२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

राजेन्द्र महतो भन्छन्, ‘फोरमसँग छिट्टै पार्टी एकता’


१२ पुस २०७४, बुधबार  

0
Shares

mahato
काठमाडौँ / राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपालबीच तत्काल पार्टी एकता हुने दाबी गरेका छन् ।
रिपोर्टर्स क्लबले बुधबार गरेको साक्षात्कारमा बोल्दै नेता महतोले तत्काल फोरमसँग एकता प्रक्रिया सुरु गर्ने बताएका हुन् । ‘राजपा र फोरमबीच एकता हुन्छ, यसमा कुनै दुई मत छैन, कुरा मिलेको दिन एकता हुन्छ’, उनले भने ‘अहिलेको जनमत पनि दुई वटा पार्टी एकताको लागि नै हो, एकता अहिले हाम्रो प्राथमिकतामा छ।’
उनले ६ वटा पार्टी मिलेर राजपा बनाएको उल्लेख गर्दै अब फोरमसँग पनि एकता हुनेमा शंका नगर्न आग्रह गरे । त्यस्तै २ नम्बर प्रदेशमा राजपा र फोरम गठबन्धनको सरकार बनाउने उनले बताए ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी नेता महतोले निर्वाचनपछि आफूहरुको राजनीतिक केन्द्रविन्दु र एजेण्डाको केन्द्रविन्दुमा संविधान संशोधन रहेको सुनाए । उनले आफूहरुको ध्यान सरकार बनाउनेतिर नभएको समेत जिकिर गरे । ‘केन्द्रीय सरकार बनाउनेतिर हाम्रो कुनै चासो र ध्यान छैन’, उनले भने ‘हामी त संविधान संशोधनको पक्षमा छौं, संशोधन नहुञ्जेलसम्म हामी आन्दोलनमै रहन्छौं, संघर्ष गर्छौं ।’यद्यपि उनले संविधान संशोधनको पक्षमा जुन पार्टी आउाछ त्यसलाई केन्द्रीय सरकारमा आफूहरुको समर्थन रहने विश्वास दिलाए । त्यस्तै महतोले राष्ट्रिय सभासम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राख्न नहुने धारणा समेत राखे ।

प्रकाशित मिति : १२ पुस २०७४, बुधबार  १२ : १० बजे