३० असार २०८१, शनिबार | Sat Jul 13 2024

आरक्षण कति ठीक कति बेठीक ?


३१ असार २०७३, शुक्रबार  

0
Shares

प्रकाश श्रेष्ठ / prakash-shrestha

एकजना सन्देश नामका भाइ दलित वर्गका थिए । उनलाई आफ्नो जातमा गर्व थियो र उनले सन्देश सार्की भनेरै आफ्नो नाम लेख्ने गर्थे । उनलाई थाहा थियो कि अरु उनका समकक्षीहरु आफ्नै जातमा पर्ने भए पनि उनीहरु कोही नेपाली, कोही हरिजन त कोहीले थापा, बोहोरा लगायत अन्य थरसमेत लेखेका थिए ।
सन्देश सार्की लेख्नमै आफ्नो सही पहिचान हुने ठान्थे र भन्थे- जात र थरले कोही उचो निचो हैन, कर्मले सबै कुरा निर्धारण गर्छ । हुन पनि उनी सानैदेखि मिहिनेती विद्यार्थी थिए ।

आर्थिक अवस्था कमजोर भएका कारण गाउँमा कार्यरत एक गैरसरकारी संगठनको सहयोगमा विद्यालयको पढाइ पूरा गरेर उनले एसएलसीमा उत्कृष्ट नतिजा पनि ल्याए ।

उनी आफैले खर्च गरेर उच्च शिक्षा अध्ययन गर्न सक्ने अवस्था थिएन, सानैमा बाबुको आकस्मिक मृत्युका कारण उनको घरमा आमाले अरुको काम गरेर दैनिक जीवन चलाउनु पर्थ्यो ।

उनको उच्च शिक्षा पढ्ने अभिलाषालाई अन्ततः त्यही गैरसरकारी संगठनले उनीभित्रको प्रतिभा देखेर पढाउन राजी भयो र सदरमुकामको एक उच्च माविमा साइन्स विषय पढ्नका लागि भर्ना गरिदियो ।

उनले ११ र १२ कक्षा राम्रो अंक ल्याएर पास गरे । उनको सानैदेखिको चाहना डाक्टर बनेर पिछडिएको गाउँमा गएर स्वास्थ्य क्षेत्रमा योगदान गर्ने थियो । सोहीअनुरुप उनले एमबीबीएस पढ्नका लागि प्रवेश परीक्षामा सहभागी हुन आवश्यक तयारी गरे ।

उनलाई थाहा थियो कि एमबीबीएस पढ्नका लागि सरकारले दलितहरुका लागि निश्चित कोटा छुट्टाएको छ र त्यो कोटामा पढ्न प्रवेश परीक्षा दिँदा नाम निस्कने सम्भावना बढी रहन्छ । तापनि उनले खुल्लातर्फनै आवेदन दिएर प्रतिस्पर्धामा नाम निकाले र उनले एमबीबीएस सरकारी छात्रवृतिमा महाराजगञ्जमा पढ्न पाउने भए ।

उनलाई धेरैले सोधे, किन दलितको आरक्षण कोटामा आवेदन फारम नभरिकन निकै ठूलो प्रतिस्पर्धा हुने खुल्ला समूह रोजेको ? यसको प्रतिउत्तरमा उनले आफुले राज्यले कृपास्वरुप छुट्टाएको कोटाबाट हैन कि सबैसँग खुल्ला प्रतिस्पर्धाबाट आफ्नो क्षमता र योग्यताको जाँच गरेर उत्तीर्ण भए मात्रै पढ्ने, नभए थप मिहिनेत गरेर फेरि परीक्षामा सहभागी हुने मानसिकताले खुल्ला प्रतिस्पर्धामा उत्रेको बताए ।

उनी आरक्षणमा भन्दा पनि सम्बन्धित पिछडिएको समुदायमा रहेका बालबालिकाहरुलाई पढ्ने अवसर दिनुपर्ने र अन्य सामाजिक सेवाहरुमा उनीहरुको पहुँचलाई सुनिश्चित गर्नुपर्ने बताउँछन् ।

पिछडिएको वर्गलाई दया देखाउनुभन्दा पनि अवसर र अधिकार दिन सक्नुपर्छ । आरक्षण केवल राज्यबाट दया देखाइएकाले यसले सम्बन्धित वर्गको उत्थान सहीरुपमा हुन नसक्ने उनको बुझाइ छ ।

उनको विचारमा आरक्षणले समाजमा वर्ग छुट्टाएर कुनै वर्गलाई कमजोर वर्ग छ, यसलाई दया र मायाले केही ठाउँ दिनुपर्छ भन्ने मान्यताको विकास गरेको छ । कतिपय अवस्थामा आरक्षणकै कारण अन्य सक्षम व्यक्तिहरु समेत सम्बन्धित क्षेत्रमा पुग्न कठिनाए भएको उनी बताउँछन् ।

