१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सात प्रदेशमा विशेष आर्थिक क्षेत्रको मोडालिटी तयार


२० पुस २०७३, बुधबार  

0
Shares

aarthik
काडमाडौँ / सरकारले सात वटै प्रदेशमा एक/ एक वटा विशेष आर्थिक क्षेत्र (सेज) बनाउने मोडालिटी तयार पारेको छ। उद्योग मन्त्रालय स्रोतका अनुसार विशेष आर्थिक क्षेत्र विकास समिति (सेज)ले सात वटै प्रदेशमा एक/एक वटा सेज बनाउने गरी मोडालिटी तयार पारेको छ।

‘मन्त्रालय स्रोतले नेपालखबरसँग भन्यो, ‘मन्त्रालयका उच्च अधिकारी र सेजका कार्यकारी निर्देशकलगायतको टिमले कुन ठाउँमा सेज बनाउने भन्ने बारेमा टुंगो लगाएको छ।’ ‘उद्योग मन्त्री नविन्द्रराज जोशीले सात वटै प्रदेशमा एक/एक वटा सेज बनाउने प्रस्ताव मन्त्रीपरिषद् बैठकमा लैजाने तयारी थालेको छन्,’ स्रोतले भन्यो ‘जोशीले मन्त्रालयका पत्रकारसम्मेलन गरेर यही विषयमा जानकारी दिने योजना समेत बनाएका छन्।’

स्रोतका अनुसार एक नम्बर प्रदेशका लागि विराटनगरमा सेज भन्ने भएको छ। त्यसैगरी, दुई नम्बर प्रदेशका लागि सिमरा, तीन नम्बर प्रदेशका लागि पाँचखाल, चार नम्बर प्रदेशका लागि गोरखा, पाँच नम्बर प्रदेशका लागि भैरहवा, छ नम्बर प्रदेशका लागि जुम्ला र सात नम्बर प्रदेशका लागि धनगढीमा सेज बन्ने भएको हो। मन्त्रालय स्रोतका अनुसार सात वटै प्रदेशमा बन्न लागेको सेजमा पूर्व सम्भाव्यता तथा सम्भाव्यता अध्ययन पूरा भइसकेको छ। त्यसैगरी, प्रदेश नम्बर एकको विराटनगर क्षेत्रमा जग्गा खरिद प्रक्रिया समेत अघि बढिसकेको छ।

त्यसैगरी, प्रदेश नम्बर दुई र तीनमा बन्ने सेजमा क्रमश काभ्रे जिल्लाको पाँचखाल र सिमरामा जग्गा खरिद प्रक्रिया सकिएको मन्त्रालयले जनाएको छ। त्यसैगरी, प्रदेश नम्बर ५ अन्तर्गत भैरहवामा समेत जग्गा उपलब्ध भइसकेको छ।
सरकारले सिमरामा ए, बी सी गरी तीन वटा ब्लकमा सेज निर्माण गर्ने भएको छ। त्यसका लागि जग्गाको व्यवस्थापन गरिसकेको छ।

मन्त्रालय र विशेष आर्थिक क्षेत्र विकास समितिले बिराटनगरमा जग्गा खरिदमा लागि ८० करोड रुपैयाँ लाग्ने बताएको छ। त्यसैगरी, प्रदेश नम्बर पाँच अन्तर्गत गोरखामा सेज बनाउनका लागि जग्गा खरिदमा १ अर्ब रुपैयाँ लाग्ने छ। त्यसैगरी, प्रदेश नम्बर ६ अन्तर्गत जुम्मामा सेज बनाउन आवश्यक पर्ने जग्गा खरिदका लागि ५० करोड रुपैयाँ लाग्ने छ। त्यसैगरी, प्रदेश नम्बर सात अन्र्तगत धनगढीमा बन्ने जग्गाका लागि ५० करोड रुपैयाँ लाग्छ।

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सिमरा क्षेत्रमा बन्ने सेजको ए र बी ब्लकको डीपीआरको काम समेत पूरा भएको छ। सी ब्लकमा डीपीआर गर्न ५० लाख रुपैयाँ आवश्यक पर्ने छ। त्यसैगरी अन्य प्रदेशमा बन्न लागेको डीपीआर तयार गर्न ५० लाख रुपैयाँ आवश्यक पर्ने स्रोतको दाबी छ। विराटनगरमा आगामी वर्षदेखि सिभिल कन्ष्ट्रक्सनको काम सुरु हुनेछ। त्यसका लागि ३ अर्ब ५० करोड रुपैयाँ लाग्ने योजनमा उल्लेख छ। सिमराको काम सुरु भइरहेको छ। आगामी दुई वर्षभित्र पूरा हुने सरकारी लक्ष्य रहेको छ। त्यसका लागि २ अर्ब रुपैयाँ खर्च लाग्ने ती अधिकारीको दाबी छ। तर, सिमरा बि र सी मा १३ अर्ब रुपैयाँ खर्च लाग्ने उल्लेख गरिएको छ। त्यसको काम २०७४ सालबाट सुरु हुने उल्लेख छ।

कुन प्रदेशको कुन ठाउँमा सेज बन्ने ?
प्रदेश नम्बर १ विराटनगर
प्रदेश नम्बर २ सिमरा (ए,बी,सी)
प्रदेश नम्बर ३ पाँचखाल
प्रदेश नम्बर ४ गोरखा
प्रदेश नम्बर ५ भैरहवा
प्रदेश नम्बर ६ जुम्ला
प्रदेश नम्बर ७ धनगढी

कुन प्रदेशमा सेज बनाउन कति खर्च लाग्छ ?
विराटनगरमा ३ अर्ब ५० करोड
सिमरा (ए,बी,सी) १५ अर्ब
पाँचखाल ४ अर्ब
गोरखा ३ अर्ब ५० करोड
भैरहवा धेरैजसो काम पूरा (खर्च लाग्दैन)
जुम्ला ३ अर्ब
धनगढी ३ अर्ब

कुन प्रदेशको काम कति सकियो ?
विराटनगरः पूर्व सम्भाव्यता र सम्भाव्यता अध्ययन पूरा
सिमरा (ए,बी,सी): पूर्व सम्भाव्यता र सम्भाव्यता अध्ययन पूरा
पाँचखालः पूर्व सम्भाव्यता र सम्भाव्यता अध्ययन पूरा
गोरखाः पूर्व सम्भाव्यता र सम्भाव्यता अध्ययन पूरा
भैरहवाः पूर्व सम्भाव्यता र सम्भाव्यता अध्ययन पूरा
जुम्ला: पूर्व सम्भाव्यता र सम्भाव्यता अध्ययन पूरा
धनगढीः पूर्व सम्भाव्यता र सम्भाव्यता अध्ययन पूरा

प्रकाशित मिति : २० पुस २०७३, बुधबार  ३ : ३७ बजे