१७ जेष्ठ २०८१, बिहिबार | Thu May 30 2024

आठ जना प्रधानमन्त्रीलाई जम्मा एउटा प्रश्न


१७ जेष्ठ २०७३, सोमबार  

0
Shares

 

मिनबहादुर पण्डित    /   MIN-PHOTO

२०४७ सालमा तत्कालीन अन्तरिम प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले मेलम्चीको पानीले काठमाडांैको सडक पखालेर सिंगापुर बनाइदिने घोषणा गरे । काकाकुल काठमाडौंवासीले भट्टराइको मेलम्ची खानेपानी कुरेको लगभग २५ बर्ष भयो । तर, योजना पुरा हुन् सकेको छैन । यो योजना पुरा हुन् अझै २ बर्ष लाग्ने देखिन्छ । कृष्णप्रसाद भट्टराई पछिका ८ जना भूपू प्रधानमन्त्रीहरु १– गिरिजाप्रसाद कोइराला, २– मनमोहन अधिकारि, ३– शेरबहादुर देउवा, ४–झलनाथ खनाल ५–प्रचण्ड ६–माधब नेपाल,७– बाबुराम भट्टराई र ८– सुशील कोइरालाइ सबैलाई एउटै प्रश्न छ– किन २५ बर्ष सम्म मेलम्ची खानेपानी योजना पुरा हुन् सकेन ?

बजेट थिएन कि ? सुरुङ्ग खन्न सुन्दरीजलसम्म जाने बाटो थिएन कि ? जनशक्ति थिएन ? कि जहिले बनाए पनि हुने, काठमाडौंैमा पानीको त्यति आवश्यकता थिएन ?
मेरो बिचारमा बिकाश निर्माण अगाडी बढाउन सक्ने क्षमता, बिबेक र इच्क्षाशक्ति नै थिएन । देशको लागि केही गरांै भन्ने भाबना नै थिएन । यसकारण भूपू प्रमज्युहरु मेलम्ची खाने पानी आयोजना पुरा गर्न नसकेकोमा नैतिक जिम्मेबारी लिने कि नलिने ?

काठमाडौंैमा बसेर काठमाडौंै कै समस्या त नबुझ्ने र समाधान गर्न नसक्ने भूपू प्रमज्युहरुले दुर–दरारका समस्या कसरी बुझ्नु होला ? अनि कसरी समाधान गर्नु होला देशका जल्दा–बल्दा समस्या ? अझै किन प्रम बन्न १२ हात उफ्रदै हुनु हुन्छ ? मौका पाउँदा आफु यो देशको योग्य प्रधानमन्त्री हुँ भनेर प्रमाणित गर्न चाहिँ नसक्ने तर अरु प्रधानमन्त्रीले देश र जनताका लागि केही खोज्दा खुट्टा तानेर आफु प्रधानमन्त्री बन्न खोज्ने ? अनि अरुको एकोहोरो आलोचना मात्र गर्ने ?

गणेशमान सिंह, मनमोहन अधिकारि र मदन भण्डारी जस्तै त्यागी र स्वच्छ छबि भएका अनि देशको लागि केही गरौं भन्ने भाबना भएका सन्त नेता कृष्णप्रसाद भट्टराईलाइ पनि खुट्टा तान्नेहरु उनकै पार्टीमा निस्किए । मुलत गिरिजा प्रसाद कोइरालाले आफु सिंगापुर जस्तै धनि देशको मन्त्री बन्नु भन्दा गरिब देशको प्रधानमन्त्री बन्न उचित ठाने र अनि भट्टराईलाई चुनाबमा हरायर आफु प्रम बन्न अनेकौ जाल झेल गरे । त्यो क्रम बर्तमान प्रधानमन्त्री केपी ओलीको समय सम्म कायम छ ।

केपी ओली नै यो देशका योग्य प्रधानमन्त्री हुन भन्न खोजेको भने होइन । तर, उनले देखेका सपना हावामा उडाउनेहरुको बिरोध मात्र गर्न खोजेको हो । प्रधानमन्त्री भए पनि ५ बर्ष राम्रोसँग काम गर्न दिउँ र रचनात्मक सहयोग गरौ । यो नै देश प्रति उत्तरदायी राजनीतिक पार्टीको धर्म र कर्तब्य हो । बिभिन्न कारणले आयोजना पुरा हुन समय लाग्ला, त्यसको मतलब कुनै ठूला आयोजना सुरु नै नगर्ने ? सधै इन्डियाबाट बिजुली किनेर अनि चाइनाबाट समान किनेर र खाडीमा रोजगार गरेर मात्र देश चल्ला ?
मेलम्चीकै कुरा गर्ने हो भने यो आयोजना लगभग २३ अर्बको हो । दाताहरुले पनि अरबौ सहयोग गरेकै थिए । त्यसो हुँदा लगानी र खर्चको हिसाबले मेलम्चीको पानी राजधानीवासीलाई सित्तै वितरण गरेपनि सकिन्छ । मुहान जाने मोटर बाटो मेलम्ची बजारसम्म मात्र लटरपटर पिच गरिएको छ । त्यो भन्दा उता कच्ची बाटो छ । मुआब्जा र मुहान जाने बाटोको लागि त्यति धेरै खर्च भएको छैन । म पनि हेलम्बुकै स्थायस्वासी भएकाले धेरै कुरा थाहा छ । तर, केयुकेयलको स्वार्थले गर्दा अनि त्यो आयोजनामा भएका अनियमितता र भ्रस्टचारले मेलम्ची आयोजना पुरा भए पछि पनि काठमाडौंैवासीले पानीको महसुल निकै नै महँगो तिर्नु पर्ने छ ।

