९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मधेसी राजनीतिको यस्तो विचित्र पक्ष


३१ आश्विन २०७४, मंगलबार  

0
Shares

tula

तुलानारायण साह /

आजको नेपाली राजनीतिमा वाम र लोकतान्त्रिक गठबन्धनको चर्चा ब्यापक छ। सँगै मधेसी राजनीति पनि चर्चामै छ।

तीन कारणले मधेसी राजनीति चर्चामा छ।

पहिलो, काठमाडौंमा धेरैले गरेको अपेक्षा विपरीत प्रदेश नम्बर–२ को निर्वाचनमा मधेसी दलहरुले राम्रो मत ल्याउन सफल भएको कारण।

दोस्रो, यो संविधान बनेदेखि नै मधेसी दलहरु विरोधमा थिए। त्यसले काठमाडौंमा एक प्रकारको संसय पैदा गरेको थियो। कतै मधेसी दलहरुले भनेजस्तै संविधान संसोधन भएन भने तिनीहरु स्थानिय तहको निर्वाचनमा भाग नलिने त होइन ?

तर त्यस्तो केही भएन, मधेसी दलहरुको सक्रिय सहभागितामा सहजरुपमा निर्वाचन सम्पन्न भएकोले काठमाडौंमा हर्षमिश्रित खासखुसे चर्चा चलेकै छ।

तेस्रो, निर्वाचन जति जति नजिकिँदै गएको छ, मधेसका अनेक दल र नेताहरु आफनो सुरक्षित भविष्यको खोजीमा ठूला दलमा ओत लाग्दैछन्। यो दलबदलु प्रवृतिका कारण पनि मधेसी राजनीति र मधेसी नेताहरु उपहासकै पात्रका रुपमा सही, तर चर्चामा रहन सफल छन्।

मधेसी राजनीति त्यतिबेला बिशेष चर्चाको विषय बन्यो, जतिबेला हृदयेश त्रिपाठीको एक समूह एमालेको सुर्य चिन्ह लिएर आगामी निर्वाचनमा जाने भयो। यही कडीमा आज विजय गच्छेदार आएर जोडिएका छन्। गच्छेदारको यो कदम अपेक्षित थियो र स्वभाविक छ। तर त्रिपाठीको एमालेगमन धमाकेदार र दुरगामी महत्वको पनि छ।

२०६३ साल पछिका केही बर्ष मधेसी राजनीतिमा जो पनि जोडिन पुग्थे । तर त्यसअघिको मधेसी राजनीतिको बिँडो थाम्ने सिमित नेताहरुमा हृदयेश त्रिपाठी पर्दछन् । मधेसी राजनीतिबाट उहाँको पलायन त एउटा सामान्य समाचार हुनसक्थ्यो । तर एमालेसँगको सहकार्य सुन्दैखेरी अलिक अप्ठयारो लाग्ने विषय बनेको थियो । त्यो चर्चा सेलाउन नपाउँदै आज पुनः गच्छेदारजीको कांग्रेसमा पुनर्मिश्रण हुनपुगेको छ।

मैथिलीमा एउटा कहाबत छ, एक त करैला अपने तित, उपर से निम के पत्ता के चटनी (अर्थात् खानामा करैलाको सब्जी आफैँमा पर्याप्त तितोको स्वाद दिइरहेकै थियो। त्यसमाथि निमको पातको अचार।

दीपावलीको शुभ सन्ध्यामा मधेसी नेताहरुद्वारा समग्र नेपालीलाई यो भन्दा ठूलो धमाका के हुनसक्छ!

यो एउटा संयोग मात्रको विषयपनि हुनसक्छ कि मधेस राजनीतिमा कुनै बेला हृदयेश त्रिपाठी र विजय गच्छेदार एक अर्काका प्रतिस्पर्धी थिए । तर एक दशकभित्रै दुबैलाई मधेसी राजनीतिबाट बिकर्षण पैदा भएको छ । र, दुबै दुई विपरीत खेमामा समाहित भएका छन्।

प्रसंग २०६४ सालको हो । माओवादीहरु जनयुद्ध त्यागेर शान्ति प्रक्रियामा आएको दुई बर्ष पनि पुगेको थिएन । २०६३ माघ महिनामा अन्तरिम संविधान जारी भएलगत्तै मधेसमा ठूलोे विद्रोह भएको थियो । देशीविदेशी सबैका लागि अपरिचित अनुहार उपेन्द्र यादव त्यस विद्रोहका नेता थिए।

उता देशैभरि माओवादीको जगजगी थियो। देशभर नेपाली काँग्रेसको अवस्था कमजोर थियो । पहाडमा जताततै माओवादी, मधेसमा फोरम!

