै परिकल्पना गरिएको अर्को सडक सञ्जालको नाम हो हुलाकी राजमार्ग ।
मधेसी नेता एवं जनसमुदायले यो मार्गको विकासलाई अत्यन्तै महत्व दिँदै आएका छन् । यो मार्ग उनीहरुको दैनिक जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको छ ।
तत्कालीन राजा महेन्द्रले पूर्व-पश्चिम राजमार्ग बनाउन सुरु गर्दा तत्कालीन मधेसवादी नेता तथा जनताले यही हुलाकी राजमार्गलाई पूर्व-पश्चिम राजमार्गको रुप दिन माग गरेका थिए ।
तर, महेन्द्रले त्योभन्दा माथि पहाडको फेद एवं चुरे क्षेत्रलाई छुने गरी पूर्व-पश्चिम राजमार्गको निर्माण गराए । निर्माण सुरु भएको झण्डै ३ दशकमा पनि यो आयोजना अझै समस्यामा अल्झिएको छ ।
हुलाकी राजमार्गले तराईका १७ जिल्लालाई छुन्छ । पहाडबाट तराईसम्म खनिएका फेडर रोडलाई पूर्व-पश्चिम महेन्द्र राजमार्ग हुँदै हुलाकी राजमार्गमा जोड्ने गरी काम हुँदैछ । तीन वर्षमा पहिलो चरणको काम सक्ने गरी सरकारले काम सुरु गरेको थियो ।