३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, ३५१७ जना उतिर्ण


११ श्रावण २०७३, मंगलबार  

0
Shares

श्रावण ११,काठमाडौं ekp-korea - Copy / रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सातौं संस्करणको परीक्षाफल प्रकाशित भएको छ । कोरियाको मानव संशाधन विकास सेवा (एचआरडी) ले आज सार्बजनिक गरेको नतिजा अनुसार ३ हजार ५ सय १७ नेपाली परीक्षार्थी उत्तीर्ण भएका छन् ।

प्रकाशित गरेको परीक्षाफल अनुसार औद्योगिक उत्पादन क्षेत्रमा १ हजार ३ सय ६६ जना र कृषि क्षेत्रमा २ हजार १ सय ४० परिक्षार्थी उत्तीर्ण भएका हुन् ।

परीक्षा कार्यक्रम सार्वजनिक गर्दा एचआरडीले ३ हजार १ सयलाई मात्र उत्तीर्ण गराइने जनाएको भए पनि ४ सय १७ जना परीक्षार्थी बढी उत्तीर्ण गराएको हो । उत्तीर्ण भएकाहरु सन् २०१७ को कोटामा कोरिया आउन पाउने छन् ।

गत असार ४ र ५ गते काठमाडौं १८ र पोखरामा ३ गरी २१ केन्द्रमा सातौं परीक्षा सम्पन्न भएको थियो । सो परीक्षामा ५७ हजार १ सय ५९ जनाले परीक्षा दिएका थिए भने ६० हजार ६ सय ६ जनाले आवेदन भरेका थिए । आवेदन र परीक्षा दिनेको संख्या धेरै भए पनि उत्तीर्ण हुनेको संख्या ज्यादै न्यून रहन्दै आएको छ ।

ईपीएस शाखा नेपालका निर्देशक डिल्लीराम बास्तोलाले उत्तीर्ण उमेरद्वारहरुको स्वास्थ्य परीक्षण,स्कील टेस्ट र रोजगार आवेदन दर्ता लगायतको प्रक्रिया दशैं अगावै सक्ने गरि कोरिया सरकारसँग समन्वय भईरहेको जनाए ।

नेपाली कामदारप्रति कोरियाली सरकार र रोजगारदाता सकरात्मक रहेका कारण तोके भन्दा बढि उमेरद्धार उत्तीर्ण भएको बांस्तोलले जानकारी दिए । ईकान्तिपुरसँग फोनमा बोल्दै बास्तोलाले भने, ‘कोरिया सरकारको सबै इन्डिकेटरमा नेपाल एक्सलैन्ट छ ।’

कोरियाको साना तथा मझौला उद्योगहरुमा अदक्ष कामदार पठाउन नेपालमा रोजगार अनुमति प्रणाली (ईपीएस) को परीक्षा हालसम्म सात पटक सञ्चालन भएको छ । ईपीएसको ७ वटा संस्करणमा कूल २ लाख ६२ हजार जना भन्दा बढीले परीक्षा दिएका छन् ।

नेपाल र कोरियाबिच सन् २००७ को जुलाई २३ मा ईपीएस सम्बन्धी सम्झौता भएपछि २००८ मा पहिलोपटक परीक्षा सञ्चालन भएको थियो । पहिलो परीक्षामा ३१ हजार ५ सय २५ सामेल थिए भने ६ हजार ७ सय ८६ उत्तीर्ण भएका थिए ।

कोरियाको अध्यागमन विभागले जनाएअनुसार नेपालमा रोजगार अनुमति प्रणाली (ईपीएस) लागु भए यता ४० हजारभन्दा बढी नेपाली युवा रोजगारीका लागि कोरिया आएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७३, मंगलबार  ७ : ३८ बजे