१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सुनसरीमा भीषण आगलागी


२८ चैत्र २०७२, आइतबार  

0
Shares

इटहरी २७,  चैत /  सुनसरी जिल्लाको तीन छुट्टाछुट्टै स्थानमा शनिवार   दिउँसो भीषण आगलागी हुँदा करोडौँको नोक्सानी भइसकेको प्रहरीले प्रारम्भिक तथ्याङ्क दिएको छ ।

जिल्लाको सदरमुकाम इनरुवासँगै जोडिएको भोक्राहा–२ मा लागेको आगो वडा नं ४ सम्म फैलिइसकेको छ । मुस्लिम समुदायको सघन बसोबास रहेको भोक्राहामा लागेको आगो नियन्त्रण गर्न हम्मेहम्मे परिरहेको बताइएको छ ।

पश्चिमी तातो वायुसँगै सुरु भएको आगोले भोक्राहा–२ देखि वडा नं ४ सम्म फैलिँदा दुईवटा पक्की घरसँगै कम्तीमा ४० घर जलेर नष्ट भइसकेको छ । आगो नियन्त्रणका लागि इटहरी धरान इनरुवालगायतका क्षेत्रका चारवटा दमकलले भरमग्दुर प्रयास गरिरहेको र नेपाली सेना सशस्त्र प्रहरी र जनपथ प्रहरीसँगै स्थानीयवासीले समेत आगो निभाउने प्रयासमा सघाउ पु¥याइरहेका छन् ।

तातो वायु र गर्मीसँगै फैलिएको आगो नियन्त्रण बाहिर रहेको र दमकल तथा सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर आगो निभाउने प्रयास गरिरहेको प्रहरीले बताएको छ । तीन घण्टादेखि फैलिएको आगो नियन्त्रणमा लिनका लागि सबैतिरबाट प्रयास भइरहेको बताइएको छ ।

त्यस्तै घुस्की–४ मा लागेको आगो पनि नियन्त्रण बाहिर रहेको प्रहरीले बताएको छ । धेरैतिर आगो लागेको र दमकल भोक्राहामा केन्द्रित भएकाले घुस्कीमा लागेको ओगो सुरक्षाकर्मी र स्थानीयवासीले निभाउने प्रयास गरिरहेका छन् । हुरी चलिरहेकाले सघन बस्ती रहेको मुस्लिम समुदायको बसोबास रहेका ती बस्तीमा अझै आगो फैलिने कार्य भइरहेको छ ।

उता आजै दिउँसो नरसिंक गाविस–४ मा भएको आगलागीमा परेर दुई घर नष्ट भएको छ । त्यहाँ लागेको आगो भने स्थानीयवासीले नियन्त्रणमा लिन सफल भएको प्रहरीले बताएको छ ।

धेरैतिर एकसाथ आगलागी भएकाले सुरक्षाकर्मी र दमकललाई भ्याइनभ्याई परेकाले भोक्राहा र घुस्कीको आगो नियन्त्रणमा कठिनाइ भइरहेको छ । आगलागीमा कति नोक्सानी भयो भन्ने कुरा अझै यकिन गर्न कठिन रहेको पनि प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७२, आइतबार  १२ : २५ बजे