३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

नेपाल कम्युनिष्ट पार्टी (एमाले), एकीकृत नेकपा (माओवादी) र फोरम लोकतान्त्रिक बीच भएको सहमति


२९ चैत्र २०७२, सोमबार  

0
Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले), एकीकृत नेकपा (माओवादी) र फोरम लोकतान्त्रिक बीच भएको सहमति
संविधानसभाबाट संविधान जारी गरेर संघीयता, समानुपातिक समावेशिता, दिगो शान्ति र आर्थिक समृद्धिको बाटोमा अघि बढ्न हामी सबैले संकल्प गरेका छौं । यसका लागि प्रमुख राजनीतिक दलहरूका बीच १६ बुँदे सहमति गर्दै राष्ट्रिय सहमतिका साथ अघि बढ्ने हाम्रो प्रतिबद्धता देशको आवश्यकता अनुरूप रहेकोमा अहिले पनि हामी स्पष्ट छौं । आफ्ना अधिकार संविधानमार्फत् संस्थागत गर्ने तथा देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाभिमान र सामाजिक सद्भाव कायम राख्ने जनआकांक्षाको उच्च कदर गरी हामीले निम्नलिखित सहमति गरेका छौं ।
१. नेपालको अन्तरिम संविधान अन्तर्गत अभ्यास गर्दै आएको समानुपातिक समावेशी सिद्धान्त बमोजिमको राजनीतिक तथा सार्वजनिक सेवामा सबै जनसमुदायको सहभागितामा कुनै अस्पष्टता नरहने गरी नेपालको संविधानमा संशोधन गर्दा आवश्यक व्यवस्थ ागर्ने ।
२. तराई, मधेश, थारू समुदाय, हिमाल, पहाड लगायत देशका विभिन्न भागमा प्रदेशहरूको सीमांकनको सन्दर्भमा देखिएका समस्यालाई रूपमा लिँदै संविधान संशोधन गर्दा सहमतिको आधारमा समाधान गर्ने ।
३. निर्वाचन क्षेत्र निर्धारणको सम्बन्धमा हाल कायम रहेका जिल्लाको भौगोलिक क्षेत्रमा कम्तीमा एक निर्वाचन क्षेत्र रहने गरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र हुने व्यवस्था गर्ने ।
४. हालै तराई मधेश लगायत देशका विभिन्न स्थानमा आन्दोलनको क्रममा घाइते हुनेहरूको उपचारको व्यवस्था गर्नुका साथै राहत उपलब्ध नभएका मृतकका परिवारहरूलाई राहत उपलब्ध गराउने ।
५. आन्दोलनका क्रममा बन्दी बनाइएका व्यक्तिहरूलाई रिहा गर्ने र यस क्रममा लगाइएका झुटा मुद्दाहरू खारेज गर्ने ।
६. आन्दोलनका क्रममा क्षति पुगेका घर र व्यवसायको अध्ययन गरी उचित क्षतिपूर्ति दिने व्यवस्था गर्ने ।
७. नयाँ सरकार गठनसँगै देशमा शान्ति सुरक्षाको व्यवस्था सामान्य तुल्याउँदै जनतालाई सुरक्षाको प्रत्याभूति दिने ।
८. जनताका अधिकारलाई सुदृढ गर्न र राष्ट्रिय हित, एकता र सामाजिक सद्भावको संरक्षण र सम्बद्र्धनका लागि प्राप्त उपलब्धीहरूको रक्षा गर्दै सबै समस्याहरूको पारस्परिक समझदारी र वार्ताको माध्यमबाट समाधान मधेश तराई केन्द्रित राजनीतिक दलहरू तथा थारू र आदिवासी जनजाति समुदायलगायत सम्पूर्ण आन्दोलनरत् पक्षलाई हार्दिक आह्वान गर्दछौं ।
मिति ः २०७२।६।२४

केपी शर्मा ओली (अध्यक्ष, नेकपा एमाले)
पुष्पकमल दाहाल प्रचण्ड (अध्यक्ष, एकीकृत नेकपा माओवादी)
विजयकुमार गच्छदार (अध्यक्ष, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)

प्रकाशित मिति : २९ चैत्र २०७२, सोमबार  १२ : १३ बजे