३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

विश्वकप उद्घाटन समारोह र म्याच : कति बजेदेखि? कुन च्यानलमा हेर्ने?


३१ जेष्ठ २०७५, बिहिबार  

0
Shares

fifa2 - Copy

काठमाडौँ/ विश्वले सर्वाधिक रुचाउने खेल फुटबलको महाकुम्भ विश्वकप फुटबलको ज्वरो आजदेखि उत्कर्षमा पुग्ने क्रम सुरु हुँदैछ। विश्वकप फुटबल प्रतियोगिताको सुरुवात आजदेखि हुँदैछ। एक महिना लामो प्रतियोगिताका लागि विश्वभरका फुटबल प्रशंसकहरु तयार भई बसेका छन्।
कति बजेदेखि सुरु हुन्छ?
आजको उद्घाटन खेल रसिया र साउदी अरेबियाबीच हुँदैछ। खेल नेपाली समय अनुसार राति पौने ९ बजे (८:४५) मा सुरु हुनेछ। त्यसभन्दा दुई घण्टाअघि उद्घाटन समारोह हुनेछ। अर्थात् नेपाली समय अनुसार पौने ७ बजे (६:४५) देखि उद्घाटन समारोह हुनेछ।

उद्घाटन समारोहमा करिब ५ सयको संख्यामा नर्तक, जिम्न्यास्ट र ट्राम्पोलिनिस्टहरुले विश्वलाई स्वागत गर्नेछन्। उद्घाटन समारोहमा प्रदर्शन गर्नेहरुमा रुसी कलाकार आइडा गारिफुल्लिना, अंग्रेज कलाकार रब्बी विलियम्स, विल स्मिथ, निक ज्याम आदि रहेका छन्। ब्राजिली स्टार रोनाल्डो पनि उद्घाटन समारोहमा देखिनेछन्। बलिउड स्टारमा वरुण धवन र ऋतिक रोशन देखिँदैछन्। ८० हजारको संख्यामा फुटबल फ्यानहरु स्टेडियममा उपस्थित हुनेछन्।
कुन च्यानलमा हेर्ने?
फिफाद्वारा प्रकाशित आधिकारिक मिडिया राइट्स होल्डरको सूचीमा नेपालसहित दक्षिण एसियाका देशहरुमा आधिकारिक प्रसारण संस्था सोनी पिक्चर्स नेटवर्क इन्डिया रहेको छ। सोनीले आफ्नो टेन २ र टेन २ एचडीमा अंग्रेजी भाषामा कमेन्ट्रीसहित विश्वकप खेलहरुको प्रत्यक्ष प्रसारण गर्दैछ। सोनी टेन ३ र टेन थ्री एचडीमा भने हिन्दी भाषामा कमेन्ट्रीसहित प्रत्यक्ष प्रसारण हुनेछ।
चार वटा नेपाली च्यानलमा पनि
फिफाले आधिकारिक रुपमा सार्वजनिक गरेको प्रसारण संस्थाहरुमा उल्लेख नभए पनि मिडिया हबका अनुसार प्रसारण अधिकार किनेर चार वटा नेपाली च्यानलमा पनि विश्वकप फुटबल प्रतियोगिताको लाइभ प्रसारण गरिँदैछ।

चार वटा च्यानलमध्ये स्याटेलाइट र केबल टिभी बिना सामान्य एन्टिनाले समेत हेर्न सकिने गरी राष्ट्रिय प्रसारण संस्था नेपाल टेलिभिजनमा विश्वकप फुटबल हेर्न सकिनेछ। त्यसैगरी नेपाल टेलिभिजनकै अर्को च्यानल एनटिभी प्लसमा पनि विश्वकप लाइभ हेर्न सकिनेछ।

निजी टेलिभिजन च्यानल कान्तिपुर टेलिभिजनमा एचडीमा विश्वकप लाइभ प्रसारण हुनेछ। त्यसैगरी नेपालको एकमात्र डिटिएच डिसहोमको आफ्नै च्यानल एक्सन स्पोर्टस एचडीमा पनि नेपाली भाषामा कमेन्ट्रीसहित विश्वकप फुटबल लाइभ हेर्न सकिनेछ।

नेपाली च्यानलहरुमा विश्वकप उद्घाटन समारोह प्रत्यक्ष प्रसारण हुने/नहुने प्रष्ट छैन।

नेपालसहित दक्षिण एसियाली देशका लागि विश्वकप उद्घाटन समारोह स्याटेलाइट च्यानलहरु सोनी टेन १, सोनी टेन ३ र सोनी इएसपिएनमा साँझ ६ बजेर १५ मिनेटदेखि हेर्न सकिनेछ।

फिफाका अनुसार नेपालको इन्टरनेट, मोबाइल र रेडियोमा प्रसारण अधिकार समेत सोनी पिक्चर्स नेटवर्क इन्डियाले किनेको छ। सोनीको आधिकारिक वेबसाइट तथा एप सोनी लिभमार्फत् मोबाइल र इन्टरनेटमा विश्वकप उद्घाटन समारोह र म्याचहरुको प्रत्यक्ष प्रसारण हुनेछ। यद्यपि नेपालमा कन्टेन्ट देखाउने कि नदेखाउने भन्ने अधिकार सोनी पिक्चर्स नेटवर्कसँग नै रहनेछ। उसले आफ्नो विज्ञापन र लक्षित दर्शकलाई विचार गरी आफ्नो कन्टेन्ट भारतमा मात्र देखिने बनाउन पनि सक्छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७५, बिहिबार  ११ : २२ बजे