१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दिल्ली भ्रमणको खबरले राजनीतिक हलचल


६ बैशाख २०७३, सोमबार  

0
Shares

काठमाडौं  ६, वैशाख/  नेपालका राजनीतिक दलका नेताले गर्ने हरेक जसो नयाँ दिल्ली भ्रमणलाई प्राय: अर्थपूर्ण रुपमा हेर्ने र नियाल्ने गरिएको छ । नयाँ दिल्ली भ्रमणपछि देशको राजनीतिमा त्यसको ‘साइड इफेक्ट’ टड्कारो रुपमा परिहाल्ने नजिर स्थापित हुँदै आएकाले पनि दलका त्यस्ता नयाँ दिल्ली भ्रमणहरूले विशेष अर्थ बोक्ने गरेका छन् र आम रुपमा यसलाई चासोपूर्वक नियाल्ने गरिएको छ । तर, योपटक कांग्रेस सभापति शेरबहादुर देउवाले भारतको भ्रमण गर्ने खबर प्रकाशमा आएपछि यसलाई फरक आँखाले हेरिएको छ र यो खबरले नेपाली राजनीति बेस्सरी गर्माएको छ । कतिसम्म भने देउवाको नयाँ दिल्ली भ्रमण हुने भएपछि यसलाई प्रधानमन्त्री निवास बालुवाटारले खतराको घण्टीका रुपमा विश्लेषण गरिसकेको छ भने सानेपा र बूढानिलकण्ठ दरबारमा खुसीयाली छाएको छ ।

कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएलगत्तै देउवा २०७३ वैशाख ६ गते निजी काममा नयाँ दिल्ली जाने भएपछि नेपालको राजनीतिमा स्वभाविक खुल्दुलीहरू पैदा भएका छन्– नयाँ दिल्लीले देउवालाई कस्तो सन्देश दिएर पठाउला ? वर्तमान सरकारप्रति निरन्तर असन्तोष व्यक्त गरिरहेको नयाँ दिल्लीले दिल्लीकै सहानुभूति र आशीर्वादमा कांग्रेस सभापतिका रुपमा उदायका देउवालाई कस्तो वचन दिएर पठाउँला ? यस्ता जायज खुल्दुलीहरू आमरुपमा उब्जिरहेका बेला दिल्लीले देउवालाई उत्साहित बनाएर पठाउने र यसले मुलुकको राजनीतिमा थप स्थिरता र अन्योलता पैदा गराउने विश्लेषण गर्न थालिएको छ ।

स्रोतका अनुसार, देउवाको यो भ्रमणलाई नितान्त व्यक्तिगत भएको बताइए पनि उनले नयाँ दिल्लीमा रहँदा महत्वपूर्ण राजनीतिक भेटघाटहरूमा ज्यादा जोड दिनेछन् । विश्वस्त सूत्रको दावीलाई पत्याउने हो भने सत्ताका लागि जे गर्न पनि तयार हुने देउवाले नव वर्ष २०७३ लाग्नसाथै वैशाख ६ मा हुन लागेको दिल्ली भ्रमणका क्रममा सत्ता परिवर्तनका लागि सम्भावित सबै अस्त्रहरू प्रयोग गर्नेछन् र दिल्लीको दिलखुस पारेर फर्किने छन् ।

‘कांग्रेस सभापति देउवाको वैशाख ६ मा हुने भनिएको भ्रमण सांसद आरजु देउवाको उपचारका लागि निजी भनिए पनि यो भ्रमणका बेला देउवाले महत्वपूर्ण राजनीतिक भेटघाट गर्नेछन्,’ स्रोतको दाबी छ, ‘देउवाले दिल्लीमा गर्ने महत्वपूर्ण राजनीतिक भेटघाटले देशको सत्ता समीकरणलाई धेरै हदसम्म प्रभावित पार्नसक्ने सम्भावना छ ।’ भारतीय नेताहरूसंग देउवाले महत्वपूर्ण भेटघाट गर्ने र देउवाको अभिष्ट नै सत्तामा जानु भएकाले पनि देउवाको यो भ्रमणले स्रोतले दाबी गरेजस्तै सत्तासमीकरणमा बदलाव ल्याउने कुरामा विश्वास गर्ने प्रसस्तै आधारहरू तयार हुँदै गएको राजनीतिक विश्लेषकहरूको दाबी छ ।

माहोल बनाउँदै देउवा
देउवाले कांग्रेस सभापतिमा जितेलगत्तैदेखि सत्ताप्राप्ति आफ्नो उद्देश्य नभएको र जिम्मेवार प्रतिपक्षमा बस्न तयार भएको अभिव्यक्ति दिएतापनि उनको भनाइ र गराइमा तीव्र फरकपन देख्न थालिएको छ । भनाइ र गराइबीचको तादाम्यता नमिलेकाले पनि उनको अभिष्ट थप प्रखर भएर आएको स्रोतको दाबी छ ।

