५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गौरीगंजमा जितिया पर्व धुमधामसंग मनाउँदै


४ आश्विन २०७६, शनिबार  

0
Shares

20190921_171048

गौरीगंज ४, असोज / गौरीगंजमा तराईमुलका महिलाहरुले एक कार्यक्रमको आयोजना गरी शनिवार जितिया पर्व मनाएका छन् ।
जितिया पर्व विशेष समिति गौरीगंजको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानिय तथा राष्ट्रिय गायक तथा कलाकारहरुले मैथली, नेपाली र हिन्दी नृत्य तथा गीतमा प्रस्तुति दिएका थिए । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यतामा गौरीगंज गाउँपालिकाको वार्ड नं. ३ स्थित अतिथि सदनको प्रागंणमा भएको कार्यक्रममा राष्ट्रिय गायक रामा मण्डल, गायक विरेन्द्र झा, कलाकार संगिता यादव, संचारकर्मी राधा मण्डलले गीत , नाटकलगायत सांगितिक प्रस्तुति दिएका थिए ।
दाजुभाइले दिदीबहिनीलाई ससुरालीबाट माइती ल्याउँछन् । दाजुभाइ नभए माइतीतिरका नातेदारले चेलिबेटीलाई लिएर आउने गरेको गौरीगंजकी गिता शर्माले बताइन् । यो पर्वमा सफलताको प्रतीकका रूपमा सूर्यको छोरा जितमहान देउताको पूजा हुन्छ । समितिका सचिवसमेत रहेकी शमाले ‘जित भनेको जित्नु वा विजय प्राप्त गर्नु र महानको अर्थ विशाल वा ख्याति हो । जित र महान शब्दको मेलबाट जितमहान कहलिएको हो,’ भनिन् ।
जितिया पर्वमा आश्विन कृणपक्ष सप्तमीमा नुहाएर तयारी सुरु हुन्छ । पहिलो दिन ब्रतालुले नदी, खोला, पोखरी र इनारमा नुहाइ रातो माटो र खैररखल्लीले कपाल पखाल्छन्  । घिरौंलाको पातमा घिरौंलाको फूल, रातो माटो, पिना, तेल, सिन्दुर राखेर पूर्व्तिर फर्कि पितृलाई चढाउँछन् । यसपछि फलफूल, दही, पानसुपाडी, च्यूरा र मिठाइ किनेर ल्याउँछन् ।
कार्यक्रममा समितिका अध्यक्ष राजकुमारी यादवको अध्यक्षतामा भएको कार्यक्रममा फुलवती राजवंशी, उदयलाल यादव, सत्यदेव यादवलगायतले शुभकामना मन्तव्य राखेका थिए भने असोक यादवले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ११ : २६ बजे