९ जेष्ठ २०८१, बुधबार | Thu May 23 2024

के भिन्नता छ माओवादी र एमालेमा ?


१९ जेष्ठ २०७३, बुधबार  

0
Shares

देवप्रकाश त्रिपाठी  /   Dev-Prakash-Tripathi-66

हिउँले ढाकेका हरेक पहाडलाई हिमाल भनिन्छ, तर सबै हिमाल आकार–प्रकारले उस्तै छैनन् । त्यसैले सबैभन्दा अग्लो मानिएको हिमाललाई सगरमाथा, माछाको पुच्छरजस्तो देखिनेलाई माछापुच्छ्रे र अन्यको पनि विशेषताअनुसार नाम निर्धारण गरिएको छ । हिमालजत्तिकै स्वच्छ, पवित्र, निष्कपट र मनमोहक नभए पनि कम्युनिस्टहरूको तुलना यहाँ हिमालसँग यस अर्थमा गर्न सकिन्छ कि विचार, दर्शन र सिद्धान्तको आधारमा ‘हेर्दा उस्तै देखिए पनि जसरी हिमालका भिन्नभिन्न विशेषता छन् त्यसैगरी नाम सबैको कम्युनिस्ट भए पनि समूहपिच्छे तिनका विशेषता भिन्न छन्, यहाँ नेपालका दुई कम्युनिस्ट घटकहरू नेकपा एमाले र माओवादीबीचका मौलिक भिन्नताबारे विवेचनाको प्रयास गरिएको छ ।

वि.सं. २०१७ पछि अलपत्र र छरपष्ट रहेका कम्युनिस्टहरूमध्ये एकथरीले तीसको दशकको आखिरीतिर झापामा वर्गशत्रु खत्तम अभियानको नाममा छपाछप निर्दोष मान्छे काट्ने अभियान चलाए र यसरी मानव हत्यामा संलग्न रहेर देशव्यापी चर्चामा आएका केटाहरू (त्यसबेलाको उमेर तथा अनुभवका आधारका केटा भनिएको हो, होच्याउने उद्देश्यले होइन) ले ०३५ मा नेकपा माले नामको पार्टी गठन गरे र त्यही माले ०४७ मा मनमोहन अधिकारी नेतृत्वको समूहसँग एकीकृत भएर एमाले बनेपछि अहिलेसम्म नेकपा एमालेका रूपमा स्थापित र क्रियाशील छ ।

हालको माओवादी केन्द्र, क्रान्तिकारी माओवादी र जनमोर्चा आदि नाममा सङ्गठित समूहहरूको उद्गम ०३१ मा गठित नेकपा (चौथो महाधिवेशन) हो र मुखपत्र मशाल भएकोले उक्त समूहलाई ‘मशाल’ उपनामले पनि चिनिन्थ्यो । नेकपा चौमका मुख्य नेताहरू मोहनविक्रम सिंह र निर्मल लामा थिए । दुवै नेताहरू परिपक्व भए पनि मोहनविक्रम सिंह कठोर तथा ज्यादा सैद्धान्तिक र निर्मल लामा अलिक उदार एवम् व्यावहारिक थिए । नेताहरूको छवि र दु्रत गतिको साङ्गठनिक विस्तारका कारण नेकपा चौम अल्पकालमै देशको सबैभन्दा सशक्त र सुगठित कम्युनिस्ट पार्टी बन्न सक्यो । तर, ०३६/३७ सालतिर दुई नेताबीच सुरु भएको मत–मतान्तरले यसलाई कमजोर तुल्याउँदै लग्यो र ०४० मा नेकपा (चौम) र नेकपा (मशाल) बनेर विभाजित भएपछि उक्त समूहको ओरालो यात्रा आरम्भ भएको थियो । ०४० यता पुरानो ‘चौथो महाधिवेशन’मा फुट र जुटको प्रक्रिया चलिरहेको छ । ०३८ असोज १ गते ‘चीनविरोधी दिवस’ मनाउँदै चीनलाई दक्षिणपन्थी र संशोधनवादी घोषणा गर्ने चौथो महाधिवेशनको धार ०६३ सम्म चीनप्रति ज्यादा आलोचनात्मक दृष्टिकोण राख्दथ्यो । प्रचण्ड र बाबुराम भट्टराईहरूले सत्ता प्राप्त गर्ने क्रममा सैद्धान्तिक पाटो गौण बनेसँगै चीनसँगको अन्तरविरोधमा पनि शिथिलीकरण हुँदै चीनप्रतिको दृष्टिकोणमा उनीहरूको परिवर्तन आएको छ । मोहनविक्रम सिंह, मोहन वैद्य र प्रचण्ड तीनैजनाले नेतृत्व गरेको समूह चीनप्रति सकारात्मक दृष्टिकोण राख्छन् । नेपालका कम्युनिस्ट र चीनबीचको सम्बन्ध सैद्धान्तिकभन्दा ज्यादा परस्पर स्वार्थमा आधारित हुँदै गएको छ ।

