१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नागरिकता सम्बन्धि प्रावधानबारे सबैभन्दा बढी जिज्ञासा


१६ बैशाख २०७३, बिहिबार  

0
Shares

खजुरगाछी १६, चैत / संविधानको विशेषताको बारेमा जानकारी दिने र सुझाव संकलन गर्ने उद्येश्यले नागरिक संवाद केन्द्र इलामले झापाको खजुरगाछीमा आज विहिवार एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
नागरिक संवाद केन्द्र इलामका प्रमुख वीरबहादुर खड्काको संयोजनमा भएको कार्यक्रममा नेपालको संविधान, २०७२ ले नागरिकता सम्बन्धि गरेको व्यवस्था, मौलिक हक र कर्तव्य, गाउँ सभा र नगरसभा तथा निर्वाचनबारे जानकारी गराइएको थियो । त्यसैगरी कार्यक्रममा प्रदेशसभा निर्वाचन, सङ्घीय संसद्का सदस्यहरुलेको निर्वाचन, राष्ट्रियपति र उपराष्ट्रियपतिको निर्वाचन, निर्वाचन व्यवस्था, मतदाता नामावली र निरन्तर दर्ता, नागरिकताको महत्व,  स्थानीयस्तरमा नागरिक सहभागिताको महत्वबारे जानकारी गराइएको थियो । सहभागिहरुमध्ये  अधिकांसले  विशेष गरी संविधानमा व्यवस्था भएको नागरिकता सम्बन्धि प्रावधानबारे जिज्ञासा राखेका थिए । उनीहरुले अंगीकृत नागरिकता, जन्मसिद्व नगरिकता, पितृत्व मातृत्व ठेगान नभएको नाबालकले पाउने नागरिकता, नेपालको नागरिक आमाबाट नेपालमा नै जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको अवस्थामा कस्तो नागरिकता पाउनेलगायतका जिज्ञासा राखेका थिए ।  नेपालको संविधान २०७२ मा व्यवस्था गरेको नागरिकताको प्रावधानबारे मधेशी दलहरुले असन्तुष्टि जनाउदै आएका छन् । उनीहरुको मागमध्ये नागरिकता पनि एक हो । नेपाल कानून समाजले देशभरिकै १४ वटै अञ्चलमा नागरिक संवाद केन्द्र स्थापना गरी संविधानमा व्यवस्था भएका प्रावधानबारे  नागरिकलाई  सूचना प्रवाह गर्दै आएको छ ।  खजुरगाछी गाविसका सचिव नारायण प्रसाद चँदराको अध्यक्षतामा भएको अन्तरक्र्रिया कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, शिक्षक, पत्रकार तथा बुद्विजिविहरुको सहभागिता रहेको थियो ।
samaj 1

प्रकाशित मिति : १६ बैशाख २०७३, बिहिबार  १० : ५३ बजे