३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

भदाैदेखि नै धान काट्न शुरू


२१ भाद्र २०७५, बिहिबार  

0
Shares

dhan_2

विष्णुप्रसाद पोखरेल

दमक २१ , भदाै / झापामा वर्षेधान भदौमा नै काट्न सुरु गरिएको छ । सामान्यतया वर्षे धान कातिक, मङ्सिरमा मात्र काटिँदै आएकोमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत धान सुपरजोनमा भने अहिले किसानलाई धान काट्न चटारो पर्न थालेको छ ।
धान सुपरजोन क्षेत्र घोषणा भएका किसानहरूले धान दुई बाली मात्र नभएर तीन बालीसम्म रोप्न सकिने अवस्था देख्न थालेको बताएका छन् । यदि धान तीन बाली लगाएको अवस्थामा यो देशमा नै एउटा नयाँ कृषिको अध्याय सुरु हुने किसान अगुवाहरू बताउँछन् । अगुवा किसानसमेत रहनुभएका धान सुपरजोन सञ्चालक समितिका सहसचिव कन्यैलाल गणेशले यहाँ धानको तीन बाली लगाउन सकिने अवस्था आफूहरूले पाएको बताउनुभयो ।
भदौको पहिलो सातासम्म यहाँ किसानले गहिरो खेतमा खसिया बनाएर रोपेको स्मरण गर्दै आफूले डल्ले पुसा जातको धान भदौ १५ मा नै काटेकाले फेरि त्यो खेतमा धान लगाउने अवस्था देखेको बताउनुभयो । एकसाताअघि मैले धान रोपेको भए अर्को बाली लगाउने सकिने अहिले महसुस भएको छ गणेशले भन्नुभयो । उहाँले खेतमा दुई बाली धान र एक बाली बेमौसमी खेती गर्दै आउनुभएको छ । अब धान काटेको खेतमा मकै लगाउने बताउनुभयो ।
धान सुपरजोन प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिनाका अनुसार वर्षे धान बाली कटानी सुरु भएको हो । जेठ महिनामा रोपिएको धान किसानले काट्न थालेको उहाँले जनाउनुभयो । डल्ले पुसा जातको धान रोपेको ९० दिनमा नै पाक्ने भएकाले यो तयार भएर काटेको तिम्सिनाले बताउनुभयो । यसले यहाँका किसानलाई हौसला मिलेको उहाँको भनाइ छ ।

सघीनीकृत धान उत्पादन प्रणाली (एसआरआई)अन्तर्गत बीउ राखेको १५ दिनमा एक÷एकवटा बेर्ना लाइन मिलाएर रोपिन्छ । मेसिन नै प्रयोग गरेर गोडमेलसमेत गरिएको तिम्सिनाले बताउनुभयो । परम्परागत रूपमा गरिएको भन्दा यसबाट धेरै आम्दानी लिन सकिने तिम्सिनाको भनाइ छ । आधुनिक प्रविधिको प्रयोग गरेर रोपिएको धानले उत्पादन बढ्ने र लागत कम हुने भएकाले तीन बाली धान लगाउँदा किसानले राम्रो आम्दानी लिन सक्छन् तिम्सिनाको भनाइ छ ।
यसैगरी हर्दिनाथ १, सुख्खा ३ कटानीका लागि तयारीमा रहेको तिम्सिनाले बताउनुभयो । उहाँले यस क्षेत्रमा तीन बाली धान लगाउन सकिने अवस्था देखेको र आउँदो वर्ष यसलाई प्रयोगमा ल्याउने जनाउनुभयो । हामीले धानलाई नै तीन बाली लगाउन सकिने अवस्था देखका छौँ, अब आउँदो वर्ष यो कार्यक्रम पनि गर्ने सोच पलाएको छ, वरिष्ठ कृषि विकास अधिकृत तिम्सिनाले भन्नुभयो ।
धान सुपरजोन सञ्चालक समिति अध्यक्ष नवराज भट्टराईले यस क्षेत्रमा धानमा नयाँ क्रान्ति नै देखिन थालेको बताउनुभयो । उहाँले किसानले दुई बाली लगाइरहेको अवस्थामा तीन बाली लगाउन सकिन्छ भन्ने बहस सुरु भएको उहाँले जनाउनुभयो । सौर्य सिँचाइका कारण पानीको अभाव नहुने स्थानमा तीन बाली धान लगाउन सकिने उहाँले बताउनुभयो । सुपरजोनमा सौर्य पम्पलाई प्राथमिकता दिइएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७५, बिहिबार  ८ : १९ बजे