३ श्रावण २०८१, बिहिबार | Thu Jul 18 2024

विश्व जगतमा नेपाल विपरीत ध्रुवतिर


१६ बैशाख २०७३, बिहिबार  

0
Shares

प्रितम कुमार राजबंशी /  pritam3

 

नि:सन्देह भन्नै पर्दैन नेपालको छवि विश्व इतिहासमा कस्तो रहेको छ र थियो । वीर गोर्खालीको मुलुक भनेर चिनिने नेपाल, सगरमाथा जस्तै उच्च स्वाभिमान र अटल साहस बोकेको सुनौलो सभ्यता पाउछौ । विश्व इतिहासमा हाम्रा पुर्खाहरुले वीर गोर्खाली भनेर मात्र नाम आर्जेका छैनन्, साहसी काम, कर्तव्य र स्वाभिमानी, कहिले नझुक्ने नेपालीका परिचय पनि दिएका छन । जसको फलस्वरुप आज हामी आफैलाइ वीर गोर्खालीका सन्तान भनेर गौरन्वान्भित भएको महसुस गर्दछौ ।
तर वर्तमान स्थितीमा नेपालको छवि विश्व जगतमा केहि धुमिल हुदै गएको छ । हिजो विश्व जगतमा शान्ति र सहयोगका लागि अहोरात्र खटिने हातहरु आज दाताहरुका सामु भिख मागे जस्तै हात फैलाइ रहेका छन । पुर्खाले आर्जेका स्वाभिमान र गौरव पनि जोगाउनका लागि मुसकिल, धौ–धौ भइरहेको छ । हिजो विश्व इतिहासमा कसैको सामु नझुकेको र गुलामी नगरेको देश, इतिहासमा लेखिएको त्यो नाम नामेट पारिदैछ । यो देशका नेता भनाउँदाहरुले अरुको चाकडी र गुलामी गरिरहेका छन, फगत सिंगो राष्ट्र बदनाम भएको छ । उनीहरु आफ्नो आत्मसम्मानमा धावा बोलीरहेका छन, स्वाभिमान बेचिरहेका छन, फगत आफ्नो व्याक्तिगत स्र्वाथपूर्तिका लागि ।
भुकम्पपछि विश्व जगतमा नेपालको नामले प्रसिद्धि त कमायौ नै त्यसपछि भएका गलत कृयाकलाप  र राजनीति वृतमा घटेका फोहोरी खेलले नेपालको नाम हास्याँस्पद र लज्जास्पद बनायो । भुकम्प पिडीतका नाम आएका सहयोग र सामानहरुमा यति सम्मका भष्ट्राचार र अनियमितता भयो कि त्यो बर्बरताका पराकाष्टा भनि साध्य छैन । त्यसपछि उग्र रुप लिएको मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीले विश्व जगतमा नेपालको नाम अझ धुमिल गर्न सहयोग  पुर्‍यायो । मानौ कि यहाँका जनताहरु, आम मानिसहरु हाहाकारमा बाचिरहेका छन, अनिकालमा बाचिरहेका छन, नेपाल द्धन्द्धग्रस्त र रणभुमी बनेको छ । आम जनताहरु, मानिसहरु बाच्नका लागि चाहिने आधारभुत आवश्यकताहरु परिपूर्ति गर्नका लागि एक अर्कामा काटमार गरिरहेका छन । नेपाल सिरिया र लेवनान जस्तै मानविय संकटमा परेको छ, अर्थात गरिबीको चपेटामा फसेको छ । कतिपय विकसित राष्ट्रहरुले त आफ्ना नागरिकहरुलाई नेपाल नजान र नेपालमा भएकाहरुलाई स्वदेश फर्किन सार्वजनिक रुपमै आव्हान गरे । सरकार र आन्दोलनकारी पक्षबाट पनि मानव अधिकारको चरम उल्लङ्गघन भयो त्यसको असर विश्वव्यापी रुपमा पर्‍र्यो ।
एउटा प्रसंग, मेरो पुरानो अफिसको साथी जो आइटीमा काम गर्छ । उसले यिनै कुरा गराइको सिलसिलामा भन्यो एकदिन । उसको क्लाइन्ट जो अमेरिका को हो र आफ्नो प्रोडक्टको काम उसको कम्पनि मार्फत गर्दैछ । उसले आफ्नो प्रोडक्टको स्थिती र स्टाट्स बुझ्नका साथै नेपाल घुम्न आउछु भन्दा यहाँको स्थितीको अवगत गराउदै यस्तो अवस्थामा त नेपाल जाने पागल भन्दै रोक्न खोजे उसका साथीहरुले र प्रशासनले पनि । तैपनि उ आफै खतरा मोलेर जे पर्ला पर्ला भन्दै, जस्तो सुकै होस भन्दै एकचोटि नेपाल आएको थियो रे । उसले यहाँको परिस्थिती बिल्कुल बेग्लै पायो रे, अनि यर्थाथ अर्कै देख्यो रे । यहाँका पेट्रोलको लाइन, मट्टितेलको लाइन, डिजेलको लाइन, ग्याँसको लाम, लोडसेडिङ्ग अनि गाडीको छतमा यात्रु, अव्यवस्थित शहर, फोहारमैला इत्यादि देखेर अच्चम मान्यो रे । अनि भन्यो विचरा यो देशका सोझा अनि निमुखा जनता । कति दु:ख कष्ट सहेर पनि नेताका खोक्रो स्वाभिमानका पछि दौडिरहेका छन, आफ्नो सास्तीहरुको पर्वाह नगरि । तर यो यर्थात जनताले बुझे भने भोलिका दिनमा अर्को विद्रोह हुन सक्छ । अन्नत उसले टिप्पणी गर्‍र्यो, यो देशका जनता साहै्र सोझा, अनि नेताले बिगारेको देश ।
