३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

स्टाफ नर्सको तयारी यसरी गरौँ


१ जेष्ठ २०७३, शनिबार  

14
Shares

  गौरीगंज / nurse-660x330त्रिभुवन विश्वविद्यालय सेवा आयोगले टिचिङ अस्पताल महाराजगन्जको स्वास्थ्यतर्फ स्टाफ नर्समा एक सयजनाको विज्ञापन खोलेको छ । ती एक सयजनामा खुला तथा समावेशीसहितको कोटामा दरखास्त दिन पाइन्छ । इच्छुक उम्मेदवारले आगामी असार ५ गतेसम्म र दोब्बर दस्तुर तिरेर असार १२ गतेसम्म निवेदन दिन सक्नेछन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका लागि आवश्यक कर्मचारीको परीक्षा सेवा अयोगले लिने व्यवस्था छ । स्टाफ नर्समा सोधिने सबै प्रश्न स्वास्थ्य तथा नर्सिङसम्बन्धी कोर्सबाट सोधिन्छ । कोर्समा पढिएका सैद्धान्तिक र प्रयोगात्मक विषयमा केन्द्रित भई प्रश्न आउँछ । स्टाफ नर्समा दुई किसिमको परीषाको व्यवस्था छ । वस्तुगत लिखित परीक्षा र भाइबाको परीक्षा हुने गर्दछ । स्टाफ नर्सको लिखित परीक्षापछि भाइबाको परीक्षा लिने व्यवस्था छ । लिखितमा जम्मा एक सय पूर्णाङ्कको मल्टिपल च्वाइस प्रश्न सोध्ने गरिन्छ । यसमा धेरै उत्तरबाट सही उत्तरमा चिह्न लगाउनुपर्छ । लिखित परीक्षामा उत्तीर्ण भइसकेपछि बिरामीलाई कसरी ड्रेसिङ गराउने, ग्लोब्स कसरी लगाउने, अपरेसनमा सामानहरू कसरी मिलाउने, बिरामीको केयरिङ कसरी गर्ने, इन्जेक्सन कसरी लगाउने जस्ता विविध विषय भाइबामा सोध्ने गरिन्छ ।
त्रिवि शिक्षण अस्पतालको ऐन, नियम कानुनका विषयमा पनि जानकारी राख्नुपर्छ । अस्पतालको ऐतिहासिक पक्षमा पनि ज्ञान राख्दा राम्रो हुन्छ । नेपाल सरकारको स्वास्थ्य नीति, नियम, सरकारको स्वास्थ्यसम्बन्धी सांगठनिक संरचनाका विषयमा पनि राम्रो जानकारी हुनुपर्छ । नयाँ खालका रोगका विषयमा जानकारी राख्नुपर्छ । नयाँ रोगका लक्षणहरू तथा कसरी बच्न सकिन्छ भन्ने विषयमा अपडेट हुनुपर्छ । यस्ता नयाँ रोगका विषयमा गहिरो ज्ञान नभए पनि सामान्य जानकारी हुनुपर्छ ।
नेपालमा जनस्वास्थ्यको विषयमा तथ्यांकीय रूपमा जानकारी हुनुपर्छ । नेपालको बालमृत्युदर, मातृमृत्युदर, कुपोषणलगायत स्वास्थ्यसम्बन्धी विविध विषयमा जानकारी राख्नुपर्छ । परीक्षाको तयारी गर्दा नर्सिङसम्बन्धी कोर्सको राम्रो अध्ययन गर्नुपर्छ । नर्सिङसम्बन्धी पुस्तक बजारमा धेरै प्रकाशित भएकाले स्टाफ नर्सको पाठ्यक्रमले निर्धारण गरेका पुस्तक मात्र पढ्नुपर्छ । धेरैजसो नर्स सरकारी सेवामा प्रवेश गर्न तयारी कक्षा इन्स्टिच्युटमा गई पढ्ने गर्छन् । यसरी तयारी कक्षामा गएर मात्र नाम निकाल्न सजिलो हँुदैन । घरमा बसेर स्टाफ नर्सको पाठ्यक्रमअनुसार पढेमा नाम निकाल्न सकिन्छ । स्टाफ नर्सको तयारी गर्दा आफूले पढिसकेपछि समूहमा छलफल गरेमा धेरै विषयमा सम्झन सकिन्छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७३, शनिबार  १ : १८ बजे