१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ठूला धनराशिका योजना झापामा अलपत्र, सबैभन्दा पुरानो गौरीगञ्ज–खजुरगाछीको गेउरिया पुल


१० बैशाख २०७३, शुक्रबार  

0
Shares

गौरीगञ्ज ११ ,  वैशाख  /  सडक विभागमार्फत सञ्चालित आठवटा पुलको योजना सम्झौता मिति सकिएको लामो समय भए पनि ती योजना पूरा हुन सकेका छैनन् ।

पटकपटक म्याद थप गरिएर पनि योजना पूरा नभएपछि सडक विभागले रुग्ण योजनाका रुपमा सूचीकृत गरेको छ ।

रुग्णका रुपमा रहेको आठ योजनाको कुल लागत रु २७ करोड ७९ लाख ३१ हजार ५७२ छन् ।

ती योजना पूरा नभए पनि कार्यसम्पादनका लागि भने नियमित रुपमा रकम निकासा भइरहेको छ ।

सडक विभाग डिभिजन कार्यालय दमकका अनुसार सबै रुग्ण योजनामा रु १५ करोड ९७ लाख ८० हजार रकम निकासा भएर पनि पूरा हुने लक्षण नदेखिंदा स्थानीयवासी चिन्तित छन् ।

पटकपटक म्याद थप गर्दासमेत पूरा हुन नसकेका योजनामा हडिया खोला पुल धाइजन–२, हडिया खोलाकै पुल धाइजन–३ र ४, सिस्ने खोला पुल, गौरादह–बैगुन्धरा तथा देउनीय खोला पुल, घाघ्रा खोला पुल, रामचन्दे पुल तथा गौरीगञ्ज–खजुरगाछीमा पर्ने हुलाकी मार्गमा निर्माणाधीन गेउरिया खोलाको पुल छन् ।

कार्यालयका इन्जिनियर शम्भुप्रसाद आचार्यअनुसार ती योजनामा सबैभन्दा पुरानो गौरीगञ्ज–खजुरगाछीको गेउरिया पुल नै हो बताउनुभयो । दुई वर्षमा पूरा गर्नुपर्ने गरी २०६६ वैशाख ३ गते सम्झौता भएको पुल पूरा नभएपछि चारपटक म्याद थप भइसकेको इन्जिनियर आचार्यले जानकारी दिनुभयो ।

रु एक करोड ६८ लाख २८ हजार लागतमा निर्माण सम्झौता भएको योजना हालसम्ममा ७५ प्रतिशतमात्र पूरा भएको छ । छ वर्षमा पनि पुल पूरा नभएका कारण धेरै ठाउँमा जनताको विकासप्रति विश्वास घट्न थालेका पाइएको छ ।

रुग्ण योजनामध्ये सबैभन्दा ठूला योजना भने हडिया खोला पुल धाइजन वडा नं ३ र ४ मा रहेको छ । यसको कुल लागत रु पाँच करोड ८७ लाख ५३ हजारका छन् भने अर्को योजना हडिया पुल धाइजन–२ मा रहेको रु पाँच करोड ६४ लाख ३३ हजारका छन् ।

यसैगरी, खुदुनाबारीस्थित टाङ्टिङ खोलो पुल अलपत्र र अधुरा अवस्थामा छन् । यी पुल तथा योजना कहिले पूरा हुने हो सम्बन्धित क्षेत्रका जनता अन्योलमा देखिएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७३, शुक्रबार  ७ : २९ बजे