राजतन्त्र सङ्कटमा परेपछि नेपालभित्र भरपर्दो शक्तिको खोजीमा रहेको चीनका निम्ति यहाँका कम्युनिस्टहरूमाथि भरोसा राख्नुको विकल्प देखिएन भने ०६३ को प्रायोजित राजनीतिक परिवर्तनसँगै नेपालभित्र भारतको भूमिका प्रभावी बनेबाट आत्तिएका कम्युनिस्टहरूका निम्ति पनि चिनियाँ छहारी एउटा ‘उत्तम विकल्प’ बनेको हो । त्यसैले आपसी हित–रक्षाको चाहनाले नेपालका कम्युनिस्ट पार्टी र चीनलाई निकट पुर्‍याएको निष्कर्षमा पुग्नु गल्ती हुनेछैन ।

चीनसँगको निकटतालाई राजधानी काठमाडौं र आसपासका जनतासम्मले सकारात्मक रूपमा लिनु, चीनको सिगात्से, खासा र ग्वाङझाओलगायतका स्थानलाई केन्द्र बनाई व्यापार गर्ने नेपाली व्यापारीबाहेक अन्य सबैमा चिनियाँ र चीनप्रति बेग्लै प्रकारको प्ेरम र सम्मानभाव रहनु, भारत विरोधमा आनन्दानुभूति गर्ने राष्ट्रवादले राजधानीलगायत देशको पहाडी भूभागमा उच्च महत्त्व पाउनुजस्ता कुरालाई ‘क्यास’ गरेर पनि कम्युनिस्टहरूले आफूलाई खुलेआम चीन पक्षधरका रूपमा देखाउन सकेका हुन् । रक्सौलको एउटा भारतीय नागरिकले पान खाएर नेपालतर्फ पिच्कार्दा हस्तक्षेप या हेपाहा व्यवहार ठान्ने हामी नेपालीले ठ्याम्मै आधी सगरमाथा चीनले आफ्नो भागमा पारेको घटना स्मरण गर्न पनि चाहेका छैनौँ । कम्युनिस्टमध्ये कतिपय त ‘हाम्रो चीनले सगरमाथाको आधी हिस्सा लिएको’ भन्दै गौरव महसुस गर्नेहरू पनि छन् । नेपाली कम्युनिस्टहरूमा रहेको यस्तै भावनालाई टुटफुट हुन नदिन र सबै वामपन्थी कम्युनिस्टहरूलाई एउटै झन्डामुनि रहन चीनले प्रेरित गर्दै आएको छ । चीन या अरू कसैले नेपाली कम्युनिस्टहरूलाई एकताबद्ध रहन प्रेरित गरिरहेका भए पनि झापा उद्गम भएको एमाले र रोल्पा–रुकुम उद्गम भएका माओवादीबीच रहेका विशिष्ट भिन्नताले उनीहरूलाई भविष्यमा कसरी एकताबद्ध रहन सहयोग पुर्‍याउला भन्ने प्रश्न उठाएको छ ।