ओलीको सपनाका कुरा गरौं, जब म गाउँबाट काठमाडौंै हजारौ सपनासहित पढन आएँ । तर, कोठा भाडाा तिर्ने र खाने पैसा समेत हुँदैन थियो । अनि हजारौ सपनामा अर्को एउटा सपना थपियो । काठमाडौंैमा घर बनाउने र गर्दै जादा त्यो पनि सम्भव भयो । घर बाहाल तिर्ने पैसा समेत नहुनेले घर बनाउने सपना देख्नु के त्यो मेरो गल्ती थियो ? नसुहाउँदो थियो ? त्यसकारण आज दुख छ, धेरै आवश्यकता टार्नु छ भनेर भोलिको लागि ठूलो सपना देख्नु ओलीको गल्ति हो र ? कुरा सहि हो, कुन काम पहिले गर्ने र कुन पछि गर्ने भनेर प्राथामिकतामा राखेर ओलीले काम गर्नु पर्दछ र बोली र काम बराबर हुनु पर्दछ ।

५० बर्ष अगाडी माओेले नदी फर्काएर सम्पूर्ण देशबासीलाई खाने पानी पुराउने ठूलो सपना देखेका थिए । अहिले बल्ल आएर करिब १४ सय किलोमिटर लामो कृत्रिम नदी बनाएर चीनले करोडौ जनतालाई खाने पानी सेवा दिएको छ । यो चानचुने कुरा होइन ।

हाम्रा नेताहरुको सपना छ त केवल राणाले बनाइदिएको सिंहदरबारमा राज गर्ने र पंचायतले बिकाश गर्न सकेन भनेर गाली गर्ने । जन–आन्दोलन मार्फत सत्तामा पुगे तर त्यहिँ पंचायतले बनाइदिएको उद्योग समेत चलाउन सकेनन । उल्टो बेचेर कमिसन खाए । किन भयो हिमाल सिमेन्छ र हेटौडा सिमेन्ट कारखाना बन्द ? समान बेच्ने बजार थिएन कि ? जनशक्ति थिएन कि ? कच्चा पदार्थ थिएन ? सबै कुरा थियो । यो त नियतवस बन्द गराइयो । राजनीतिक नेतृत्वनै मुख्य दोषी छ यस्तो हुनुमा । काठमाडौं–हेटौडा ‘रोप वे’ समेत चलाउन सकेनौँ, आज बन्द भएर यस्तो पनि थियो भनेर इतिहास बनेको छ ।

अर्काले बनाइदिएको कल–कारखाना र उद्योग त चलाउन नसक्नेले नयाँ योजना ल्याउँछन र देश बनाउँछन भनेर सोच्नु ठूलो गल्ती हुनेछ । यिनीहरुको काम अरुले केही गर्न खोजे भाड्नु र गर्न नदिनु मात्र हो । पद ठूलो होइन, पदको गरिमा ठूलो हो । पंचायत कालको प्रधानपन्च र अहिलेको प्रधानमन्त्रीको उस्तै भ्यालु हुन लाग्यो । त्यसकारण पदको गरिमा रहने गरी राजनीति गरौं । आफु सरकारमा हुँदा केही गर्न नसकेको तर उल्टो राष्ट्रघाती काम गरेर र आन्तरिक झगडा गरेर समय बर्बाद गरेको तथ्य नबिर्सौं र सुध्रिन चाहनेहरुले आत्म आलोचना गरौं ।

राष्ट्रिय गौरबका आयोजनाको पहिचान गरेर सम्पूर्ण राजनीतिक पार्टीबीच समझदारी बनाएर आगामी सरकारले त्यस्ता आयोजनालाई निरन्तरता दिनु पर्दछ । अनि मात्र नयाँ नेपाल बन्नेछ । नकारात्मक कुराको बिरोध गरांै र सकारात्मक कुराको समर्थन गरौं र सकारात्मक सोचले नै सकारात्मक परिबर्तन ल्याउँछ, सकारात्मक परिबर्तनले मात्र निकाश र बिकास दिनेछ ।

आज सम्म जनतालाई करदाता र मतदाता मात्र बनाइयो । आज प्रत्येक नेपालीको थाप्लोमा २१ हजार ऋण पुगेको छ । बैदेशिक अनुदान र कर कता गयो ? यत्रो बैदेशिक ऋण लिएर पनि देशमा कुनै ठूला आयोजना सुरु हुन सकेका छैनन् । देशको बजेट प्रसासनिक खर्च, भ्रस्टचार अनि कमिसनमै सकिन्छ । देश र जनताको हितका लागि राजनीति नगर्ने हो भने के का लागि राजनीति गर्ने ? यस्ता राजनीतिक पार्टीलाई अब किन भोट हाल्ने ? सपना, मिसन र भिजन नभएका नेताहरुबाट देश र जनताले के अपेक्षा गर्ने ? यसको जवाफ जनतालाई राजनीतिक नेतृत्वले दिनै पर्छ, नत्र समयले त्यसको जवाफ खोज्ने छ ।
हाल युएइ

प्रकाशित मिति : १७ जेष्ठ २०७३, सोमबार  ७ : ३४ बजे