अहिले सन्देश एउटा योग्य डाक्टर बनेर ग्रामीण क्षेत्रमा काम गरिरहेका छन् । वास्तवमा उनले पढ्ने अवसर पाएकै कारण आज विपन्न आर्थिक अवस्थाको परिवारमा जन्मेर पनि एउटा सक्षम डाक्टर बन्न सफल भएका छन् ।

वास्तवमा यसबाट पनि प्रष्ट हुन्छ कि आरक्षण कतिपय अवस्थामा सही सावित होला तर, कतिपय अवस्थामा यसले सक्षम व्यक्तिहरुलाई पाखा लगाउने र अयोग्य व्यक्तिहरुलाई स्थान सुरक्षित पारिदिने गरेको छ ।

अहिले नेपालमा हरेक क्षेत्रमा आरक्षण दिने चलन चलिरहेको छ । आदिवासी, जनजाती, उत्पीडित, दलित, मधेसी आदी नामबाट जुन आरक्षण छुट्टाइएको छ, यसले राज्यले पिछडिएको भन्ने वर्गलाई आधारभूत तहबाटै आवस्यक सहयोग गरेर माथि उकासेर अन्य वर्ग सरह योग्य बनाउनु भन्दा पनि कर्मकाण्डी रुपमा आरक्षण दिएर जिम्मेवारीताबाट भाग्न खोजेको देखिन्छ ।

आरक्षण भनेको आर्थिक स्तर कमजोर भएकोलाई नि:शुल्क पढाउने सवालमा, विभिन्न व्यवसायिक तालिम दिने, जिविकोपार्जनको क्षेत्र उपलव्ध गराउने सम्बन्धमा दिईनु सान्दर्भिक हुन्छ ।

त्यो पनि कुनै जातका आधारमा दिइनु सरासर न्याय नहुन सक्छ । जस्तो कि एक निम्न आर्थिक अवस्था रहेको बाहुन परिवारमा जन्मेको एउटा बालक पढाइमा मिहिनेती छ तर माथिल्लो स्तरमा पढ्न सक्ने उसको आर्थिक हैसियत छैन भने उसले त्यो तहमा पढ्न सक्दैन किनकी उसले शैक्षिक शुल्क तिर्ने एवं पाठ्यसामाग्री लगायत शहरमा कोठा भाँडामा लिएर बस्ने उसको आर्थिक सामार्थ्य हुँदैन । जसले गर्दा हाईस्कुलकै पढाईमा खुम्चिएर बस्नु पर्छ र सरकारी जागीरको रुपमा प्रा.वि. तहको शिक्षक बन्न सक्ने, खरदार तहको जागिर खान सक्ने हैसियत बनाउन सक्छ ।

त्यसका लागि पनि फेरि खुल्ला कोटामा आवेदन दिएर परीक्षामा उत्तिर्ण हुनुपर्छ । यदि यसरी पटक पटक लगाइएको तारबारले वाक्क बनाएपछि बाध्य बनाएर थोरै घरबारी साहुकोमा बन्धक राखेर खाडीतिर हानिनु पर्छ ।

यस्तै अवस्था हामीले समाजमा प्रत्यक्ष देखेका छौं र यो स्तम्भकारको गाउँमा रहेका एउटा बाहुन परिवारमा यस्तै अवस्था घटेको थियो । जसमा स्कुलको प्रा.वि. तहमा निकै उत्कृष्ट पढाइ गरेका ती तीनजना भाइहरु हाईस्कुल तहसम्म पनि आर्थिक कमजोरीका कारण पढ्न नसकेर तीनैजना खाडीमा रोजगारीका लागि जग्गा जमिन बन्धक राखेर ऋण गरेर हानिएका थिए । यदि उनीहरु अन्य आरक्षण प्राप्त हुने र गैससहरुको नजरमा पर्ने जात भएको भए सायद उनीहरु पनि उच्च शिक्षा पढेर डाक्टर, इन्जिनियर, चार्टर एकाउन्टेन्ट, कम्पनी डाइरेक्ट बन्ने थिए होला ।

यसरी हेर्दा हामी के देख्छौं भने आरक्षणले मात्रै पिछडिएको भनिएको वर्ग, जात र समुदायको उन्नती गर्दैन र आर्थिक रुपमा पिछडिएर पनि जातीय र वर्गीय हिसावले माथिल्लो मानिनेहरु पनि वास्तविक रुपमा कतिपय निकै कमजोर आर्थिक हैसियतमा रहेका हुन्छन् ।