सत्ता नै प्रमुख लक्ष्य बनाउने र यसका लागि जस्तासुकै हर्कत गर्न पनि तयार हुने आरोप विगतदेखि खेप्दै आइरहेका देउवाले भारत भ्रमण गर्नुपूर्व देशभित्रै पनि सत्तारोहणका लागि अनुकूल वातावरण सिर्जना गर्न भित्रभित्रै चलखेल गरिरहेको बुझिएको छ । स्रोतका अनुसार, देउवाले आफ्नो पक्षमा वातावरण बनाएर नयाँ दिल्ली भ्रमणबाटै ग्रिन सिग्नल लिन पछिल्ला केही दिनदेखि गुप्त भेटघाटहरूमा आफूलाई व्यस्त बनाउँदै लगेका छन् । कतिसम्म भने संसदीय दलको नेताको निर्वाचन हुनु अघि नै देउवाले अहिलेका सरकारका सूत्राधार भनेर चिनिएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत सरकार परिवर्तनको एजेन्डामै रहेर आफ्नै निवासमा छलफल र भेटघाट गरेका छन् । देउवा र प्रचण्डबीचको भेटघाटमा के कुरा भए र प्रचण्डले देउवालाई कस्तो सन्देश पठाए भन्ने कुरा गर्भमै रहेपनि प्रचण्ड शेरबहादुर देउवा निवासमै पुगेर गरिएको यो भेटघाटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । यसरी अहिलेका सरकारका सूत्राधार र निर्यायक व्यक्ति एमाओवादी अध्यक्ष प्रचण्ड देउवा निवासमै पुगेर खासखुस गरेको खबर प्रधानमन्त्री निवास बालुवाटारमा पुगेपछि एमाओवादी सहितको संयुक्त सरकारका प्रधानमन्त्री केपी ओलीको मनमा चिसो पसेको बालुवाटार स्रोतले बताएको छ ।

बैकल्पिक प्रधानमन्त्री देउवाको यो भारत भ्रमणमा भारतीय सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टीको संस्थापन पक्षले केही महत्वपूर्ण विषयहरूमा देउवालाई सहमत गराएर पठाउने अनुमान पनि गरिएको छ । स्रोतका अनुसार, देउवाको यसअघिको भारत भ्रमणमा भारतीय जनता पार्टीको संस्थापन पक्षले हिन्दू राष्ट्र फर्काउन र तराईका विवादित जिल्लाहरू कैलाली, कञ्चनपुर मोरङ, सुनसरी र झापा जिल्लाको विवाद सुल्झाएर सहयोग गर्न भनेको थियो । देउवाले भारतीय संस्थापन पक्षको चासो अनुसार काम गर्ने वचन पनि दिएका थिए । तर, उनले वचन अनुसार काम नगरेपछि भारतीय जनता पार्टीको संस्थापन पक्षले यो पटक यसबारेमा गम्भीरतापूर्वक देउवासँग कुरा उठाउने बुझिएको छ । ‘देउवाले विगतमा गरेका सहमति पालना नगरेपछि देउवाबारे केही आशंकाहरू छन्,’ स्रोतले भन्यो, ‘देउवाले यी कुरामा आश्वस्त पार्न सके भने उनले भारतको आशीर्वाद लिएर हँसमुख मुद्रामा नेपाल फर्किने अवसर जुटाउनेछन् ।’

भारत भ्रमणपछि शेरबहादुर देउवाले के–कस्तो राजनीतिक लाइन बोकेर आउने हुन् र एमालेको नेतृत्वको सरकारको भविष्य के हुने हो ? भन्ने निश्चित हुने भएपनि ओली यसबाट निकै सशंकित र त्रसित हुन पुगेको बताइन्छ ।
उता, ओली सरकारका लागि विजय गच्छदार प्रवृत्ति पनि उत्तिकै खतराको रुपमा टकराएको छ । केपी ओलीको नेतृत्वलाई स्वीकारेर सत्तामा गएको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का विजय गच्छेदार इसारा पाउन साथ कुनै बेला ओली सरकार छाडेर बाहिरिन तयार भएपछि बालुवाटार थप त्रस्त भएको बुझिएको छ । राप्रपा नेपाल र राप्रपा दुबै दल निकट भविष्यमै चार टुक्रा हुने अवस्थामा देखिनुलाई पनि ओली सरकारको सम्भावित खतराको रुपमा विश्लेषण गर्न थालिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७३, सोमबार  ५ : २२ बजे