९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मेचीनगरमा नेकपाका युवा नेताबाट पिडितलाई राहत


२२ चैत्र २०७६, शनिबार  

0
Shares

20200404_174524

मेचीनगर २२, चैत / नेकपाका युवा नेता बालकृष्ण थापा नेतृत्वको एक टोलीले दैनिकी चलाउन धौ–धौ परेका निम्न वर्गीय परिवारलाई राहत सामग्री वितरण गरेको छ ।
कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै सरकारले आह्वान गरेको लकडाउनबाट जीवनयापनमा संकट झेलिरहेका ती परिवारलाई सो टोलीले राहत प्रदान गरेको हो ।
एक साताअघिदेखि राहत वितरणलाई अभियानका रुपमा अघि बढाएको युवा समाजसेवी थापा, राप्रपाका युवा नेता नेत्र कार्कीलगायतको टोलीले अति विपन्न परिवारलाई राहत हस्तान्तरण गर्दै आएको छ ।
राहत सामग्रीको व्यवस्थापन गरेका थापाका अनुसार उक्त टोलीले अभियानको पहिलो चरणमा मेचीनगर–६ स्थित मेची डाँडाका निम्न वर्गीय ४० घरधुरीलाई राहत दिएको छ ।
त्यस्तै, टोलीले मेचीनगर–६ स्थित शान्ति रमाइलो गाउँका १२, वडा नम्बर ७ का २५ र वडा नम्बर ८ स्थित सुकुम्बासी टोलका २२ घरपरिवारलाई घरघरै पुगेर दैनिक उपभोग्य खाद्य पदार्थ प्रदान गरेको बताइएको छ ।
सो अभियानमा सहभागी युवा कार्कीका अनुसार टोलीले मेचीनगर ६ स्थित भानु टोलमा बसोबास गर्ने शारीरिक रुपमा अशक्त र अस्वस्थ २ जनालाई घरमै पुगेर जनही १५ सय रुपैयाँ नगद सहयोग गरिएको छ ।
‘मेचीनगर नगरपालिकाले एकद्धार प्रणालीबाट राहत वितरण गर्ने कुरा सुनेका छौं’ राहत सामग्रीको व्यवस्थापन र वितरणमा सक्रिय थापा भन्छन्–‘राहत दिन इच्छुकले नगरको राहत कोषमा जम्मा गर्नुपर्ने भनिएको छ ।’
‘तर, हामीले राहत बाँड्ने क्रम भने जारी राखेका छौं’ थापाले थपे–‘नगरले राहत वितरणमा विलम्ब गर्दा विपन्न वर्ग पीडामा परेका गुनासा सुनिरहेका छौं, लगनपछिको पोतेको औचित्य छैन, त्यसैले, विपन्नले सम्पर्क गरे बाँड्न चाहिँ छोड्दैनौ ।’
अभियानलाई नियमित रुपमा सञ्चालन गर्दै आएको टोलीले अति विपन्न परिवारको पहिचान गरी शनिबारसम्ममा करिब २ लाख रुपैयाँ बराबरको प्रतिपरिवार १० केजी चामल र ८ केजी आलु वितरण गरेको जनाएको छ ।
त्यस्तै, काँकरभिट्टास्थित देवकोटा पार्क व्यवस्थापन समितिले पनि मेचीनगर ६, ७, ८ र ९ नम्बर वडामा बसोबास गर्ने अति विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न सामग्री प्रदान गरेको छ ।
समितिका सचिव शेखरकाजी थापाका अनुसार समितिका उपाध्यक्ष दिपेश दाहालले खरिद गरेका ५० हजार रुपैयाँ मूल्यका खाद्यान्न ८६ घरपरिवारलाई हस्तान्तरण गरेको हो ।
समितिका अध्यक्ष गणेश खरेल, सल्लाहकार संयोजक बालकृष्ण थापा, फणिन्द्र घिमिरे, जीतबहादुर बस्नेत, मानबहादुर तामाङ, विजय पनेरु, काशीनाथ पौडेललगायतले ती परिवारलाई चामल, दाल, नुन र खानेतेल वितरण गरेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  १२ : ०४ बजे