नेकपा एमाले मध्यमवर्गीहरूको समूह हो र मध्यमवर्गी समुदायको मूल चरित्र अवसरवादी हुन्छ भन्ने अकाट्य सत्यलाई स्वीकार गर्दा एमालेको चरित्र सजिलै बुझ्न सकिन्छ । राजनीतिक लाभ प्राप्त हुने अवस्थामा एमाले पशुपतिको पुजारी बन्न पनि तयार भइदिन्छ, दस्तावेजमा जनवाद र समाजवाद लेख्दालेख्दै पनि राजालाई दामसहित ढोगेर त एमाले नेतृत्वले देखाइदिएकै हो । कुनै बेला पशुपतिनाथ, राजा र संसदीय प्रजातन्त्रको सबैभन्दा कठोर हिमायतीझैँ देखिएको एमालेमा माओवादी युद्धका क्रममा भएका सबै प्रकारका अपराधलाई अनुमोदन गर्दै त्यसबेला गुरिल्लाद्वारा बलजफ्ती कागज बनाई कब्जा गरिएका जग्गाजमिनसमेत सोही कागजका आधारमा कब्जाको निरन्तरता र वैधता दिन मञ्जुर भएपछि नेकपा एमालेमा कति डिग्रीसम्म ओहोर–दोहोर गर्नसक्ने क्षमता छ भन्ने स्पष्ट भएको छ । कुनै बेला संविधानसभाको मागप्रति सबैभन्दा असहिष्णु दृष्टिभाव राख्ने एमाले अहिले संविधानसभा र संविधान सृष्टिको एकलौटी स्वामित्व लिने रहर गर्दैै छ । कुनै समय पूजाआजा, धर्मकर्म र मठ–मन्दिरको दर्शनमा रमाउने उनीहरू देशलाई धर्मनिरपेक्ष तुल्याउनुको एकलौटी ‘जस’ (यस) पनि लिन खोज्दै छन् । हिजो कांग्रेसभन्दा दुई कदम अघि बढेर संवैधानिक राजतन्त्र, बहुलवादमा आधारित संसदीय प्रजातन्त्र, हिन्दूराष्ट्र र एकात्मक राष्ट्रियताको वकालत गर्ने एमाले अहिले माओवादीभन्दा तीन कदम अघि सरेर क्रान्तिकारी देखिन खोज्नुले एमालेभित्रको अवसरवादी चरित्रलाई राम्ररी उजागर गरेको छ ।

एमालेको एउटा मुख्य चरित्र अवसरवादी हो भने उसको अर्को खतरनाक विशेषता ‘समूह स्वार्थ’ हो । प्रजातन्त्रकालमा योग्यता, क्षमता र आवश्यकतालाई भन्दा पार्टी सिफारिसलाई आधार बनाएर काम गर्ने एमालेले सामूहिक (समूहवादी) स्वार्थलाई यति प्राथमिकतामा राख्ने गरेको छ कि कहिलेकाहीँ त उनीहरूले देशको हितभन्दा पार्टीहितलाई महत्त्व दिने गरेको महसुस हुन्छ । दलीय प्रजातन्त्रमा समूह स्वार्थलाई मुख्य समस्या मानिन्छ र त्यस्तो स्वार्थ सबभन्दा बढी एमालेमा देखिन्छ । राजनीतिक नियुक्ति, सरकारी वा गैरसरकारी सेवा र ठेक्कापट्टादेखि उन्नतस्तरका कुनै पनि अवसरका निम्ति पार्टीसम्बद्ध व्यक्तिलाई मात्र योग्य र उपयुक्त ठान्ने एमालेको स्थायी चरित्र हो ।

