२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

नेदरल्याण्ड्सविरुद्ध खेल्न नेपालको तयारी सुरु


२६ जेष्ठ २०७३, बुधबार  

0
Shares

काठमाडौं , २६ जेठ / नेपाली क्रिकेट टोलीले शुक्रबारबाट नेदरल्याण्डविरुद्धको खेलको तयारी थाल्ने भएको छ ।

विश्व क्रिकेट लिग च्याम्पियनपसीप अन्तर्गत नेपालले साउन अन्तिममा नेदरल्याण्डसँग खेल्दैछ । नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आफैंले नेपाली टोली हेरिरहेको छ ।

आईसीसीले हालै मात्र पत्र पठाएर नेदरल्याण्ड भ्रमणको तयारी थाल्न निर्देशन दिँदै भावना घिमिरेलाई स्थानीय संयोजक तोकेको छ ।

आईसीसीको पत्र आएपछि शुक्रबारबाट बन्द प्रशिक्षण सुरु गर्ने तयारी भइरहेको घिमिरेले बताइन् ।

बन्द प्रशिक्षणमा २४ खेलाडीलाई बोलाइएको छ । वैशाख पहिलो साता काठमाडौंमा नामिबियाविरुद्ध खेल्दा टोलीमा रहेका १४ र चार बैकल्पिक खेलाडी स्वतः बन्द प्रशिक्षणमा परेका छन् ।

नामिबियाविरुद्ध खेल्दा नेपाली टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शदर भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, राजेश पुलामी, राजु रिजाल, सुशन भारी र सन्दीप लामिछाने टोलीमा थिए । विक्रम सोव, दिपेन्द्रसिंह ऐरी, प्रेम तामाङ र अनिल मण्डल बैकल्पिकमा थिए ।

अरु ६ जनालाई पनि बन्द प्रशिक्षणमा बोलाइएको नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले अनलाइनखबरलाई जानकारी दिए । उनले भने, दुई जना ब्याट्सम्यान छन् । अरु फास्टबलरहरु छन् ।’

तयारीका क्रममा नेपाली टोली जुलाई १२ मा बेलायत जानेछ । १९ तारिखमा एमसीसीविरुद्ध लर्डसमा एक खेल हुनेछ भने बाँकी केही खेल स्थानीय टीमसँग खेल्ने नेपालको तयारी छ ।

नेपाली टोली जुलाई २१/२२ मा नेपाल र्फकनेछ र केही दिन घरेलु मैदानमा अभ्यास गरेर नेदरल्याण्ड्स जानेछ ।

नेदरल्याण्डलाई उसकै घरेलु मैदानमा हराउने लक्ष्यका सथ तयारी सुरु गर्ने प्रशिक्षक टमाटाले बताए । हाम्रा खेलाडीहरु अहिले लयमा पनि छन् । र, भर्खर घरेलु मैदानमा जितेकाले मनोबल उच्च पनि छ’ उनले भने, ‘नेदरल्याण्ड जाँदा हाम्रो लक्ष्य दुबै खेलमा जित हात पार्ने नै हुनेछ ।’

प्रकाशित मिति : २६ जेष्ठ २०७३, बुधबार  २ : १२ बजे