१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

संविधान संशोधनपछि मात्रै स्थानीय निर्वाचनः महन्थ ठाकुर


२१ पुस २०७३, बिहिबार  

0
Shares

mahanta

भक्तपुर, पुस २१ / तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसद्मा पेस भएको संविधान संशोधन विधेयक पास भए मात्र स्थानीय तहको निर्वाचन हुने बताएका छन्।

रफत सञ्चार क्लबले बिहीबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले संविधान संशोधन विधेयक संसद्बाट पास नभए कुनै हालतमा स्थानीय तहको निर्वाचन हुन नदिने बताएका हुन्।

संविधान संशोधन गरेर मधेसी, थारु र जनजातिलगायतका माग पूरा नभए निर्वाचनमा नगई मधेसी मोर्चा आन्दोलनमा जाने उनको भनाइ थियो।

उनले ५१ प्रतिशत जनसङ्ख्या रहेको मधेसलाई २५ प्रतिशतमा सीमित पारेर ल्याइएको स्थानीय तहको पुनःसंरचनाको खाका मधेसी मोर्चालाई मान्य नहुने भन्दै जनसङ्ख्याका आधारमा राज्यको पुनःसंरचना हुनुपर्नेमा जोड दिए।

ठाकुरले भने– ‘तत्कालीन सुशील कोइरालाको नेतृत्वको सरकारको पालामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही संशोधनमा हस्ताक्षर गरेका छन्, त्यतिबेला यही संशोधन राष्ट्रवादी हुने, अहिले राष्ट्रघात हुने भन्नु गलत हो ।’

उनले अन्तरिम संविधानले दिएको अधिकारलाई कुल्चिँदै संविधान जारी गरेको दाबी गर्दै संविधान आवश्यकताअनुरुप संशोधन नगरी विफल पार्ने षड्यन्त्र भइरहेको आरोप लगाए।

अङ्गीकृत नागरिक सबैलाई जन्मसिद्ध नागरिकसरह अधिकार दिनुपर्ने माग मोर्चाको नरहेको स्पष्ट पार्दै उनले वैवाहिक महिलालाई भने यस्तो अधिकार दिनुपर्ने माग रहेको बताए।

प्रकाशित मिति : २१ पुस २०७३, बिहिबार  ८ : ४७ बजे