३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

तीन भाषामा ‘रफ्तार’


१७ बैशाख २०७३, शुक्रबार  

0
Shares

rrrr1भरतपुरस्थित महाकालेश्वर शिव मन्दिर परिसरमा भजनकीर्तन चलिरहेको थियो । बाहिर भने घरी ‘एक्सन’ त घरी ‘कट’ को आवाज मात्र सुनिन्थ्यो ।

‘रफ्तार’ फिल्मको युनिट मन्दिर परिसरमा सुटिङमा व्यस्त थियो । तीनवटा भाषामा निर्माण भइरहेकाले पनि फिल्मका निर्देशक समीरकुमार जोशीलाई त्यहीअनुसार कलाकारलाई प्रस्तुत गर्न समय बढी लागिरहेको थियो ।

‘यो फिल्म ती फ्लेभरमा बनिरहेको छ,’ उनले भने, ‘हिन्दी, भोजपुरी र नेपाली लवजमा कलाकारलाई प्रस्तुत गर्नुपर्ने भएकोले पनि निर्माणमा बढी समय लागेको हो ।’ उनका अनुसार, फिल्मको नाम नेपालीमा ‘रफ्तार,’ भोजपुरीमा ‘आपकी रफ्तार’ र हिन्दीमा ‘आजकी रफ्तार’ राखिएको छ । भोजपुरी नायिका तनुश्रीले पनि यसमा खेल्दै छिन् ।

‘पहिला तनुश्रीलाई रोनाधोना अभिनयमा भोजपुरी फिल्ममा देख्न सकिन्थ्यो,’ जोशीले भने, ‘यसमा एक्सन नायिकाका रूपमा प्रस्तुत हुँदै छिन् । यो फिल्मकै लागि भनेर उनले एक्सन सिकिन् ।’

जोशीका अनुसार फिल्ममा एक्सन, सस्पेन्स र कमेडी छ । भदौमा प्रदर्शन गर्ने लक्ष्य राखिएको फिल्मको ९८ प्रतिशत छांयाकन सकिएको छ । २० वटा गीत छन् । नेपाली र हिन्दी ५/५ वटा छन् भने १० वटा भोजपुरी गीत छन् । बुटवल, काठमाडौंं मुम्बई र चितवनको विभिन्न ठाउँमा छायांकन गरिएको हो । पप्पु रौनियार मुख्य साहयक निर्देशक रहेको फिल्ममा नायकका रूपमा शिव आचार्य छन् । धु्रव कोइराला, केदार दवाडी, निरजराज पौडेल, काजोल पाण्डे लगायतको अभिनय पनि हेर्न सकिनेछ ।

‘७० प्रतिशत नेपाली कलाकार छन्,’ जोशीले भने, ‘त्यही भएर तीन फ्लेभरमा बनेको यो फिल्म दर्शकले मन पराउनेमा आशावादी छाैं ।’

केआर तिमल्सिना, दिनेशराज केसी, रवि केसी, रियाज हरि, गंगा कार्की निर्माता रहेको फिल्म पवन गौतमले खिचिरहेका छन् । टंक बुढाथोकी र निरजराज पौडेलले संगीत दिएका छन् । राजुजंग थापा र सिमसन तामाङको द्वन्द्व देख्न पाइनेछ । उक्त फिल्मले मूलधारका हिन्दी फिल्मसँग प्रतिस्पर्धा गर्ने जोशीले दाबी गरे ।

‘यो फिल्ममा नेपाली र भारतीय प्रहरीको रूपमा प्रस्तुत हँुदै छु,,’ अभिनेता केदारले भने, ‘एउटै रोलमा दुइटा भाषामा प्रस्तुत हुन गाह्रो हुँदो रैछ, सक्दो मिहिनेत गरेको छु ।’

एक दर्जनभन्दा बढी भोजपुरी फिल्म निर्देशन गरेको अनुभव संगालेका जोशीले निर्देशन गरेको भोजपुरीमा ‘बवाल’ र नेपालीमा ‘बब्वाल’ फिल्म प्रदर्शनको तयारीमा छ ।

प्रकाशित मिति : १७ बैशाख २०७३, शुक्रबार  ५ : ३८ बजे