१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘प्रधानमन्त्री ज्यूसंग मेरो प्रश्न ?’ जाेवन चल्ने पानी नचल्ने ….




दमक१६, जेठ /

‘प्रधानमन्त्री ज्यूसंग मेरो प्रश्न ?’
जोवन चल्ने पानी नचल्ने
भोट चल्ने आदिवासी, जनजाति शब्द नचल्ने
दुनियाँमा यस्तो पनि हुन्छ र?
इतिहास साक्षी छ, पितापुर्खाका ९०० बढी (हाँडखोर ) चिहान नष्ट गरेर सोही ठाउँमा आदिवासी रंगशालाको नाममा तत्कालीन रक्षामन्त्री हालका सम्माननीय राष्ट्रपति बिद्यादेबी भण्डारीज्यूले शिलान्यास गर्नु भएको होइन र ?
हामीहरुले कहिले पनि रंगशालालाई राजनीति गर्न चाहेनौ, तपाईंको सरकारका पालामा आदिवासी रंगशालालाई मदन भण्डारी रंगशाला बनाउनु भयो र तपाईंका सल्लाहकारहरुले गलत बुझाए होलान भन्ठानेर, हामीहरूले बुझाउने कोशिस गरियो तर निरर्थक भयौं र के अब यो सरकारसंग आदिवासी, जनजातिहरुले कुनै सहयोगको आशा गर्नु ब्यर्थ हो?
पटक पटक आदिवासी जनजातिहरुकै मतले सांसद हुँदै मन्त्री, प्रधानमन्त्री हुनु भयो? किन यति धेरै निर्दयी बन्नु भएको, प्रधानमन्त्री ज्यू, हामी जनजातिहरु विकास विरोधी कदापी हैन, यो देशका सोझा, इमान्दार जाति चै पक्का हो रआदिवासी रंगशाला निर्माण गर्न अरु कुनै सरकार नै कुर्नु पर्ने हो, प्रधानमन्त्री ज्यू ?
के हामीहरु पनि यो देशको नागरिक हैन र?


झापाको कमल गाउँपालिका ५ पाडाजुंगीमा निर्माणाधिन आदिवासी रंगशालामा सरकारले शनिवार सार्वजनिक गरेकाे वजेटमा आदिवासी रंगशालालाई नसमेटेपछि अादिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईले आफ्नाे सामाजिक सञ्जालमा स्टाटस लेखेेर त्यसकाे आपत्ति जनाएका छन् ।

एक दशक अघिदेखि निर्माणाधिन रंगशालालाई नामको विषयलाई लिएर पूर्वाग्रही ढंगले रंगशाला अन्यत्र लगेको भन्दै उनीसहित स्थानीयहरूले आपत्ति जनाएका हुन् ।
आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानका अध्यक्ष राईले निर्माणाधिन रंगशालामा राजनीति हाबी भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले आदिवासी जनजातिहरुको पितृको चिहान नष्ट गरी त्यहाँ सुविधासम्पन्न आदिवासी रंगशाला बनाउने सरकार र सरोकार पक्षबीच भएको सहमतिलाई लत्याउने काम भएको बताएका छन् ।उनले भनेका छन्, –‘हामी आदिवासी जनजातिको चिहान नष्ट गरेर पितृको स्मृतिमा रंगशाला बनाउने सपना देखाए,तर अहिले आदिवासीकै कारण बेइमान गरियो ’
पछिल्ला बर्ष सरकारले आदिवासी रंगशालाप्रति आपत्ति जनाउँदै आएको थियो । सरकारले आदिवासीको विकल्पमा मदन भण्डारी रंगशाला नामाकरण गरेमात्र बजेटले प्राथमिकता पाउने बताउँदै आएको थियो । करिव ३८ विगाह क्षेत्रफल रहेको रंगशालामा पछिल्ला तीन वर्षको बजेट मदन भण्डारीका रुपमा समावेश गरिएपछि फ्रिज हुँदै आएको थियो ।
प्रतिष्ठानका अध्यक्ष राईका अनुसार सरकारले चाहे रंगशाला बनाउन सक्ने भएपनि आदिवासी जनजातिको नामले योजना नै समाप्त गर्न सरकारी पक्ष उद्धत भएको छ । स्थानीय ,प्रदेश तथा संघीय सरकारसम्म पटकपटक बजेट मागसहितका परियोजना पेश गरिएपनि त्यसलाई बेवास्ता गर्ने काम भएको प्रतिष्ठानका महासचिव दिपेनवाला राईले बताए ।
कमलकै सगुन युवा क्लवका अध्यक्ष देवेन्द्र आङदेम्बेले आदिवासी रंगशालालाई पूर्णता दिन राजनीतिक बेइमान भएको बताए । ‘हामीमाथि खेलवाड भयो’ उनले भने । हरेक दृष्टिकोणले उपयुक्त रहेको यस खेल मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउन नचाहनु राज्यले जवाफ दिनुपर्ने उनको भनाई छ । उनले भने , –‘यतिका काम भएको रंगशालालाई बीचैमा अलपत्र गरिनु र आदिवासीको नाममा बजेट नै नआउनु ? यस्तो विभेद कसैलाई चित्तबुझ्दो छैन ’


दमकमा बन फाडेर रंगशाला
कमल ५ स्थित लखनपुरमा रंगशाला नामाकरणमा विवाद आएपछि सरकारले त्यस योजना दमक लगेको छ । अर्थमन्त्री बिष्णु पौडेलले बजेट भाषणमार्फत २ बर्ष भित्रमा दमक ३ स्थित हंम्सेदुम्से सामुदायिक वन फडानी गरी अन्तर्राष्ट्रिय स्तरकै मदन भण्डारी रंगशाला तयार हुनेगरी बजेट समावेश छ ।

५ अर्बभन्दा बढी लगानीमा त्यहाँ अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्ने भएको हो । यसका लागि बिद्युतीय बोलपत्र आह्वान भएर अहिले छनौट प्रक्रियामा गइसकेको समेत जनाईएको छ । यसै आर्थिक बर्षबाट निर्माण शुरु गरिने नगरपालिकाले जनाएको छ ।
ओलीले अन्तर्राष्ट्रिय मदन भण्डारी रंगशालालाई यस क्षेत्रका जनताका लागि उपहारको रुपमा ब्याख्या गर्दै जसरी पनि बनाई छाड्ने प्रतिबद्धता जनाउँदै आएका थिए । यसभन्दा अघि कमल गाउँपालिका वडा न. ५ मा यो प्रस्ताव गरिएपनि नामको बिषयमा विवाद भएको थियो ।
मदन भण्डारी रंगशाला बनाउन २७ हेक्टर राष्ट्रिय वन क्षेत्र उपलब्ध गराउने सरकारको निर्णय रहेको थियो । मन्त्रिपरिषद्को १९ र २६ माघमा बसेको बैठकले दमक नगरपालिकामा रहेको उक्त बन प्रयोग गर्न दिने र १ हजार ९ सय २४ वटा रुख बिरुवा हटाउन स्वीकृति दिने निर्णय गरेको थियो ।
प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीका अनुसार प्रधानमन्त्री ओलीको खेलकुद क्षेत्रको माया र विकासप्रतिको चाहना, स्थानीयको सहयोग र तदारुकताका कारण नै यहाँ अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्ने अवस्था सिर्जना भएको हो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  २ : २४ बजे