त्यसैगरी सरकारी तथा गैरसरकारी निकायमा व्यापक घुसपैठ गरी भित्रभित्रै बलियो सञ्जाल निर्माण गर्ने र सबै क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिई पार्टी स्वार्थ पूरा गर्ने काममा एमाले सर्वाधिक अगाडि रहेको छ । पार्टी स्वार्थ पूरा नगर्ने प्रकारका कुनै पनि काममा एमालेको रुचि रहने गर्दैन । राज्य संयन्त्रका हरेक निकायलाई आफ्नो नियन्त्रणमा राखेर परिचालन गर्न निजामती सेवादेखि शिक्षक, साना किसान र सहकारीदेखि वित्तीय क्षेत्रका प्रभावकारी संस्थासम्म उनीहरूले भूमिगत सङ्गठन विस्तार गरेका छन् । हामीले बाहिरबाट हेर्दा नेपाल सरकारको सचिव देखिएका कर्मचारी भित्रभित्रै एमालेमा सङ्गठित भएर पोलिटब्युरो या स्थायी समिति सदस्यको रूपमा काम गरिरहेका हुन सक्छन् । हिटलर, मुसोलिनी र मार्कोसहरूले जुन शैलीको फासीवाद अवलम्बन गरेका थिए त्योभन्दा भिन्न शैली र व्यवहारमा एमाले रहेन भन्दा बेठीक हुनेछैन । सबै विधिविधान र प्रक्रियालाई ‘फलो’ गरेको देखाउँदै भित्रभित्रै राज्य संयन्त्रदेखि जनतासम्मलाई आफ्नो सञ्जालको नियन्त्रण या प्रभावमा पारेर काम लिने र विपक्षीहरूलाई सबै निकाय या स्थानबाट विस्थापित गर्ने सूत्रलाई फासीवाद भनिन्छ । एमालेले अपनाएको कार्यशैली फासीवादभन्दा भिन्न ठ्याम्मै देखिएको छैन ।

यसबाहेक एमाले नेता तथा कार्यकर्ताको बोल्ने शैली र व्यवहार पनि अरूहरूको भन्दा भिन्न देखिन्छ । जतिसुकै ठूलो भीड होस् बोलिरहेका हजारौँमध्ये योचाहिँ एमाले समर्थक हो भनेर सजिलै छुट्याउन सकिन्छ । कृत्रिमजस्तो लाग्ने भए पनि भाँती पुर्‍याएर बोल्नु र बोलीपिच्छे समूह–स्वार्थको गन्ध फैलाउनुले व्यक्तिलाई एमालेका रूपमा चिनाउने गर्दछ । एमालेसम्बद्ध व्यक्तिहरूको ‘खुवाइ’ ब्वाँसोको जस्तो ‘आरामदायी’ हुन्छ, उनीहरू नखाएझैँ गरी मिलाएर खान सक्छन् । तर, माओवादीमा बाँदरे हडबडाहट बढी देखिन्छ । खाँदा खाँदै वा खानै नपाई लखेटिने शैली माओवादीको छ । एमालेले सुम्सुम्याउँदा सुम्सुम्याउँदै कति बेला लुछिसकेको हुन्छ, लुछिने पक्षले पनि घाउ बनेपछि मात्र थाहा पाउँछन् ।

