१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

निर्माण व्यवसायी संघ झापा देशकै उत्कृष्ट


२१ चैत्र २०७२, आइतबार  

0
Shares

बिर्तामोड २१, चैत /  निर्माण व्यवसायी संघ झापा देशकै उत्कृष्ट घोषित भएको छ । नेपाल निर्माण व्यवसायी महासंघले संघको झापा शाखालाई उत्कृष्ट घोषित गर्दै सम्मान पत्रसहित अवार्ड (एफ क्यान अवार्ड) प्रदान गरेको छ ।
महासंघले आफ्नो रजत जयन्ती तथा १८ औं साधारण सभाको अवसर पारी चितवनमा निर्माण व्यवसायी संघ झापाका अध्यक्ष दीपेन्द्र पोखरेललाई  सम्मान पत्रसहित अवार्ड प्रदान गरेको हो । महासंघका अध्यक्ष शरद गौचनले झापा अध्यक्ष पोखरेललाई सो सम्मान प्रदान गरेका थिए । महासंघले ७५ वटै जिल्ला शाखाको आन्तरिक मूल्यांकनको आधारमा झापालाई उत्कृष्ट घोषित गरेको बताइएको छ ।
संघका पूर्व अध्यक्ष, सल्लाहकार, शुभचिन्तक र सबै निर्माण व्यवसायीको सद्भाव र प्रयासबाट झापा शाखालाई उत्कृष्ट बनाउन सफल भएकोमा अध्यक्ष पोखरेलले धन्यवाद ज्ञापन समेत गरेका छन् ।
झापाका विभिन्न विकास निर्माण कार्यमा अरु जिल्लाका निर्माण व्यवसायीले तोकिएको समयमा काम पूरा नगरेको र अलपत्र पारेको समाचार आइरहेको बेला निर्माण व्यवसायी संघ झापा देशकै उत्कृष्ट घोषित हुनुले आफूहरुलाई समयमै गुणस्तरीय काम गर्न थप हौसला प्राप्त भएको झापाली निर्माण व्यवसायीको प्रतिक्रिया छ ।
महासंघको साधारणसभामा झापाका निर्माण व्यवसायीको लगनशीलता, असल कार्यशैली र गुणस्तरीय कामको देशभरका निर्माण व्यवसायीले प्रशंसा समेत गरेका थिए ।
चैत १८ गते सम्पन्न रजत जयन्ती तथा साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । झापामा तीन सयको हाराहारीमा निर्माण व्यवसायी रहेका छन् भने देशभरमा साढे १२ हजार निर्माण व्यवसायी रहेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७२, आइतबार  ६ : ०४ बजे