४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मेची पूलको निर्माण कार्य पुनः सुरु हुँदै


२३ बैशाख २०७४, शनिबार  

0
Shares

pull mechi

भद्रपुर / प्राविधिक कारण देखाउँदै केही महिनादेखि निर्माण कार्य रोकिएको भद्रपुरस्थित मेची पूलको निर्माण पुनः सुरु भएको छ ।

निर्माणाधीन पूलको ११ र १२ नम्बर पिलरमा जमिन मुनि भसाउँदा बाङ्गिने समस्या भएर गतवर्षबाटै निर्माण सुस्ताएको पूल निर्माण कार्य विभागको नयाँ स्वीकृत स्टमेट आएपछि काम सुरु गरिएको हो ।

भौतिक निर्माण तथा पूर्वाधार राज्य मन्त्री सिताराम मेहताले विभागबाट तयार भएको नयाँ स्टमेट नक्सा पूल निर्माण कम्पनीलाई शुक्रबार हस्तान्तरण गरेपछि रोकिएको निर्माण सुचारु भएको नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ का सभापति गणेश पोखरेलले जानकारी दिए ।

गत हप्ता नेपाली काँग्रेस भद्रपुर नगर समिति र क्षेत्रीय समितिले पूल निर्माणमा भएको ढिलाइप्रति चासो दिँदै सांसद कृष्णप्रसाद सिटौलालाई दवाव दिएका थिए । सो दवाव पछि सिटौलाले भौतिक योजना मन्त्रीलाई निर्माण सुचारु गर्न आग्रह गरेका र स्वीकृत पत्रसहित राज्यमन्त्रीलाई मन्त्रालयले स्थलगत अध्ययन गर्न पठाएको जनाइएको छ । निर्माण स्वीकृत प्राविधिक पत्र आएपछि अब मेची पूल असार मसान्त भित्रमा निर्माण पूरा हुने निर्माण पक्षको भनाई छ ।

यसैगरी राज्यमन्त्री मेहताले निर्माणाधीन हुलाकी सडक खण्ड अन्र्तगत भद्रपुर–जलथल तथा चारआली– केचना सडक खण्डको स्थलगत अनुगमन गरेका छन् । सडक निर्माणमा भएको प्रगति र लक्ष्य अनुरुप काम भए नभएको तुलनात्मक मुचुल्काको समेत हुलाकी सडक परियोजनाका इन्जिनियरसित विवरण लिएको जनाइएको छ ।

जनस्तरबाट निर्माण गुणस्तरमा उठाइएको प्रश्न तथा निर्माण सामग्री प्रयोग हेरेर मन्त्री मेहेताले गुणस्तरीय काम गर्न निर्देशन समेत दिएका छन् । निर्धारित समयमा काम पूरा गर्ने गरी निर्माण कार्य अगाडि बढाए रकम अभाव नहुने प्रतिबद्धता व्यक्त गर्दै राज्यमन्त्री मेहताले जनताको दशकौं लामो सडक सपना पूरा गर्न सवै पक्ष लाग्नु पर्ने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७४, शनिबार  ७ : ०५ बजे