३० माघ २०८२, बिहिबार | Fri Feb 13 2026

गाैरादहकाे बैरातीमा सामुहिक हुक्काहुक्की


१८ कार्तिक २०७५, आइतबार  

0
Shares

20181104_170318

गाैरीगंज १८, कार्तिक / पूर्वका राजवंशी,ताजपुरिया, गन्गाई लगायतका आदिवासी समुदायहरुले धुमधामसंग सामूहिक हुक्काहुक्की खेल आयोजना गरेर मनाएका छन् । परम्परागत रुपमा मनाउँदै आएको हुक्काहुक्की खेल दादो दादी भनेर दिवंगत हजुरबा हजुरआमालाई सम्झिदै मनाएका हुन् । झापाकाे गाैरादह नगरपालिका वार्ड नं ८ बैरातीमा अाज बृहत् हुक्का हुक्की कार्यक्रमकाे अायाेजना गरि सामुहिक अाैसीया पावनी ( शुकरात) हुक्काहुक्की मनाएकाे हाे । काेचिला गाभुर फ्रन्ट गाैरादह नगर उपसमितिकाे अायाेजनामा भएकाे कार्यक्रम काे प्रमुख अतिथि गाैरादह नगरपालिकाका मेयर राेहित कुमार साह थिए ।
हुक्काहुक्की मनाउन पूर्वका राजवंशी, कोच, ताजपुरिया, ऋषिदेव, माझी,गन्गाई समुदायमा त्यस किसिमको सांस्कृतिक खेलहरु सामूहिक रुपमा आयोजना गरिदै आएको छ । दादो दादी हुक्का दे भन्दै सुन्ठीमा आगो बालेर आकाशतिर फाल्ने खेल हुक्का हुक्की विशेषत लक्ष्मीपूजाको दिन साँझमा खेल्ने गरिन्छ ।

दिवंगत पितृहरुलाई ‘हामीले तिमीलाई सम्झिएका छौं हामीलाई आशीर्वाद देउ’ भनी आशीर्वाद माग्दै हुक्काहुक्की खेल्ने परम्परा रहेको झापा गाैरादहका काेचिला समुदायका अगुवा रघुनाथ राजवंशी बताउछन् । उनले आदिवासी समुदाय वाहुल क्षेत्रमा यो खेल सामूहिक रुपमा खेलेर मनाईएको बताए । उनले भने ,–‘ यस खेल अन्य खेलहरु भन्दा सांस्कृतिक रुपमा भिन्न छ ,हामीले यहाँ वर्षेनी यसको संरक्षण गरिआएका छौ ।’लक्ष्मी पूजाको विहानै आ–आफ्नो धान खेतमा गई ‘ लोकेर धान आउल बाउल हामार धान दुधेर चाउल, लोकेर धान हेकाबेका हामार धान दुधेर टेका सोरा सोरा’ र अरु भन्दा हाम्रो धान राम्रो फलोस, अरुको धान भन्दा हाम्रो धान दुधको जस्तो होस भन्दै आर्शिवाद माग्ने गर्छन् । खेतबाट इलुवा (एकप्रकारको घाँस) घरमा ल्याएर सुन्ठीलाई बाधेर हुक्का बनाउने गरिन्छ । घरको देवता र महाराजथानमा हुक्का चढाएर देवतासँग घरका सबै सदस्यलाई वर्षभरि निरोगी र सुख सयलमा राख्नु भन्दै आर्शिवाद लिने चलन छ ।

साँझपख सामूहिक रुपमा हुक्कामा आगो सल्काएर हुक्का हुक्की खेल खेल्ने र हुक्का हुक्की खेल खेलिसकेपछि मान्यजनहरुबाट आर्शिवाद लिई प्रसादको रुपमा पिठ्ठ (चामलको पिठोले बनाएको एक परिकार ) खाने चलन रहेको छ ।
सोही अवसरमा काेचिला गाभुर फ्रन्ट गौरादह उपसमिति हुकाहुकी खेल तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । काेचिला गाभुर फ्रन्ट गाैरादह नगर उप समितिका अध्यक्ष तुलसी प्रसाद राजवंशीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा गाैरादह नगरपालिकाका उपमेयर गिता भेटवाल, नेपाली कांग्रेस महासमिति सदस्य फुलबति राजवंशी, काेचिला शिक्षक फ्रन्टका केन्द्रीय अध्यक्ष कुबेर राजवंशीले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्थानिय गायक तथा कलाकारहरूले अादिवासी समुदायकाे सन्देश मुलक नाटक, गीत तथा सांस्कृतिक नित्य प्रस्तुत गरेका थिए

प्रकाशित मिति : १८ कार्तिक २०७५, आइतबार  २ : ०० बजे