४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

थारू अान्दोलन नराेकिने : लेखी


१६ भाद्र २०७५, शनिबार  

0
Shares

FB_IMG_1535815118643
बिर्तामोड१६, भदौ / थारु नेता राजकुमार लेखीले राजनीतिक प्रतिशोधका आधारमा दुईचार वर्ष थुनामा राख्दैमा थारुहरुको आन्दोलन नसकिने बताएका छन् ।

कैलाली टीकापुरको घटनामा संलग्नहरुलाई सरकारले बन्दी बनाएर राखेकोमा उनले घोर आपत्ति जनाउँदै जस्तै चेतावनी दिएका हुन् । थारु कल्याणकारीणी सभा झापाको ११औं जिल्ला अधिवेशनको आज बिर्तामोडमा उद्घाटन गर्दै थारु कल्याणकारीणी सभाका पूर्व महामन्त्री लेखीले भने– ‘थारुहरु सधैंभरि कसैको राजनीतिक दास बन्न तयार छैनन्, उपनिवेश पनि बन्दैनन् । नेपाल आदिबासी जनजाति महासंघका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका लेखीले वर्तमान शासकहरुले आदिवासी जनजातिका अधिकारहरुलाई चुस्ने गरेको आरोप लगाउँदै थारुहरुमाथि लगाएको मुद्दा फुकुवा गर्न माग गरे । आदिवासीहरुले आफ्नो अधिकार प्राप्तिका लागि आन्दोलन जारी राखेको उनको भनाइ थियो ।

थारु आन्दोलनका क्रममा २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको विद्रोहमा एक बालक र सात सुरक्षाकर्मी गरी आठ जनाको मृत्यु भएको थियो । त्यसमा संलग्न लक्ष्मण चौधरी, रेशम चौधरी, लाहुराम चौधरी लगायत २६ जनालाई प्रहरीले पक्राउ गरी हालसम्म थुनामा राखेकोे छ । त्यस्तै दुई सय जना माथि मुद्दा लगाइएको छ ।

कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष जयराम पञ्जियार, केन्द्रीय सदस्यहरु हरिनारायण चौधरी, वीरेन्द्र चौधरी, कृष्णमाया चौधरी, पूर्व केन्द्रीय सदस्य श्रीप्रसाद चौधरीले बहुसंख्यक भएर पनि थारुहरुले हक अधिकार पाउन नसकेको गुनासो गरे । थारु कल्याणकारीणी सभाका जिल्ला अध्यक्ष पुष्पलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारु कल्याणकारीणी सभा दमकका अध्यक्ष तेजनारायण चौधरी,क्षेत्रीय अध्यक्ष रामनारायण चौधरी, बिर्तामोड नगरपालिकाका कार्यपालिका सदस्य सुरेन राजवंशी, मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य कुसुम चौधरी, धिमाल जाति विकास केन्द्रका क्षेत्रीय अध्यक्ष नरेशमान धिमाल, पत्रकार इन्द्रसिंह राजवंशीले पनि बोलेका थिए ।

कार्यक्रममा जिल्ला अध्यक्ष पुष्पलाल चौधरीले प्रतिवेदन प्रस्तुत गर्दै थारु कल्याणकारिणी सभाको कार्यालय भवन बनाउने लक्ष्य रहेको बताए । उनले थारु सहकारी खोल्ने र एम्बुलेन्स सञ्चालन गर्ने योजना रहेको पनि सुनाए । जिल्ला सचिव हरि चौधरीको स्वागत र सहसचिव लव चौधरीको संचालन रहेको कार्यक्रममा गीत नृत्य, कविता र क्याटवाक प्रस्तुत गरिएको थियो ।

आइतबार सम्पन्न हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । अधिवेशनले पुष्पलाल चौधरीलाई पुनः अध्यक्षमा निर्वाचित गर्ने सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७५, शनिबार  ३ : २४ बजे