३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

कर बृद्धिको विरोध


२५ पुस २०७४, मंगलबार  

0
Shares

note1

बिर्तामोड /
बाह्रदशी गाउँपालिकाले गाउँवासीको क्षमताभन्दा धेरै कर तथा दस्तुर निर्धारण गरेको भन्दै नेपाली कांग्रेस बाह्रदशी गाउँपालिकाले विरोधसहित ज्ञापनपत्र बुझाएको छ ।

बाह्रदशी गाउँपालिकाका संयोजक ओमप्रकाश गौतम नेतृत्वको टोलीले गाउँपालिकाले नयाँ निर्धारण गरेको कर तथा दस्तुरलाई यथाशीध्र खारेज गरी साविकको दररेटमा असुल उपर गराउन माग समेत गरेको छ । टोलीले सात दिनभित्र निर्णय सच्याउनुपर्ने माग गर्दै गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा बृद्धि भएका करलाई तत्काल सच्याइ साविक बमोजिम कायम गरिनुपर्ने, जनप्रतिनिधिको भत्ता लगायतका सेवा सुविधा गाउँपालिकाको स्रोतलाई मध्यनजर राखी कायम गरिनुपर्ने, विकास निर्माणका योजनाहरु निर्माणका लागि उपभोक्ता समिति गठन गर्दा योजना स्थल आसपासका उपभोक्ताहरुको उपस्थिति गराई सर्वदलीय स्वरुपको बनाउनुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै गाउँपालिकाले स्थानीय नियमावली बनाउँदा गाउँपालिका सञ्चालन बाहेक अन्य जनसरोकारका विषयमा जनस्तरमा अन्तरक्रिया गराई आएको रायसुझाव बमोजिम गर्नुपने, चालू बर्षको विकास निर्माणका योजनाहरु छनौट गर्दा जनस्तरसँग सरोकार नराखी निर्वाचित वडाका जनप्रतिनिधिहरुले एकलौटी छनौट गरेको हुँदा आगामी बर्षका योजना छनौट गर्दा सर्वदलीय समितिमार्फत बनाउन माग गरिएको छ ।

त्यस्तै जनताले अतिआवश्यकीय कामका लागि ०७४ माघ १ बाट तिरेका बढी हुन आउने रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुपर्ने र सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई बैंकिङ प्रक्रियाबाट भुक्तानी दिने व्यवस्था मिलाउनुपर्ने ज्ञापनपत्रमा माग गरिएको छ ।

गाउँपालिका अध्यक्ष राजवंशीलाई बुझाइएको ज्ञापनपत्रको बोधार्थ जिल्ला समन्वय समिति झापा र जिल्ला प्रशासन कार्यालयलाई समेत बुझाइने आदिवासी जनजाति महाधिवेशन प्रतिनिधि दिलकुमार नेम्वाङले बताए । यता गाउँपालिका अध्यक्ष राजवंशीले गाउँपरिषद्को निर्णयबाट शुल्क बढाइएको बताएका छन् ।

प्रकाशित मिति : २५ पुस २०७४, मंगलबार  १२ : १६ बजे