३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

देब्रेहाते बलिङबाट चम्किएका विराटनगरका ललित राजव‌ंशी विश्वकपको छनौट खेल्ने राष्ट्रिय टोलीमा परे


८ फाल्गुन २०७४, मंगलबार  

0
Shares

Criket-Lalit
विराटनगर ८, फागुन / उनले क्रिकेट खेल्दा बुबाआमालाई लाग्थ्यो छोरो अब बिग्रियो । सानैदेखि छोरो चिन्ताले सताएको आमा–बुबाले बल्ल सुखको सास फेर्न पाएका छन् । घरको काम छाडेर क्रिकेट खेल्न कुद्ने छोरो ललितनारायण राजवंशी राष्ट्रिय टोलीमा छनोट भएपछि आमाबुबाले खुशीको सास फेर्न पाएका हुन् । छोराको नाम जिम्बावेमा अर्काे महिना हुने बल्र्डकप क्वालिफायर खेल्ने खेलाडीको सूचिमा अटाएपछि बुबाआमा खुसी भएका छन् ।

अन्डर १९ क्रिकेट प्रतियोगिता हुँदै सिनियर राष्ट्रिय टिममा स्थान बनाएका ललितको क्रिकेट यात्रा सहज भने छैन । गुरुकुल माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा अध्ययन सुरु गरेका ललितले घरबाट कहिलै क्रिकेट खेल्ने हौसला पाएनन् । किनकि बुबाआमालाई लाग्थ्यो खेलेर भबिष्य बन्दैन भनेर । तर ललितले पछि फर्केर हेर्नु परेन । २६ को उमेरमा उनी राष्ट्रिय टोलीका लागि छनोट भएका छन् ।

सामान्य परिवारमा हुर्किएका ललितका बुबा जयनारायण जनमजदुरी गर्थे । अशोक टेक्टाइलमा लामो समय काम गरेका जयनारायणको कान्छो छोरा हुन ललित ।

विराटनगर–१४ जतुवा घर भएका राजवंशीले सन २०१५ मा मेलेसियामा भएको अन्डर १९ वर्ल्डकप छनोट प्रतियोगितामा नेपाललाई बिजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । देब्रेहाते बलर ललितले आयरल्याण्ड विरुद्धको फाइनल खेलमा उत्कृष्ठ प्रदर्शन गरेका थिए ।

अन्डर १९ मा नेपालको प्रतिनिधित्व गर्दै खेलेका ललितले राष्ट्रिय टोलीमा स्थान बनाएपछि परिवारमा खुशी छाएको छ । ‘पहिले क्रिकेट मात्र खेल्थ्यो काम गर्दैन थियो ।’ आमा सुभकुमारीदेवी राजवंशीले भनिन्– पढ्नमा भन्दा बढी क्रिकेट खेल्न जान्थ्यो ।

राष्ट्रिय टोलीमा स्थान बनाएका ललितले कहिलै घरमा क्रिकेट खेल्ने बातावरण पाएनन् । उनी परिवारको सहयोग विना नै निरन्तर लागिरहे । ललितका दाजु रामकिशोर भाइले अभावकै बीचमा क्रिकेट खेलेको बताउँछन् । ‘परिवारको सपोर्ट थिएन ।’ उनी भन्छन– जति कराएपनि सुुन्दैन थियो । आज देशको लागि खेल्ने भएको छ ।

भाइ राष्ट्रिय टीमका लागि विश्वकप क्वालीफायर खेल्ने लिस्टमा परेपछि खुशी लागेको उनी बताउँछन् । ‘पहिले काम नगरी खेल्न जाँदा रिस उठ्थ्यो तर अहिले देशको लागि खेल्दैछ भन्दा खुशी लाग्छ’ –उनले भने ।

सानैदेखि क्रिकेट खेल्ने ललित स्कुल छुट्टी हुँदा पनि घर नगई साथीहरुसँग स्कुलमा क्रिकेट खेलेर बस्थे । ‘सबै विद्यार्थी घर जादा उ क्रिकेट खेलेर स्कुलमै हुन्थ्यो ।’ गुरुकुल माविका शिक्षक (हाल प्रधानाध्यापक) हरि ढुङ्गाना भन्छन् ‘घर जाऊ भन्दा प्लीज सर एकछिन खेल्न दिनुहोस न भन्थ्यो ।’

ललितका सहपाठीहरु देब्रेहाते स्पीनर भएकै कारण अन्डर १९ हुँदै राष्ट्रिय टोलीमा अटाएको बताउँछन् । क्रिकेट खेलाडी दिपक दुसाद ललित उत्कृष्ठ बलिङ गर्ने खेलाडीको सूचिमा पर्छन् भन्छन् ।

राष्ट्रिय टोलीमा अटाएका उनले केही समय अघिसम्म पूर्वाञ्चल एकेडेमीबाट क्रिकेट खेलेका थिए । अन्डर १९ मा उत्कृष्ठ प्रदर्शन गरेपछि क्रिकेटरको रुपमा चिनिएका उनले एभरेष्ट प्रिमियर लिग र धनगडी प्रिमियर लिगपनि खेलिसकेका छन् । राजवंशी नेपाल पुलिसका जागिरे पनि हुन् । क्रिकेट खेलकै लागि उनी प्रहरीमा भर्ति भएका हुन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलबार  ११ : ४५ बजे