हाम्रो सोचको दायरा फराकिलो हुन सक्यो र हामी सबै नेपाली एकै परिवारका सन्तती हौं भन्ने भावनाको विकाश हुन सकेमा मात्र सबैको भलाइ हुन्छ । अन्यथा कुनै समुदायलाई आरक्षण र अन्य क्षणिक सुविधा दिएर समानताको दायरामा सबैलाई ल्याउन सकिँदैन

जस्तो कि हुम्ला, जुम्लामा बस्ने बाहुन, क्षेत्री, दलित र काठमाण्डौ, पोखरा, बुटवलमा बस्नेहरुको आर्थिक, सामाजिक हैसियत समान हुँदैन । त्यसैले राज्यले हेर्दा दलित भनेर सबै न्युन आर्थिक अवस्था र पिछडिएको मान्ने, जनजाती भनेर सबै काठमाण्डौका चल्तापूर्ता व्यापारी नेवार र ब्रिटिश लाहुरे बनेर राम्रो आर्थिक हैसियत बनाएका पोखरा, काठमाण्डौमा बस्ने गुरुङलाई मान्ने र मधेसी भनेर जनकपुरमा रिक्सा चलाएर जिविका चलाउनेलाई मान्ने र बाहुन एवं क्षेत्री भनेर उच्च पदमा पुगेका व्यक्तिहरुलाई मानेर त्यही अनुरुप राज्यको हेर्ने दृष्टिकोण र व्यवहार प्रदर्शित गर्ने हो भने त्यो सरासर गलत हुन्छ ।

उच्च वर्ग मानिने समुदाय पनि भुगोल र क्षेत्र अनि उपलव्ध भुमि, अवसर इत्यादि कारणले पिछडिएका हुन सक्छन् । दलित एवं जनजाति, मधेसी, आदिवासी वर्गमा छुट्टाईएकाहरु पनि ठाउँ विशेष र अवसरको उपलव्धताको कारण सम्पन एवं राम्रो हैसियत बनाएका हुन सक्छन् । यसैले कुनै पनि जातजाति र समुदायका आधारमा राज्यले दिने सुविधाहरुलाई वर्गीकरण गर्नु भन्दा पनि वास्तविक व्यक्तिहरुको अवस्थालाई मुल्यांकन गरिनुपर्छ ।

राज्यले खान, बस्न, लाउन, शिक्षा, स्वास्थ्य लगायत आधारभुत आवश्यकताहरु जनताले सहजरुपमा पाए नपाएका आधारमा आवस्यक व्यवस्था मिलाउनुपर्छ । सबै जनतालाई समान अवसर दिनका लागि न्यायोचित मापदण्ड तयार गर्नु पर्छ ।

जनजाति वा दलित वा मधेसी भएकै कारणबाट असक्षमले पनि राज्यका विभिन्न निकायमा अवसर पाउने र बाहुन, क्षेत्री भएकै कारण योग्य, सक्षम भएर पनि राज्यको विभिन्न निकायहरुमा अवसर पाउन नसक्ने अवस्था आउनु हुँदैन ।

यसको मतलव जातीयताका आधार र क्षेत्रियताको आधारमा कुनै पनि नागरिकले आफ्नो क्षमतालाई खुम्चाएर बस्नु पर्ने अवस्था हुनु हुँदैन र कुनै खाले साम्प्रदायिकता समाजमा देखिनु हुँदैन । अर्थात् जातजाति, धर्म, रंग, लिंग, वर्ग, क्षेत्रका आधारमा कुनै पनि व्यक्ति अपहेलित एवं तिरकृष्त बन्नु हुँदैन ।

त्यस्तै सधैं दलित, मधेसी, उत्पीडित, जनजातिका नाममा अनावस्यक पहिचान खोजेर आपसमा काटमार र बहिष्कृत मनोवृत्तिलाई पनि बढोत्तरी दिइनु हुँदैन ।

जसरी विकसित देश अमेरिकामा अझै पनि काला र गोरा समुदायवीच सैदान्तिकरुपमा कुनै कानुनी विभेद छैन, तापनि व्यवहारिक सोचमा त्यस्तो विभेद रहेको मनोगत दृष्टिकोणका कारण समय समयमा आपसी सद्भाव खल्वलिएको केही घटनाहरुले देखाइरहेको छ ।

अत: सबै भन्दा ठुलो कुरा हाम्रो सोचको दायरा फराकिलो हुन सक्यो र हामी सबै नेपाली एकै परिवारका सन्तती हौं भन्ने भावनाको विकाश हुन सकेमा मात्र सबैको भलाइ हुन्छ । अन्यथा कुनै समुदायलाई आरक्षण र अन्य क्षणिक सुविधा दिएर समानताको दायरामा सबैलाई ल्याउन सकिँदैन ।

प्रकाशित मिति : ३१ असार २०७३, शुक्रबार  ११ : ४३ बजे