३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

नक्कली फेसवुक आइडी प्रयोगकर्ता युवती पक्राउ


६ बैशाख २०७३, सोमबार  

0
Shares

पर्वत ६,   वैशाख /  सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी खोलेर अस्लिल अभिव्यक्ति तथा तस्बिर पोस्ट गरेको अभियोगमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।

पर्वत जिल्लाको खौलालाकुरी गाविस–१ की १९ वर्षीया सारदा कुवँरले अरुको फोटो राखी नक्कली आइडी बनाएर अश्लील कुरा पोस्ट गर्दै आइरहेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालयले उनलाई घरबाट पक्राउ गरेको हो ।

जिल्लाको पाङराङ–७ बस्ने एक २० वर्षीया युवतीको नाममा उनकै तस्बिर राखेर नक्कली आइडी बनाएर सो कार्य गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

उनले सानी काली सशीला नामको नक्कली आइडी बनाएर पीडित युवतीको फोटोसँग अरुको फोटो जोडेर फेसबुकमा राख्ने गरेको पीडितले गत चैत २८ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि प्रहरीले वैशाख ३ गते कुवँरलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकी कुवँरले र थापाठाना बस्ने सुवर्ण पौडेललाई विगत एक वर्षबाट मन पराइरहेको र पौडेल र पीडित युवती नजिकको साथी भएकाले दुई जनाको सम्बन्ध बिर्गान तथा बदला लिने भावनाले यस्तो गरेको अनुसन्धानमा देखिएको प्रहरी नायब उपरीक्षक गङ्गा पन्तले बताए ।

नक्कली फेसबुक आइडी प्रयोगकर्ता कुवँरलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ । उनलाई विद्युतीय कारोबार ऐनअन्तर्गत सार्वजनिक अपराधसम्बन्धी अनुसन्धान भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७३, सोमबार  ६ : २२ बजे