३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

धिमाल समुदायको जात्रि असार २ गते सम्पन्न हुने


३२ जेष्ठ २०७३, मंगलबार  

0
Shares

उर्लाबारी, ३२ जेठ /  धिमाल समुदायको साँस्कृतिक पर्व जात्रि विभिन्न साँस्कृतिक कार्यक्रम सहित असार २ गते भव्यताका साथ सम्पन्न गरिने भएको छ ।

हरेक वर्ष बैशाख २ गते देखि प्रारम्भ भई असार २ गते धिमाल परियोजना स्थल, उर्लाबारी ६, मंगलबारे, मोरङमा साँस्कृतिक पर्व जात्रि सम्पन्न हुने गर्दछ ।

जात्रि समापनको अवसरमा ढोल बजाउने प्रतियोगीता, साँस्कृतिक कार्यक्रम र धिमाल पहिचान झल्कने स्टल सहित मेलाको आयोजना गरिएको धिमाल जातिय विकास केन्द्रका महासचिव केदार धिमालले जानकारी दिए ।

dhimal mela2

कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन विभिन्न उपसमितिहरुले तयारी पुरा गरेको छ ।
यस वर्ष जात्रिमा धिमाल कलाकारहरुद्वारा साँस्कृतिक कार्यक्रम प्रदर्शन गरिने छ । साथै धिमाल युवा प्रतिभा पुरस्कार र ढोल प्रतियोगीताका विजेताहरुलाई वितरण गरिने साँस्कृतिक उपसमितिका सदस्य श्रीप्रसाद धिमालले बताए ।

धिमाल समुदायले हरेक वर्ष बाली सप्रियोस्, गाउँमा बिरामी नफैलियोस्, समयमै पानि परोस् भनि सामुहिक रुपमा पुजा आजा गर्ने चलन रहेको छ । बैशाख २ गते लेटाङ भोगटेनी स्थित राजारानीमा सामुहिक पुजा गरी जात्रि सुरुवात गरे पछि विभिन्न धिमाल टोलहरुमा पुजा साथै मेला लगाउने गरिन्छ, र असार २ गते पुनः सामुहिक रुपमा पुजा सम्पन्न गरि धिमालहरुले आफ्नो साँस्कृतिक पर्व जात्रि समापन गर्ने गरिन्छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७३, मंगलबार  १२ : ३५ बजे