१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पूर्वाञ्चल र एपीएफ फाइनलमा भिड्दै


११ श्रावण २०७३, मंगलबार  

0
Shares

काठमाडौं ११, साउन / समूह चरणमा दुवै खेल जितेको सशस्त्र प्रहरी बलको एपीएफ क्लबले महिला क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा मंगलबार उपाधिका लागि पूर्वाञ्चलसँग खेल्दैछ ।

वर्षाले खेल रोकिएपछि नेट रनरेटका आधारमा सुदूरपश्चिमलाई उछिन्दै पूर्वाञ्चलले एपीएफसँगको फाइनल भेट पक्का गरेको हो । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित मैदानमा समूह ‘बी’ को अन्तिम खेलमा सोमबार टस जितेको पूर्वाञ्चलले सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको थियो । वर्षाका कारण खेल १८ ओभरमा छोट्याइएको थियो ।

पूर्वाञ्चलको कसिलो बलिङसामु निरीह देखिएको सुदूरपश्चिमले जम्मा ५ रन जोड्दै ६ विकेट गुमाइसकेको थियो । वर्षाले खेल रोकिनुअघि उसले ७ रन जोडेको थियो । ७.२ ओभरको खेलसम्म पूर्वाञ्चलका कविता गौतमले तीन र सन्तोषी चौधरीले दुई विकेट लिएका थिए । त्यसपछि वर्षाले खेल अवरुद्ध भयो । त्यसैले नेट रनरेटका आधारमा सुदूरपश्चिमलाई पन्छाउँदै पूर्वाञ्चलले फाइनल यात्रा तय गरेको हो । दुवै टिमले समूह चरणमा पश्चिमाञ्चललाई हराएका थिए ।

समूह ‘ए’ मा दुवै खेल जितेर यसअघि नै एपीएफले फाइनलमा स्थान सुरक्षित गरेको थियो । यस समूहको अन्तिम खेलमा सोमबार मध्यपश्चिमले मध्यमाञ्चललाई ५ विकेटले पन्छाएर सान्त्वना जित हात पार्‍यो ।

वर्षाले प्रभावित भएपछि १० ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिङ रोजेको मध्यमाञ्चलले चार विकेट गुमाएर ५७ रन बनाएको थियो । अन्तिम बलमा चौका सहयोगमा ६० रन जोड्दै मध्यपश्चिमाञ्चलले ५ विकेटको जित निकाल्यो ।

लक्ष्मी चौधरीले नटआउट ३९ रन जोड्दै मध्यपश्चिमको जितको आधार तय गरेकी थिइन् । वुमेन अफ द म्याच पनि चुनिएकी उनले ३३ बलको सामना गर्दै चार चौका प्रहार गरेकी थिइन् । कप्तान नेरी थापामगरले १० रन योगदान गरिन् ।

यसअघि मध्यमाञ्चलको इनिङ्समा सर्वाधिक २२ रन रचना अर्यालले जोडेकी थिइन् । नटआउट रहेकी उनले ३० बल खेलिन् । सीता श्रेष्ठले १५ बलमा १२ रन बनाएर उनलाई साथ दिएकी थिइन् । मध्यपश्चिमका अन्य ब्याट्सवुमेनले रनको दोहोरो अंक छुन सकेनन् ।

http://bit.ly/2a7SceD

प्रकाशित मिति : ११ श्रावण २०७३, मंगलबार  ८ : ३५ बजे