हुन पनि हो यो देशमा मिडिया देखि कर्मचारी तन्त्रसम्म सबैमा राजनीति चल्छ, जनता नेताका पछि लाग्छन, अनि नेता सबै भष्ट्राचारी र पतित भएका, स्वच्छ छवि भएको को नै बाँकी छ र ? त्यसैले आज यो देशको दसा यस्तो दसा, दुर्गति भइरहेको छ ।
हामी यसबाट अनुमान लगाउन सक्छौ कि बास्तवमा नेपालको नाम विश्व जगतमा कसरी धुमिल हुदै गइरहेको छ । बास्तवमा नेपालमा आएको हालसालैको प्राकृतिक विपत, भुकम्पबाट, नाकाबन्दीबाट र दैनिक आधारभुत कुराहरबाट आम गरिब निमुखा, असहाय जनताहरु कसरी प्रताडित भएका छन । अर्कोतिर बाघको छालामा स्यालको रजाइ भने जस्तै गोहिका खोल ओढेका नेताहरु यस्तो जनताको कारुणिक स्थितिमा पनि कालोबजारी, भष्ट्राचार र अनियिमितता गर्न पछि परेका छैनन् । जनताका सहयोगका नाममा आएका सहयोगहरु, खाद्यान्नहरु, लत्ताकपडाहरु आफ्नै नाममा र आफन्तजनहरुको नाममा कुम्ल्याउन पल्केका छन । सरकारी तबरबाट पनि बास्तविक पिडित सम्म राहत पुर्‍याउन जति पहल हुनुपर्‍र्यो, भएको छैन । यिनै दलाल र बिचौलियाहरुको वरीपरी सरकार घुमेको छ । उनीहरुकै सिफारिस अनि सल्लाह मानेको छ । सरकारका मन्त्रीहरबाटै भुकम्प पिडीतका नाममा आफन्तहरुलाई राहत जुटाउने, वैदेशिक भ्रमणमा लैजाने काम भएको छ । देशमा नाकाबन्दी र अभाव संकट परेको बेला सरकारका उच्च ओहदामा बसेकाहरुबाटै भष्ट्राचार र अनियमितता भएको छ ।
नभए आज हेरौ, विकास निमार्णका कामहरु ठप्प भएका छन, प्राथमिकतामा रहेको जलविद्युतका परियोजनाहरु  पछि धकेलिएका छन, संचालनमा रहेका उद्योग धन्दा, कलकारखाना बन्द हुने अवस्थामा पुगेका छन, हजारौ जनता बेरोजगारी भएका छन । किसानहरु मर्कामा परेका छन ।  यसको समाधान खोज्ने काम सरकार र राजनीतिक दलहरुको होइन र ? खै त राजनीतिक पार्टी तथा राजनितिक दलहरुको चासो यसमा, जनताको सरोकारको विषयमा किन मौन छन यिनीहरु, खै त राजनितिक प्रतिवद्धता ? बास्तवमा संविधानका नाममा कलहको बिउ रोपेका छन यिनीहरुले । प्रधानमन्त्रीदेखि मन्त्री सम्म अझ यस्तो स्थितीमा पनि बकम्फुस र हावादारी गफ गर्न पछि परेका छैनन् ।
धेरै पर जानु पर्दैन खेल जगतमा नै हेरौ, आज राजनीति, भष्ट्रचार र अनियमितता अनि नाताबाद, कृपाबादको कारणले नेपाल दक्षिण एसियाली समुहमा पिफाको वरियता क्रममा सबभन्दा पुछारमा पुगेको छ ।  बर्षौसम्म राष्ट्रिय स्तारमा हुनुपर्ने प्रतियोगिताहरु हुन सकिरहेका छैनन् । क्रिकेटमा पनि राम्रो सुधार, सैभावना रहेपनि अपेक्षित रुपमा लगानी र प्रगति गर्न सकिरहेको छैन । अझ अरु विधाको त कुरै छौडौ ।
यस्तै स्थिती रहने हो भने अबको दुइचार बर्षमा नेपाल गरिब राष्ट्रको पङ्गतिमा पुछारबाट पहिलो स्थानमा आउन असम्भव छैन । देश हितका लागि अहिले असल नेतृत्व, दृढ राजनीतिक इच्छा शक्ति, पारदर्शिता, सुशासनको आवश्यकता छ । यी कुराहरुबाट विमुख भए देश झनझन जर्जर र दयनीय स्थितीमा पुग्ने छ । हाम्रा पुर्खाले आर्जेका गौरव र स्वाभिमान नामेट हुदै नेपाल विपरीत धु्रवतिर धकेलिने छ ।

प्रकाशित मिति : १६ बैशाख २०७३, बिहिबार  १ : २६ बजे