३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने


२० जेष्ठ २०७३, बिहिबार  

0
Shares

मोरङ२०, जेठ /  धिमाल जातिय विकास केन्द्रले हरेक वर्ष एक जना युवा प्रतिभालाई “धिमाल युवा प्रतिभा पुरस्कार” ले सम्मान गर्ने भएको छ ।

धिमाल जातिय विकास केन्द्रको मंगलबार बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । धिमाल समुदायको युवा प्रतिभाहरुलाई हौसला तथा प्रोत्साहन गर्न केन्द्रले हरेक वर्ष एक जना युवा प्रतिभालाई युवा प्रतिभा पुरस्कारले सम्मान गर्न लागिएको केन्द्रका महासचिव केदार धिमालले जानकारी दिए । विभिन्न क्षेत्रमा रहेर धिमाल समुदायलाई चिनाउन सकृय युवा प्रतिभालाई यो पुरस्कारले सम्मान गरिने समेत उनले बताए । युवा प्रतिभा पुरस्कारबाट सम्मानित व्यक्तित्वलाई दिइने पुरस्कारको सौजन्य भने धिमाल डट कमले गर्ने भएको छ ।

युवा प्रतिभालाई हौसला तथा प्रोत्साहन पुगोस् भन्ने हेतुले धिमाल जातिय विकास केन्द्रको यो कार्यमा धिमाल डट कमले सहकार्य गर्न लागेको धिमाल डट कमका अनलाइन सम्पादक प्रमेश धिमालले जानकारी दिए ।
पुरस्कृत व्यक्तित्वलाई नगद ५ हजार रुपैयाँ, प्रमाण पत्र र आल्गी धावा (धिमाल पहिरन) ओडाएर सम्मान गरिने अनलाइन सम्पादक धिमालले जानकारी दिए ।

युवा प्रतिभा पुरस्कार हरेक वर्ष असार २ गते धिमालहरुको साँस्कृतिक पर्व जात्रि समापनको अवसरमा दिइने केन्द्रले जनाएको छ । यस वर्षको युवा प्रतिभा पुरस्कार २०७३ छनौट गर्न केन्द्रले आज एक समिति निर्माण गरेको छ । केन्द्रका अध्यक्ष नगेन्द्रबहादुर धिमालको संयोजकत्वमा ५ सदस्यीय समिति निर्माण गरिएको छ ।

सदस्यहरुमा उपाध्यक्ष वर्तबहादुर धिमाल, महासचिव केदार धिमाल, कोषाध्यक्ष टेकमाया धिमाल र धिमाल डट कमको तर्फबाट अनलाइन सम्पादक प्रमेश धिमाल रहेका छन् । सो समितिले यसै साता यस वर्ष पुरस्कृत युवा प्रतिभाको छनौट गरि नाम सार्वजनिक गर्ने जनाएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७३, बिहिबार  ५ : २२ बजे