यही परिवेशमा संविधानसभाको निर्वाचन गराउनु थियो । पहाडमा माओवादीलाई नियन्त्रण गर्न कठिन थियो । तर कांग्रेसको भोट व्यांकमा मधेसमा माओवादी वा वाम पृष्ठभूमिका उपेन्द्र यादबको फोरम मात्र प्रभावशाली नबनोस् भन्ने उदेश्यले मधेसमा एक नयाँ पार्टी जन्माउने प्रयास हुँदैथियो।

तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को स्थापनाको गृहकार्य लगभग पुरा भएको थियो । कांग्रेसबाट महन्थ ठाकुर, विजय गच्छेदार, एमालेबाट महेन्द्र राय यादव, सद्भावनाबाट हृदयेश त्रिपाठी, राप्रपाबाट सर्वेन्द्रनाथ शुक्ल, रेणु यादब र फोरमबाट जेपी गुप्ता लगायतका सहभागी हुने लगभग निश्चित थियो ।

मधेसमा उपेन्द्र यादबलाई र देशभर माओवादीलाई टक्कर दिने शक्तिको रुपमा तमलोपाको कल्पना गरिएको थियो । खासमा भन्ने हो भने कांग्रेसलाई हुने क्षतिको लाभ माओवादीले नपाओस् बरु मधेसमा एउटा छुट्टै शक्ति स्थापित होस् भन्ने उद्देश्यले तमलोपा गठनको तयारी हुँदै थियो।

शुरुमा महन्थ ठाकुरलाई पार्टीको सर्वमान्य नेता र विजय गच्छेदारलाई कार्यकारी अध्यक्ष बनाउने योजना थियो । हृदयेश त्रिपाठी र जेपी गुप्ता महासचिव हुने र अन्य पार्टीबाट आउने नेताहरुलाई यथोचित सम्मान दिएर तमलोपालाई एउटा मजबुत पार्टीको रुपमा अघि सार्ने योजना बनाइँदै थियो।

विजय गच्छेदारले केही समय माग्दै थिए। गच्छेदार कार्यकारी अध्यक्ष हुने कुरा त्रिपाठीलाई मन परिरहेको थिएन। त्रिपाठी सकेसम्म गच्छेदारलाई रोक्न चाहन्थे। गच्छेदार नआउँदा महन्थ ठाकुर नै तमलोपाको ‘सुप्रिमो’ हुने पक्का थियो र त्रिपाठीको लागि त्यो सहज हुने थियो। गच्छेदारले मागेको एक दुईको समय उनलाई दिइएन । हतार–हतार तमलोपाको घोषणा गरियो । फलस्वरुप गच्छेदारले केही महिनापछि कांग्रेस त छाडे। तर, तमलोपामा नगई उपेन्द्र यादव नेतृत्वको फोरम ‘ज्वाइन’ गरे।

समय निकै बलवान हुँदो रहेछ। राजनीतिमा ‘जायज–नाजायज’ शब्दको खासै अर्थ रहँदैन। समयले कोल्टो फेर्‍यो। विजय गच्छेदारले उपेन्द्र यादव नेतृत्वको फोरममा एक बर्ष पनि बिताएनन्।

‘सेनापति प्रकरणमा प्रचण्डले लोकतन्त्रमाथि प्रहार गरेको र उपेन्द्र यादवले त्यसलाई सघाएको’ भन्दै फोरम फुटाएर माधव नेपाल नेतृत्वको सरकारमा सहभागी भए। गच्छेदारको दृष्टिमा त्यो सरकार पनि ‘लोकतन्त्रकै रक्षा र नेपाली सेनाको संस्थागत गरिमालाई कायम राख्नको लागि’ बनेको थियो। त्यतिबेला पनि गच्छेदारजीको एक मात्र उद्देश्य ‘लोकतन्त्रको रक्षागर्नु’ थियो।

यसबीच बागमतिमा धेरै पानी बगिसक्यो। समयले फेरि एकपटक कोल्टे फेरेको छ। त्यतिबेला ‘राष्ट्रियता, लोकतन्त्र र नेपाली सेनाको संस्थागत गरिमामा आँच पुर्‍याउन ’ खोजेका प्रचण्ड आज माधव नेपालको पार्टीसँग एकिकरण गर्न तम्सिएका छन्।

प्रचण्डको विरोध र लोकतन्त्रको रक्षाको लागि उतिबेला माधव नेपाललाई साथ दिएका विजय गच्छेदारले आज ती दुवै बाम नेताका पार्टीबीचको गठबन्धनबाट लोकतन्त्र खतरामा परेको भन्दै, रुवावासी गर्दै आफ्नो पुरानो पार्टी नेपाली कांग्रेस फर्केका छन्। लोकतन्त्रमाथि हुने हरेक प्रहारको बहादुरीका साथ लडेर सामना गर्ने उद्घोषका साथ गच्छेदारको कांग्रेस वापसी भएको छ।

लाग्दछ, ज्योतिष विज्ञानमा गहिरो विश्वास राख्ने हृदयेश त्रिपाठीलाई शायद यी सबै कुराको पूर्व अनुमान थियो। त्यसैले, उनले पहिल्यै नै एमालेको सूर्यको ओत लागिसकेका छन्। यसरी कुनै बेला मधेस राजनीति बलियो हुँदा दुबैमा प्रतिस्पर्धा थियो होला। तर आज न मधेस राजनीति बलियो रह्यो, न त दुबै बलवानहरु बीच कुनै प्रतिस्पर्धा नै।

प्रकाशित मिति : ३१ आश्विन २०७४, मंगलबार  ११ : ५५ बजे