११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

संविधान कार्यान्वयन भएन भने देश दुर्घटनामा ः गच्छदार


२२ फाल्गुन २०७३, आइतबार  

0
Shares

bijay1

गौरीगंज / मधेशी जनअधिकार फोरम लोकतान्त्रिक नेपालका केन्द्रिय अध्ययक्ष विजय कुमार गच्छदारले सात प्रदेशसहितको संविधान जारी हुनु नै कार्यान्वयनको बाधक रहेको बताएका छन् । राजवंशी ताजपुरिया सांस्कृतिक पर्यटन महोत्सवको समापनको अवसरमा शनिवार झापाको गौरीगंज आइपुगेका पुर्व उपप्रधान तथा गृहमन्त्री गच्दारले राजनीतिक दलहरुबीच संविधान जारी गर्नु अगाडि आठ प्रदेश सहितको संविधान जारी गर्ने सहमति भएपनि ठुला दलहरुले आफु अनुकुल बनाउन सात प्रदेश सहितको संविधान जारी गर्दा मधेशी, जनजाति, दलित समुदायलाई समेट्न नसकेको बताएका छन् । विविधताले भरिएको मुलुकमा सबै जात जाति धर्म संस्कृति, पहिचान र अधिकारको संरक्षण र सम्वर्धन गर्न सके मात्र मुलुकको राजनैतिक खिचातानीको अन्त्य भई समृद्व नेपाल बन्न सक्ने उनको भनाई छ ।
हाम्रो देश भाषा, धर्म, संस्कृति र प्राकृतिक दृष्टिकोणले भरिभराउ र सुन्दर भए पनि राजनैतिक उतरचढाब र दलहरुबीच असहमति आर्थिकरुपमा पछाडि परेका कारण विकासले फड्को मार्न नसक्दा नेपाली जनताले दुःख पाएको बताएका छन । २०७४ माघ भित्रमा तीनै प्रकारका चुनावहरु सम्पन्न गर्न नसके सविंधान नै असफल भई देश दुर्घटनामा पर्न सक्ने उनको भनाई थियो ।
राजवंशी ताजपुरिया समुदायको भाषा, संस्कृति, रहनसहन, खानपिन, भेषभूषालाई उत्थान गर्न सञ्चालन गरिएको महोत्सवमा झापा, मोरङ्ग, सुनसरी, भारतको विहार, आसाम, पश्चिम बंगालसहितको स्थानबाट उल्लेखिय मात्रामा सहभागिता रहेको थियो । महोत्सवले राजवंशी ताजपुरिया समुदायहरुले पछिल्लो पुस्तामा आएर भाषा, संस्कृति र भेषभूषालाई विर्सिएकाले भावि सन्ततिहरुलाई समेत जानकारी गराउन महोत्सव आयोजना गरिएको महोत्सव समितिका वरिष्ठ सह–संयोजक गंगाराम ताजपुरियाले बताए । वर्तमान परिस्थितिमा समेत राजवंशी ताजपुरिया समुदाय राज्यको पहुचबाट टाढा रहेकाले राज्यले दिने सेवा सुविधामा सहभागिता जनाउनु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा राजवंशी ताजपुरियाको संस्कृतिक पहिचान झल्कने पौराणिक तथा आधुनिक नृत्य, गीत, नाटक प्रस्तुत गरिएको थियो भने जातीय पौराणिक सामाग्रीहरु प्रदर्शनमा राखिएको थियो ।
फागुन ७ गतेदेखि शुरु भएको राजवंशी ताजपुरिया सांस्कृतिक पर्यटन महोत्सवका संयोजक देवी प्रसाद राजवंशीको सभापतित्वमा भएको समापन कार्यक्रममा राजवंशी समाज विकास समितिका केन्द्रिय अध्यक्ष तथा पुर्व र्गह राज्य मन्त्री भीमराज चौधरी राजवंशी, झापा प्रमुख जिल्ला अधिकार उत्तर कुमार खत्री, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक नेपालका महासचिव भरतेन्द्र मल्लिकलगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन महोत्सवका सचिव गंगा प्रसाद राजवंशी र सदस्य नरेश राजवंशीले गरेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७३, आइतबार  ६ : १२ बजे