माओवादीमा एमालेको भन्दा अनेकौँ स्तरका भिन्न स्वभाव–चरित्र देखिन्छ । चर्को क्रान्तिकारिता, कठमूल्लावादी चिन्तन, समूह स्वार्थभन्दा टाढा, तर आत्मकेन्द्रित सोच, अधिकांशमा (प्रचण्ड, बाबुरामलगायत केहीबाहेक) साधारण जीवन शैली र भड्कावपूर्ण व्यवहार माओवादीहरूको पहिचान हो । उक्त समूह (पुरानो चौथो महाधिवेशन)मा प्रचण्ड र बाबुराम भट्टराईहरूको उदय हुनुभन्दा पहिले त्यहाँ व्यक्तिका महत्त्वाकाङ्क्षालाई सिद्धान्तको जलपले लपक्कै छोपेको अवस्था थियो । प्रचण्डको नेतृत्वमा हिंसात्मक युद्ध सुरु भएलगत्तै उक्त समूहको मौलिक चरित्रमा अनपेक्षित परिवर्तन आएको हो । पार्टीभित्र घनीभूत रूपमा रहेको निम्न पुँजीवादी चरित्रलाई केही समय क्रान्तिकारिताको जलपले ढाके पनि अब उनीहरूको वास्तविक मुहार छर्लङ्ग भइसकेको छ । सर्पझैँ तत्काल प्रतिक्रिया जनाउने र भ्यागुताझैँ शरीरको तौलभन्दा धेरै चर्को आवाज निकाल्ने गरे पनि माओवादीको कार्यशैली एमालेको जस्तो समूह स्वार्थबाट मात्र प्ेररित देखिँदैन । राजनीतिक नियुक्तिदेखि अन्य कैयन अवसर उपलब्ध गराउँदा गैरमाओवादी भनेर जान्दाजान्दै पनि योग्यता, क्षमता, अनुभव र कार्यकौशललाई दृष्टिगत गरी व्यक्तिको छनोट गर्नुले माओवादी समूह–स्वार्थभन्दा केही माथि उठेको महसुस गराउँछ । नियुक्ति र ठेक्काबाहेकका अन्य कार्यमा पनि माओवादीमा समूह–स्वार्थ न्यून रहेको देखिन्छ । कतिपयले माओवादीसँग मानिस नभएकोले अन्य पक्षकालाई स्वीकार गर्न बाध्य भएको अर्थ पनि लगाएका छन् । तर, यसलाई पूर्ण रूपमा स्वीकार गर्न सकिँदैन । सङ्गठन निर्माण, कार्यशैली र सोचको अन्तरले माओवादीलाई एमालेभन्दा धेरै भिन्न देखाएको छ । लुकाएर खान नजान्ने, समूह–स्वार्थलाई प्राथमिकतामा राखेर कार्य व्यवहार गर्न नसक्ने, चर्का कुरा गर्ने, धेरै घुमाएर कुरा गर्न नजान्नेजस्ता चरित्रले माओवादीलाई एमालेभन्दा भिन्न देखाएको छ । व्यवस्थित र परिपक्व प्रस्तुति माओवादीका नेता–कार्यकर्तामा ज्यादै न्यून मात्र देखिन्छ, न अभिव्यक्ति र व्यवहारमा अर्को कम्युनिस्टको जस्तो कपट नै झल्किन्छ । रुखो व्यवहार र प्रस्तुतिले माओवादीमा कलात्मक पक्षको दुर्बलता दर्शाउँछ, तर एमाले फकाएर खाने र घुमाएर लैजाने कलामा कुनै पनि दलका नेता–कार्यकर्ताभन्दा अब्बल छन् ।

समग्रमा हेर्दा विचार र अभिव्यक्ति कडा माओवादीको, व्यवहार कडा एमालेको देखिन्छ । राज्य र समाजको हरेक क्षेत्रलाई सङ्गठनको सञ्जालमा बेर्ने र स्वत: पार्टीको पक्षमा परिस्थिति बनाइरहने काम एमालेले गर्दछ । एमालेको सङ्गठन कौशल हिटलर र मुसोलिनीको फासीवादी शैलीभन्दा कुनै पनि मानेमा कमजोर देखिँदैन, माओवादी चर्का कुरा र खहरेझैँ क्षणिक गडगडाहटमा गौरवान्वित छ । देशको सुन्दर एवम् सुखद भविष्य निर्माणमा दुवै कम्युनिस्ट समूहहरू कति बाधक या साधक हुन् भन्ने बुझ्न एकपटक नेपाल र नेपालीलाई मात्र केन्द्रबिन्दुमा राखेर सोच्नुपर्ने हुन्छ ।

घटना र विचारबाट साभार

प्रकाशित मिति : १९ जेष्ठ २०७३, बुधबार  ८ : ०१ बजे